चौकीमा पसेर त हेर्नुस्, संसार गजब छ

चौकीमा पसेर त हेर्नुस्, संसार गजब छ

– अनिल शर्मा ‘विरही’

बालीबिरुवाको नश्ल सुधार नभएको बिउलाई ‘किचरो’ भनिन्छ । मान्छे पनि किचरो हुन्छ होला, जब एउटै गोत्रमा लामो समय सीमित रहन्छ । हो, त्यस्तै किचरोले सादा पोसाकमा आएर चैनपुर अदालतबाट बाहिरिँदा, ‘सर, तपाईंलाई मोरङ जिल्लाको पक्राउ पुर्जी छ, थाहै होला’ भनेको थियो । आज जोखिम भोजपुर, म मोरङ र त्रिलोचन घरतिर जाँदै थियौँ । चैनपुर इलाका प्रहरी कार्यालयमा खाना खायौँ । आपसमा बिदा भयौँ । इन्स्पेक्टर योगराजले नम्बर दिँदै ‘केही समस्या भए सम्पर्क गर्नुहोला । बेलबारीको इञ्चार्ज मेरो मामा हुनुहुन्छ’ भनेका थिए । मुद्दा फाँटमा पुग्नासाथ एक जना कालेले भन्यो, ‘नमस्कार है सर ! दुब्लाउनुभएछ । अलि बूढो पनि हुनुभएछ ।’ मोरङमा भारतीय दूतावासबाट रकम खाएको पुष्टि भएपछि कारबाहीमा परेका उनले मलाई यो व्यक्तिसँग भेट्टाएका रहेछन् । ‘बिर्सनुभयो सर ? हामी तीन जना तीन वर्षअगाडि विराटनगरमा भेटेको हो नि !’ उसले भन्यो । त्यसबेला व्यक्तिगत कुरामा धेरै चासो राखेपछि आशंका भएर पछि भेट्न मानिनँ । त्यो मान्छे त सिआइडीको बहालवाला रहेछ । ऊ विराटनगरबाट आएको थियो कि, यतैको, केही बताएन । मैले सोधिनँ । सायद उसले पक्राउ पुर्जी थमाएका कारण यतै सरुवा भएको होला ।

साथीहरूसँग बिदा भएर वसन्तपुर, चित्रेभञ्ज्याङ, अड्डासार हुँदै धनकुटा छोडेर मोरङ झरियो । बेलबारी पुग्दा रातको ३ बजिसकेको थियो । कन्ट्रोल रुममा पुग्नासाथ अमर्यादित पोसाकमा रहेको लामो टुप्पिवाला मेरो नजिक आएर झर्किँदै थर्काउँदै ‘के केस हो ?’ भन्यो । मैले उसैगरी ‘बिस्तारै बोल्न हुँदैन ? किन झर्केको ? मुस्कानसहितको सेवा भनेको यही हो ?’ भनेँ । प्रहरी दंगाल र ती टुप्पी मेरो पक्राउ पुर्जी हेरेर तर्सिए । सतर्क भएर युद्धबन्दीसँगको व्यवहार गरे । यिनीहरूका पिताश्रीहरू यसबेला मन्दिरमा घण्टा बजाउँदै होलान् । यी बाहुनका छोरा मेरो गुप्तांग छाम्दै थिए । ‘टुप्पेले जागिर त खाएछस् !’ मनमनै भनेको थिएँ । नाइकेले चर्पीको छेउमा सुत्ने ठाउँ मिलायो । अर्को दिन बिहान एउटा मोटे आएर चोटपटक भए÷नभएको सोध्यो । अस्पतालको मेडिकल गराएझैँ ग¥यो । उही टुप्पेले मसँग एक सय माग्यो । मैले रसिद मागेँ तर ‘छैन’ भन्यो । मेडिकल रिपोर्ट नक्कली बनाएर रकमको भर्पाइ नदिई प्रत्येक थुनुवासँग एक सयका दरले भ्रष्टाचार गरिँदो रहेछ ।

