कता हराए एमाले ?

कता हराए एमाले ?

सत्तारुढ नेकपामा देखिएको स्पष्ट विभाजनसँगै पार्टीको संस्थापन पक्ष र चुनाव चिन्हबारे सर्वत्र कौतुहलता र आमचासो देखिएपनि केही महिनाअघि निर्वाचन आयोगमा दर्ता गरिएको पुरानो एमालेको बारेमा कसैले चाईंचुईं गरेका छैनन् । त्यसका अध्यक्ष सन्ध्या तिवारीहरु पनि सतहमा देखिन्नन् तर,वर्तमान राजनीतिक घटनाक्रमपछि उठेको नेकपाको आधिकारिकता र सूर्य चिन्ह सम्बन्धी औपचारिक प्रक्रिया पनि अघि बढेको छैन ।

आयोगले कानुनी प्रक्रियाबमोजिम नै पुरानो नेकपा एमालेसँग मिल्दोजुल्दो दल गत असारमा दर्ता गरिदिएको थियो । शुरुमा दल दर्ता गराउन तामझामका साथ पुगेका केही व्यक्ति पछि आयोगमा आक्कलझुक्कल मात्र झुल्केका थिए । तरपनि आयोगले तोकिएको समय घर्किन लागेको भन्दै दल दर्ता गरिदिएको थियो । दर्ता भएको धेरै दिन बित्दा समेत प्रमाणपत्र लिन कोहि पनि आयोग पुगेनन् ।त्यो पार्टीको कार्यालय र फोन सम्पर्कसमेत कतै देखिन्न ।

नयाँ एमालेको लोगो दुईवटा पहाडको बीचमा उदाउँदो सूर्य रहेको बताइन्छ । उक्त चिन्ह पार्टीको लोगो मात्र भएको तर,चुनाव चिन्ह भने आगामी निर्वाचनअघि पुनः दल नवीकरण गर्दा मात्र प्रदान गरिने त्यतिबेलै बताइएको थियो ।

नेकपाभित्र विवाद चुलिँदै गएको समय मदन भण्डारी जयन्तीको अवसर छोप्दै निर्वाचन आयोगमा पूर्व एमाले दर्ताको लागि निवेदन हालिएको थियो । त्यतिबेला उपाध्यक्ष वामदेव गौतमले सचिवालय बैठकमा बोल्दै प्रधानमन्त्रीको प्रत्यक्ष निर्देशनमा एमाले दर्ताको निवेदन हालिएको प्रमाण आफूसँग भएको बताउनुभएको थियो ।

निर्वाचन आयोगमा संवैधानिक परिषद्को पछिल्लो विवादास्पद बैठकले दुईजना आयुक्त नियुक्त गरेको छ । तर,प्रतिनिधि सभा विघटनका कारण संसदीय सुनुवाई समितिसमेत अस्तित्वमा नरहेकाले उनीहरुको संसदीय सुनुवाई नहुने र ४५ दिनपछि स्वतः नियुक्ति हुने हो कि भन्ने कानुनी अन्यौल छ । हालका आयुक्त नरेन्द्र दाहाल आगामी बैशाखमा अवकाश हुँदैछन् ।

टिप्पणीहरू