प्रहरीलाई मूर्ख बनाउन खोज्दा

प्रहरीलाई मूर्ख बनाउन खोज्दा

नेपाल प्रहरीले जाडोको लागि आवश्यक उलन पाइन्टको लागि आह्वान गरेको बोलपत्रमा न्यून मूल्य कबोल गरी कम गुणस्तरको कपडा उपलब्ध गराएकोमा शंका लागेर गुणस्तर परीक्षण गराउँदा जालसाजी गरेको आरोपमा चितवन, अयोध्यापुरी ५ तथा हाल माडी ८ का नरेन्द्रनाथ पौडेल र पर्सा, वीरगञ्ज महानगरपालिका ५ का पिताम्बर कुमार मुन्कालाई समातेर केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान थालेको छ ।

आर्थिक वर्ष २०७३-०७४ मा आह्वान गरिएको उक्त बोलपत्रअनुसार प्रहरीले वीरगञ्जको क्राउन टेक्सटाइल्स इण्डष्ट्रिजसँग प्रति मिटर १ हजार ८२ रूपैयाँका दरले २० हजार मिटर उलन कपडा २ करोड १६ लाख ४० हजारमा खरिद गर्ने प्रक्रिया सम्झौताबमोजिम अघि बढाएको थियो । सम्झौतामा कम्पनीको तर्फबाट प्रतिनिधि नरेन्द्रनाथ पौडेल संलग्न थिए ।

पौडेलको प्रत्यक्ष रोहबरमा प्रहरीले गुणस्तर परीक्षणको लागि गत साउन ३० गते कपडाको नमूना भारतको चेन्नईस्थित प्रयोगशालामा पठाएको थियो । त्यसको दुई दिनपछि पौडेलले नेपाल प्रहरीको नाम,छाप,जिम्मेवार अधिकृतको नाम,मोबाइल नम्बर तथा इमेल ठेगाना उल्लेख गरी डीएचएल मार्फत् सोही ल्याबमा पठाएको थाहा पाएपछि मुलुकी अपराध संहिता,२०७४ को ठगीअन्तर्गतको कसूर अनुसन्धानको सिलसिलामा पौडेललाई हिजो काठमाडौंबाट र टेक्सटाइल्सका सञ्चालक मुन्कालाई वीरगञ्जबाट पक्राउ गरी जिल्ला अदालत काठमाडौंबाट हिरासतमा राखेर अनुसन्धान गर्न आज म्याद थप गरिएको प्रहरी स्रोतले बताएको छ ।

टिप्पणीहरू