कात्तिक २५ गते जिल्ला अदालत लगियो । अदालतसमक्ष बिरामीमैत्री खाना, उपचार र थुनुवालाई प्रहरीले यातना दिने गरेको खुलासा गर्दै भनँे, ‘मोरङमा पञ्चायती व्यवस्था ढलेको छैन ।’ मुद्दाफाँटको प्रहरी हवल्दारले बिरामीमैत्री खाना माग गर्नुभएको छैन ?’ भन्यो । मैले समस्या सुनुवाइ गर्ने त के, औषधि पनि समयमा नदिएको बताउँदै भात, आलुको तरकारी र आलुकै अचार खाने असभ्य व्यवहार छ भन्दा न्यायाधीशले हाँस्दै उपचार र बिरामीमैत्री खाना दिन आदेश गरे । लिखित आदेश के थियो ? हेरिएन । अर्को दिन धरान घोपाक्याम्पस्थित अस्पताल लगे । चितवनको पुर्जी पूरै हेरेर चिकित्सकले ‘अझ तीन महिनासम्म ढाडको चोटपटकको असर रहन्छ, तत्काल एमआरआई नगर्नुस् । एमआरआईको विकिरणले अरू समस्या हुन सक्छ, गर्नुपरे पछि गरौँला’ भन्दै शरीरमा भिटामिन डि को तहसहित ९ वटा ल्याब परीक्षण गर्न लेखिदिए । अस्पतालले निःशुल्क उपचार गर्न मानेन । त्यसदिन उपचार नगरी फर्किएँ । अधिवक्ता कला त्रितालको पहलमा मोरङ अदालतले निःशुल्क उपचार गरी त्यसको प्रमाण कागजात समावेश गरी पेस गर्न आदेश भएछ । त्यसपछि कात्तिक ६ गते प्रहरीले अस्पताल लग्यो । सुनसरी अस्पतालमा रहेका प्रहरीले ‘सर्वोच्च अदालतको आदेश त सरकारले मानेको छैन । जिल्ला अदालतको के मान्थ्यो र ?’ भन्न थाले ।

त्यहाँका हवल्दार र अरूको व्यवहार राम्रै थियो । ‘अनिल दाइ नमस्कार ! घुमिरहनुभएको छ ?’ एकजना प्रहरीले भनेका थिए । बेलबारी इलाका प्रहरी कार्यालयको टोलीले राम्रो सद्भाव राखेको थियो । अस्पतालले आलटाल गरेपछि ‘निर्देशकलाई तपाईं नै भेट्नुस्’ भनेका थिए । मैले ‘म कसैसँग उपचारको भीख माग्न आएको हैन । नागरिकको उपचारसम्बन्धी मौलिक हक संविधानमै व्यवस्था छ । राज्यको नियन्त्रणमा रहेको कारण उपचार, बिरामीमैत्री खाना र सुरक्षा मेरो अधिकार हो । मलाई दया होइन, अधिकार चाहिएको छ । अदालतको आदेश भएपछि उपचार निःशुल्क गर्न सक्दैन भनेर लेखिदिनुस्’ भन्न लगाएँ । प्रहरीले लिखित जवाफ माग गरेपछि बल्ल निःशुल्क उपचार हुने भयो । अदालतको सहयोग, वकिलको दौडधुप र मेरो संघर्षले मोरङमा नयाँ नजिर बन्यो ।

फास्टिङ रगत ‘एफ’ दिएर दुई घण्टा समय बच्यो । बेलबारी प्रहरीको उपचार टोली, ‘सरलाई भेटेर घुमाउने हो आज’ भन्दै उत्तरतिर लगे । प्रहरी जवान ताराको व्यवहार सद्भावपूर्ण थियो । डोटी निवासी हवल्दार सइभन्दा छिटो निर्णय गर्थे । ‘हाकिमले करोडौँ भ्रष्टाचार गर्न हुने, हामीले दुई÷चार लिटर तेल खर्च गर्न नहुने ?’ भन्दै थिए । अस्पतालमा बोलावट भएका कारण फर्कियौँ । फर्किंदा ताराले ‘दाजुलाई घण्टाघर घुमाएर लैजाऊ न’ भन्दै थिइन् । मैले धरानको घण्टाघरमा घाम ताप्दै धनकुटे सुन्तला खाएको उनलाई थाहा थिएन । त्यसपछि भोटेपुलको गोर्खा डिपार्टमेण्टमा गएर खाना खायौँ । प्रहरीसहित पाँच जनाको रकम १३ सय भएछ । गोर्खा डिपार्टमेण्ट कोरोनाका कारण सुनसान थियो । एउटा टेबुलमा तीन जना युवा खाँदै थिए । अरू चरोमुसो थिएन । व्यापारको अवस्था देखेर नरमाइलो लाग्यो ।

