अन्ततः देउवाको साथ

अन्ततः देउवाको साथ

प्रधानमन्त्री केपी ओलीले जे गर्दा पनि बरु कांग्रेसले साथ दिन्छ तर पार्टीभित्रैबाट भने साथ पाइँदैन भन्ने उक्ति पुनः एकपटक पुष्टि भएको छ । पार्टीभित्रबाट साथ नपाउँदा नपाउँदा कायल भएर प्रधानमन्त्रीले संसदै भंग गर्नुभयो, यसमा पनि आफ्नै साथीहरूले साथ दिएनन्, बरु पार्टी बाहिरका कांग्रेस सभापति शेरबहादुर देउवाले साथ दिनुभएको छ । साथ नदिने साथीहरू यही निहुँमा बाहिर गएर अर्को पार्टी खोल्नेसम्मको खेलमा लागिसके तर शेरबहादुर देउवा भने अझै पनि संसद् भंगको समर्थन गर्दै प्रधानमन्त्रीलाई नै सघाउँदै हुनुहुन्छ । सभापति शेरबहादुर देउवाको पूरै कार्यकाल खड्ग ओलीको सहायक भएर नै बित्ने भयो कि कसो ?

सबैलाई थाहा छ, पहिले शेरबहादुर देउवाले एकपटक संसद् विघटन गर्नुभएको थियो । त्यसैले अहिले पनि संसद् विघटनमा उहाँको पूरा समर्थन छ । यदि वैशाखमा चुनाव भयो भने देउवाले ओलीसँगै कार्यगत एकता गरी चुनाव लड्ने पो हो कि ?

आखिर सत्तापक्षलाई यति दह्रो साथ दिने प्रतिपक्षी दुनियाँमा नेपाली कांग्रेस एउटै मात्र छ होला । वास्तवमा सत्तापक्ष र प्रतिपक्ष मिले मात्रै न हो देशको विकास हुने ! मिलेन भने विकास कसरी हुन्छ ?

टिप्पणीहरू