माओकी पत्नीलाई यसरी दिइयो मृत्युदण्ड

माओकी पत्नीलाई यसरी दिइयो मृत्युदण्ड

उदास दिन, उत्तरबाट हावा बग्न थाल्यो
बाक्लो शीत रसाउन थाल्यो, मासु र हड्डी हुँदै
सम्झिरा’छु टाढा पुगेको त्यो मान्छेलाई
अनायास साम्य मनमा लहर उठ्न थाल्यो ।
खुट्टाको कष्ट निको भयो ?
चिसोमा लगाउने लुगा तयार भयो ?
कसले हेरविचार गरिरा’छ, जब तिमी एक्लै सुत्छौ ?
के तिमी पनि एक्लो र दुःखी छौं, जस्तो म छु ?

धेरै भो कुनै पत्र कसैमार्फत नआएको
म सोध्छु तर कोही जवाफ दिँदैनन्
म चाहन्छु यदि मेरोमा पखेटा भएको भए
उडेर हेर्न पुग्थें टाढा पुगेको त्यो मान्छेलाई ।
अफसोस, उसलाई देख्न असमर्थ छु,
दुःख, यो कहिल्यै अन्त्य नहुने…।

चिनियाँ नेता माओ त्सेतुङकी पत्नी याङ काइहुइले पार्टी र क्रान्तिको सिलसिलामा टाढा पुगेका र लामो समयसम्म भेट्न नपाएका आफ्ना पतिलाई लेखेको पत्र हो यो । माओको हातमा नपरेको यो पत्र याङले सन् १९२८ को अक्टोबरमा लेखेकी थिइन् । आफूले एकपछि अर्को पत्र पठाएको तर उताबाट जवाफ आउन छाडेपछि उनी एकदम विरक्त बनेकी थिइन् । लोग्नेले आफूबाट खुशी नभएको, आफूहरुको जीवनमा तिक्तता भएको र कतै परित्यागै गर्न खोजेको त हैन ? भन्ने आशंका गर्न थालेकी थिइन् । यो पत्र लेख्नु चार महिनाअगाडि जुनमा उनले भाइलाई माओ कार्यरत क्षेत्रमा पठाइन् । माओलाई खुट्टाले कष्ट दिइरहेकोमा उनी साह्रै चिन्तित थिइन् । टाढाको भाइमार्फत उनले टुसा उमारेको गेडागुडी राखेर पकाएको खुर्सानीको झोलको एक जग पनि पठाएकी थिइन् । यो खानाको परिकार माओलाई खुब मन पथ्र्यो । जब अक्टोबर लाग्यो र चिसो बढ्यो, पत्र नलेखी बसिरहन सकिनन् याङ ।

लोग्नेसँगको लामो बिछोडका कारण अत्यन्त दुःखी बन्दै गएकी र सकीनसकी तीन छोरालाई हुर्काउँदै क्रान्तिमा सक्रिय उनले केही समयपछि फेरि अर्को पत्र लेखिन् । माओ क्रान्तिमा होमिएकाले पत्नी र छोराहरुको निम्ति समय निकाल्न नसकेको याङलाई राम्रोसँग थाहा थियो । यसको बाबजुद माओ रंगीन स्वभावको भएको र विधवा शिक्षिका सी युङलगायत अन्य दुई–तीन जना युवतीहरुसित पनि नजिकको सम्बन्ध राख्ने गरेको खबर पनि पाइसकेकी थिइन् । त्योभन्दा पनि महत्वपूर्ण कुरो सन् १९२८ मा माओले आफूसँगै क्रान्तिमा होमिएकी युवती हे छिछेनसँग बिहे गरिसकेका थिए र सन् १९२९ मा हेले छोरी (माओ जिह्वा) समेत पाइसकेकी थिइन् । यो सबै खबर याङले पाइसकेकी थिइन् । यसको बाबजुद पनि माओलाई गहिरो प्रेम गर्थिन् । केही दिनकै लागि मात्र भए पनि माओ आफूहरु बस्दै आएको बानमाङ फर्कुन् भन्ने आशा गर्थिन् । त्यसैले उनले सन् १९२९ को मे १६ मा अर्को पत्र लेखिन् । भाइमार्फत पठाइन्–

तिमी अझै मेरो अति प्रिय मायालु हौ
कृपया फर्क, फर्क ।
म देख्न सक्छु, बृद्ध मुटु आगोले जलिरहेको छ,
दुःखद् बिछोड, एक क्रिस्टलीकरण, ठण्डा व्यथा, एकांगीपन
पहिलाको भन्दा धेरै धुमिल हुँदै गइरहेको छ,
म कसरी आशा गर्न सक्छु कि तिमी सन्देश लिएर आउनेछौ भनेर
यो मुटुको कसरी तुलना गर्नु, जल्दै गरेको आगोसित ?
कृपया, फर्क, फर्क !

पत्र बुझाएर फर्केका भाइले उनलाई भने कि माओ पार्टी कामको सिलसिलामा सांघाई जाँदैछन् । यो खबर सुनेर याङ प्रसन्न भइन् । माओसँग भेट्न पाइने भयो भनेर दंग परिन् । लगत्तै भाइलाई पत्र लेखेर ‘यो खबरबाट आफू धेरै खुशी भएको’ सन्देशसमेत पठाइन् । तर, अन्तिमसम्म पनि परिवारको पुनर्मिलन हुन सकेन । त्यसो त माओ पनि याङलाई औधी माया गर्थे । याङलाई सम्झेर सन् १९५८ मा कवितासमेत लेखेका थिए । जबकि त्यसबेला उनी चियाङ चिङसँग बस्थे । हे छिछेनलाई समेत छाडिसकेको अवस्था थियो । हेलाई भेट्नुअगाडि उनी याङलाई सम्झेको सम्झ्यै गर्थे । एकपटक निदाउन नसकेपछि पत्नीलाई सम्झेर यस्तो लेखे–

