देउवाले नमाने पनि आन्दोलन

देउवाले नमाने पनि आन्दोलन

नेपाली काँग्रेसले पनि संसद विघटनबिरुद्ध दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । आज बसेको केन्द्रीय समिति बैठकले दोस्रो चरणको आन्दोलनका कार्यक्रम तय गरेको हो । घोषित कार्यक्रमअनुसार पुस २५ गते सबै प्रदेश र निर्वाचन क्षेत्रमा आन्दोलन हुनेछ ।

संसद विघटनबिरुद्धको आन्दोलनलाई लिएर काँग्रेसमा विवाद बढेको चर्चा चलिरहेको बेला आन्दोलनमा जाने निर्णय सर्वसम्मतिले पारित गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। उनका अनुसार माघ ३ गते सबै पालिका र माघ ८ गते सबै वडामा काँग्रेसले विरोध कार्यक्रम आयोजना गर्नेछ ।

काँग्रेसले भातृ तथा शुभेच्छुक संस्था र जिल्ला कार्यसमितिहरुलाई पनि केन्द्रको कार्यक्रमसँग नजुध्ने गरी सडक संघर्ष गर्न निर्देशन दिएको छ । शनिबार नेकपा (बहुमत) ले पनि दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । दुवै दलले पहिलो चरणको कार्यक्रम यसअघि नै सम्पन्न गरिसकेका छन् ।

काँग्रेसले अन्य दलसँग मिलेर संयुक्त कार्यक्रम नगरी एक्लै गर्ने निधो गरेको बताइएको छ । यसअघि नेकपा (बहुमत), काँग्रेस र जसपाले संसद विघटनबिरुद्ध संयुक्त संघर्षका कार्यक्रम बनाउन भन्दै काँग्रेस केन्द्रीय कार्यालयमा छलफल गरेका थिए ।

टिप्पणीहरू