खाँदा मास्क खोल्नुप¥यो । ताराले ‘दाजुको सेभिङ गराउने है’ भनिन् । आज दुई महिनापछि दाह्री, जुँगा छँट्नी गर्न पाइयो । त्यसपछि अस्पतालमा घाम तापेर बसियो । अस्पतालले ७२ घण्टापछि आउन भन्यो । कात्तिक १० गते अस्पताल गइयो । कालो, अग्लो, दारुवालको जस्तो राता आँखा भएको डाक्टरको बोली वचन मीठो थियो । उनले मेरो परिचय लिएर, ‘विप्लवजीको हालखबर के छ ? देशमा भ्रष्टाचार र विकृति अति भयो । छिटो परिवर्तन ल्याउनुप¥यो’ भनेका थिए । परिवर्तनका कुरा गर्दा यस्तो हुन्छ । डाक्टरमा यस्तो चेतना देखेर खुसी लाग्यो । ‘धन्यवाद छ डाक्टर !’ भनेर निस्किएँ । चिकित्सककी सहयोगीले ‘देशको कुरा हामीलाई पनि थाहा हुन्छ, किन नहुने ?’ भनिन् ।

त्यसदिनको प्रहरी टोली सकारात्मक थियो । जाँदा–आउँदा राजनीतिक छलफल भइरहन्थ्यो । त्यो दिन घाम तापियो, घुमियो, मीठो खाना, उपचार र भ्रातृत्वपूर्ण व्यवहारले ताजगीपन दियो ।

अस्पताल लगेको समयमा फोन गरौँला भनेको अदालत नै जान पाइएन । तिहारको दिन बिहानै कुनै कारण नभइकन एक जना असईले नराम्ररी धम्क्याएर गयो । दीपेन मग्रातीको फूपूले टीका लगाइदिएपछि छाँद हालेर ग्वाँग्वाँ रोइन् । त्यो दृश्यले सबै थुनुवा रोए । मलाई पनि नरमाइलो लाग्यो । रहँदा–बस्दा बेलबारी इलाका प्रहरी कार्यालयको वास्तविक अनुहार थाहा हुँदै गयो । नाइके सुमन तामाङलाई टुप्पे प्रहरीले ‘नाम्ले, पागल, लम्फू’ भनेर गाली गर्थे । मैले त्यसको कारण सोध्दा सुमनले ‘सर, यहाँ एक खिल्ली चुरोटको हवल्दारले ५ सय रूपैयाँ लिन्छ । एक पोका सुर्तीको २ हजार ५ सय लिन्छ । त्यही सामान ठुल्दाइले चुरोट १ सय र सुर्ती ४ सयमा दिन्छन् । सस्तो पाएपछि महँगो किन लिने भनेर ऊसँग किनेको छैन । व्यापार सुकेको कारण मसँग रिसाएको छ ।’ भान्से दाइलाई सबैले ठुल्दाइ भन्थे । बाहिर त्यही सामान चुरोटको ५ रूपैयाँ र सुर्तीको २० रूपैयाँ पथ्र्यो । प्रत्येक थुनुवासँग जनही सय रूपैयाँ लिएर सुमनले चुरोट सुर्ती खरिद गर्थे । मसँग पनि रकम मागेका थिए । मैले ‘खान्न’ भनेँ । पछि माग्न छोडे ।

‘मेजर सा’प, चर्पी गन्हायो । धूप बालिदिनुस् न !’ बेलाकुबेला भन्थें । आधा धूप निभाएर चर्पीमा लुकाउँथे । बाहिर धूपको बास्ना, भित्र चर्पीमा धूपको धुलो, गाँजा र सुर्ती ५ रूपैयाँको नोटमा बेरेर तान्न थाल्थे । त्यसरी चलिरहेको थियो, बेलबारी इलाका प्रहरी कार्यालयमा लागुऔषध कारोबार । धनुषा जिल्ला प्रहरी कार्यालयपछि बेलबारीमा लागुऔषध कारोबार देखियो । धरान इलाका प्रहरी कार्यालय, भोजपुर, खाँदबारी र चैनपुर इलाका प्रहरी कार्यालयमा मैले त्यस्तो देखेको थिइनँ ।