विरहको चाङ तकियामाथि, के हो तिम्रो रुप ?
नदीको, समुद्रको छालजत्तिकै अन्त्यहीन मन्थन,
कति लामो रात, कति अन्धकार आकाश !
कहिले पो उज्यालो हुने हो ?
बिना आराम म बसिरा’छु, गाउन कुमबाट झरिसकेको छ,
त्यो पनि यस्तो चिसोमा
कहिले मिर्मिरे उज्यालो हुने हो, आखिर
मात्र खरानी बाँकी छ, मेरो सयौं सोचको…।

उता बान्काङमा नवजात शिशुलाई आमाको सहारामा छाडी याङ पार्टीको काममा लाग्थिन् । किसानहरुलाई गोलबन्द गर्थिन् । क्रान्तिका लागि तयार पार्थिन् । घर फर्किंदा एकदम थकित भइसकेकी हुन्थिन् । एक्लोपन महसुस गर्थिन् । अनि लोग्नेलाई सम्झेर बस्थिन् । एकपटक उनले यस्तो लेखिन्–

म उसलाई सयौं चुम्बन गर्छु,
उसको आँखामा, उसको ओंठमा
उसको गालामा, उसको निधारमा
उसको टाउकोमा ।
ऊ मेरो हो, मेरै हो ।

शुरुशुरुमा माओले याङलाई पत्रमा पार्टी र क्रान्तिबारे लामो कुरा लेख्थे र याङ माओको पत्र पढेर बढी उत्साहित हु“दै क्रान्तिमा होमिन्थिन् । यद्यपि, कतिपय कारणले पति–पत्नीबीच पछि पत्र आदानप्रदान हुन सकेन । यसका बाबजुद याङ पार्टी काममा लाग्न छाडिनन् । चाङशा, पिङजियाङ र सियाङयिनको साझा सिमानामा सक्रिय हुँदै गइन् । उनको नेतृत्वमा चालिएको अभियान एकपछि अर्को सफल हुँदै गएपछि च्याङ काइसकेको सरकार आत्तियो र गिरफ्तारीको लागि सूचना दिनेलाई एक हजार युआन इनाम दिने घोषणा ग¥यो । यसको बाबजुद याङ डटेर काममा लागिरहिन् तर सन् १९३० अक्टोबरको मध्यरात प्रहरी उनको घरमा पस्यो । जेलमा उनलाई ठूलो यातना दिइयो । माओसित सम्बन्धबिच्छेद गर्ने, माओसम्बन्धी सूचना दिने र माओको क्रान्तिकारी कामको भत्सर्ना गर्ने शर्तमा रिहा गर्ने भनियो तर याङ प्रहरीको कुनै शर्त मान्न तयार भइनन् । नतिजा, अदालतले उनलाई मृत्युदण्ड दिने फैसला सुनायो । सन् १९३० को नोभम्बरमा चाङ्शा शहरको सिजिलिङमा उनलाई फाँसी दिइयो । त्यो बेला याङ २९ वर्षकी थिइन् । उनका ९, ७ र अढाइ वर्षका तीन छोरा थिए ।

याङ चिनियाँ कम्युनिष्ट पार्टीको दोस्रो महिला सदस्य हुन् । पार्टीको प्रथम महिला सदस्य थिइन्– शिक्षिका मियाओ वोमिङ । याङ सन् १९२१ मा चिनियाँ कम्युनिष्ट पार्टीको गठनलगत्तै हुनान प्रान्तको चाङ्शामा गठित कमिटीमा सामेल भएकी थिइन् । माओ र याङ पहिल्यैदेखि परिचित थिए । पहिलो भेटमै एकअर्कालाई मन नपराए पनि याङको घरमा गइरहने माओ र उनको प्रेम भयो । त्यसबेला नै दुवै माक्र्सवादबाट शिक्षित भइसकेका थिए । सिद्धान्त, क्रान्तिसम्बन्धी छलफल गर्थे । कहिलेकाहीं साँझ नदी किनारमा घुम्न जान्थे, माओ पौडी खेल्न मन पराउँथे । सँगैको बसाइ, सँगैको हिँडाइकै क्रममा दुवै जना एकदम नजिकिसकेको दुवैले चालसम्म पाएनन् । तर सन् १९२० डिसेम्बरको एक दिन १९ वर्षीया याङले लुगा पोको पारेर घर छाडिन् र आफूभन्दा ८ वर्ष जेठा माओसँग बस्न गइन् । उनीहरुबीच कुनै औपचारिक बिहे कार्यक्रम भएन तर निकटका मित्रहरुले ६ सिल्भर डलर खर्च गरी आयोजना गरेको कार्यक्रममा भने भाग लिए ।

पतिपत्नी बनिसकेपछि दुवै क्रान्तिकारी काममा सक्रिय बने । माओ पार्टी काममा कहिले कता, कहिले कता खटिएका हुन्थे । १० वर्षको दाम्पत्य जीवनमा दुवै धेरै समय सँगै बस्न पाएनन् । यद्यपि माओ कहिले याङ बसेको ठाउँमा पुग्थे त कहिले आफू बसेकै ठाउँमा बोलाउँथे तर सन् १९२७ को अगस्तमा माओले वान्काङ छाडेपछि फेरि उनीहरुको भेट भएन । याङलाई फाँसी दिइएको खबर माओले पार्टीमार्फत प्राप्त गरेका थिए ।

(सन्दर्भ ः २६ डिसेम्बर माओ जयन्ती)

टिप्पणीहरू