नेपालको चालु संविधानले मातृभाषाको रूपमा प्रयोग हुने सबै भाषालाई कामकाजी भाषाको रूपमा प्रयोग गर्न पाउने व्यवस्था गरेको छ । ०४७ सालको संविधानले निषेध गरेको हक अहिले छ । जसको प्रयोग सशर्त हुँदैन । मातृभाषामा गैरकानुनी छलफल नहोस् भन्ने आशय हो भने दोभाषे राख्नुपर्छ । त्यसो गर्न नसकेको सजायँ नागरिकलाई दिन पाइन्न । तर, हवल्दार मेजर भक्तिप्रसाद घिमिरेले उत्तम लिम्बूलाई ‘ओई, के बोलेको त्यो, बाहुन कुरामा बोल्’ भन्दै लिम्बू भाषामा आफन्तसँग बोल्न दिएनन् । उनले त्यसअघि राहुल साहलाई मैथिली र जुनेस सरदारलाई थारू भाषामा नबोल्न बाध्य पारेका थिए । मैले मातृभाषामा बोल्न र अदालत तथा सञ्चारमा भण्डाफोर गर्न प्रेरित गरेँ । थुनुवालाई यातना दिएर बयानमा हस्ताक्षर गराइन्थ्यो । इन्टेलिजेन्स शाखाको यातना सुनेर थुनुवा कक्षमा त्रास छाइरहन्थ्यो । अपराध स्वीकार गरेका थुनुवालाई पनि चरम यातना दिइन्थ्यो । ताप्लेजुङ निवासी (हाल बिर्तामोड, झापाका) हवल्दार मेजर भक्ति घिमिरे सधैँ भैँसी गोठालोझैँ पोलिथिन पाइप नचाउँदै, घुमिरहन्थे । प्रहरीमा मुद्दाफाँटलाई भन्सार र मेजर हवल्दारलाई हाकिमको चम्चा मानिन्छ ।

बेलबारी प्रहरीमा रहस्यमय अनेक दृश्य देखिन्थे । थुनुवा प्रेम तामाङलाई २४ दिन हिरासतमा राखेर पक्राउ पुर्जी नदिई, अदालत पेश नगरी रिहा गरियो । उनी बहुविवाह मुद्दामा पक्राउ परेका थिए । दीपेन मंग्रातीलाई केराबारी चौकीमा तीन दिन र बेलबारीमा २१ दिन थुनेर त्यसैगरी रिहा गरियो । जक मुद्दामा पक्रिएका जुनेस सरदारलाई उसैगरी मंसिर ७ गते रिहा गरिएको थियो । उनीहरूलाई अदालत पेश गरी त्यत्रो दिन किन थुनियो ? तिनीहरू दोषी थिए भने अदालत किन पेश गरिएन ? त्यसको पछाडि भ्रष्टाचारको खेती छ भन्ने सहजै बुझ्न सकिन्थ्यो । जुगला र वेश्याले नैतिकताको भाषण गरेझैँ बेलबारीको प्रहरीले सदाचारको बकबास गरिरहेको थियो ।

‘मन्त्री हुनुभयो भने मलाई पिएसओ राख्नुस् है’ भनेका थिए । ‘बादल गृहमन्त्री हुन्जेल छाड्दैन,’ अर्कोले भन्दै थिए ।

व्यावहारिक रूपमा मुद्दा फाँट सकारात्मक देखिन्थ्यो तर परिता राई बैनीलाई धरानबाट भेट्न आउँदा दुईपटक फिर्ता पठाएछन् । अरू प्रहरी पनि नरम हुँदै गएका थिए । एक जना चौधरी महिला प्रहरी थिइन् । नर्सलेझैँ ‘दाजु, औषधि खाने बेला भएन ? अरू केही चाहिन्छ कि ?’ भनिरहन्थिन् । ताराको व्यवहार उस्तै थियो । छिरिङ महिला जवान र दंगालले उस्तै गर्थे । हवल्दार मेजर भक्ति घिमिरे र मेरो बीचमा भने अकबर बिरबलजस्तो संघर्ष भइरहन्थ्यो । फरक के थियो भने म जुनियर शासक थिइनँ । थुनुवाबीच मेरो र कोतगार्ड तथा हवल्दार मेजरबीच ध्रुविकरण बढिरहेको थियो । प्रहरीले उत्तम लिम्बूलाई नाइके तोक्यो । हामीले ट्र्याक्टर चालक अशोक मंग्रातीलाई बनायौँ । उत्तमले प्रहरीलाई ‘सर, मलाई त जनताले मानेन’ भन्यो । सबै गलल्ल हाँसे । एकदिन कोतगार्ड कमाण्डर असईले मलाई भ्यानमा बोलाएर कानमा, ‘तपाईं कमाण्डर बन्नुपर्छ । म पनि भन्छु, तयार हुनुस् है !’ खुसुक्क भनेर गए । अर्को दिन हवल्दार मेजर भक्ति घिमिरेले ‘अब विप्लव दाइलाई कमाण्डर बनाउने हो’ भनेका थिए । मंग्राती रिहा भएको दिन घिमिरेले मलाई कमाण्डर घोषणा गरे । मैले तुरुन्त, ‘नाइके भनेको प्रहरीको आशीर्वादमा थुनुवाप्रति दमन गर्ने, हप्की(दप्की गर्ने र आर्थिक शोषण गर्ने पद हो । हाम्रो पार्टी त्यसप्रकारको काम गर्दैन ।’ भनिदिएँ । हवल्दार घिमिरे ‘हिस्स बूढी, हरिया दाँत’ भनेझैँ भए । ‘नेताजी पनि हँसाउनुहुन्छ’ भन्दै गए । त्यसपछि हामीले पूजन श्रेष्ठलाई नाइके बनायौँ । प्रहरीले दुई दिनसम्म मान्यता दिएन । तर, हामी एक भएपछि मान्न बाध्य भयो । पुजनले थुनुवासँग सफाइबापत लिने गरेको २ सय रूपैयाँलाई १ सयमा झार्ने घोषणा गरे । पुजन प्रहरीले मन नपराएको थुनुवा थियो । थुनुवाहरूले इन्कारी बयान दिने, नपढी–नहेरी हस्ताक्षर नगर्ने भएपछि मेरो भूमिका देखेका थिए तर बोल्न सक्दैनथे ।

मंसिर १५ गते इन्स्पेक्टरले ‘तपाईंको रिट जारी भयो । आजै काठमाडौँ जानुपर्छ । तयार हुनुस्’ भनेर गए । सबैको सरल व्यवहार थियो । आज हवल्दार मेजरले, ‘मन्त्री हुनुभयो भने मलाई पिएसओ राख्नुस् है’ भनेका थिए । मैले ‘सधैँ भैँसी गोठालोझैँ लौरो लिएर हिँड्ने मान्छे पनि पिएसओ हुन सक्छ र ?’ भन्दा थुनुवाहरू गललल हाँसेका थिए । उनै घिमिरेको अनुहारमा आज गम्भीरता थियो । ‘ल, विरहीजी रहँदा बस्दा केही भनिएहोला । तल–माथि भयो होला । क्षमा दिनुहोला । फेरि भेट हुन्छ÷हुँदैन ।’ घिमिरे सुसंस्कृत भाषाशैलीमा प्रस्तुत भएका थिए । उनको प्रस्तुतिले उनले शुरुमा गरेको व्यवहार बिर्सेझैँ भयो । थुनुवामध्ये केहीले रिहा भएपछि सम्पर्क गर्न चाहेको बताए । तर, उनीहरू समयले लम्पट बनाएका बबुरा थिए । उनीहरूलाई मान्छे भएर बाँच्न प्रेरित गर्थे ।

हिरासतमा अक्सर गरिबका छोराछोरी हुन्थे । मैले, ‘गरिबका छोराछोरीले मात्रै अपराध गर्छन् ? अरूण ३ को ९ अर्ब चोर्ने, देशै चोर्ने उच्च पदमा हुने, मोटरसाइकल चोर्नेलाई थुन्ने, बेलबारी चौकीका भ्रष्टाचारी खै थुनेको ?’ भन्थेँ । यस्ता प्रश्नले थुनुवाको चेतना एक हदसम्म प्रभावित भएको थियो । समय क्रममा उनीहरूले मलाई माया दिएका थिए । उनीहरूको गरिबी, पीडा, चिया खाने पैसा नभएको पीडा हुन्थ्यो । कहिले खुवाउँथे । आज पुजनलाई मासु मगाएँ । गिलास, ओढ्ने कपडा, साबुन त्यहीँ छाडिदिएर हिँडेको थिएँ ।

मंसिर १५ गते काठमाडौंतिर लगिएँ । सबै बन्दी अर्थात् थुनुवाहरूले उठेर बिदा गरे । रहँदा, बस्दा भएका कमजोरीप्रति क्षमा गर्नुहोला । बन्दुक उठाउन तयार नहुनेहरू दास बन्नलायक हुन्छन् भन्ने माक्र्सको भनाइ स्मरण गराउँदै बिदा भएँ ।

बाहिर मलाई अड्डासार गर्ने सवारी तयार थियो । मुद्दाफाँटका जवान वीरबहादुर नेपालीले ‘अब तपाईंको मुद्दा अन्तिम होला’ भनिरहेका थिए । ‘बादल गृहमन्त्री हुन्जेल छाड्दैन,’ अर्कोले भन्दै थिए । जे होला ओली–बादल मण्डलीविरुद्ध मेरो विजय यात्रा तीव्र बन्दै थियो ।

टिप्पणीहरू