कहिलेकाहीं कतिसम्म कठोर हुन्छन् कम्युनिष्ट

कहिलेकाहीं कतिसम्म कठोर हुन्छन् कम्युनिष्ट

– राजेन्द्र स्थापित

चौ चयाङ आधुनिक चीनका सर्वोच्च र शक्तिशाली नेता देङ सियाओ पिङका अन्धसमर्थक । सत्तारुढ चिनियाँ कम्युनिष्ट पार्टीको महासचिव र नवजनवादी गणतन्त्र चीनको प्रधानमन्त्री जस्तो सर्वोच्च पदमा पुगेका पहिलो व्यक्ति, जो क्रान्तिकालमा लाल सेनामा रहेनन् र विश्वप्रसिद्ध लङ मार्चमा भाग पनि लिएनन् । माओको मृत्युपश्चात् माओले अख्तियार गरेका नीतिको विरोधी । देङले बजार अर्थतन्त्रको वकालत गर्दा हाम्फालेर समर्थन गरेका । राज्यको स्वामित्वमा रहेका व्यापारिक संघसंस्थालाई निजीकरण गर्ने, पार्टी र सरकारलाई अलग पार्ने र आर्थिक सुधारको पक्षमा आवाज उठाएका । अतः देङकै समर्थन र आशीर्वादमा सन् १९८० मा प्रधानमन्त्री बने, चीनका प्रथम प्रधानमन्त्री थिए ह्वा गोफेङ (सन् १९७६–१९८०) । त्यति मात्र होइन, चौ प्रधानमन्त्री बनेको अर्को वर्ष सत्तारुढ चिकपाको उपाध्यक्ष बने । त्यसबेला अध्यक्ष थिए– देङकै अर्का अन्धसमर्थक हु याओबाङ । चिकपाका तेस्रो अध्यक्ष । प्रथम अध्यक्ष स्वयं माओत्सेतुङ, जो सन् १९४५ देखि १९७६ सम्म अध्यक्ष रहिरहे । उनको निधनपश्चात ह्वा गोफेङ अध्यक्ष बने, जो सन् १९८१ सम्म सो पदमा रहे । स्मरणीय छ, चौ उपाध्यक्ष बन्दा देङ पनि ७ जना उपाध्यक्षमध्येका थिए ।

सन् १९७६ को अप्रिल ४ । सबै चिनियाँ छिङमिङ पर्व मनाउँदै थिए । यो पर्वमा सबैजना दिवंगत पुर्खाको चिहानमा जान्छन् । चिहान सफा पार्छन्, दिवंगतजनले स्वर्गमा बास पाउन् भनेर प्रार्थना गर्छन् । धुप बालेर पूजाआजा गर्छन् । यसै सिलसिलामा राजधानी बेइजिङको मुख्य चोक तियानमेन स्क्वायरमा हजारौं जना भेला भए । उनीहरुले चार महिनाअगाडि दिवंगत नेता चाओ एनलाईलाई राज्यले यथेष्ट सम्मान प्रकट नगरेको भन्दै स्मृतिसभा गरे । त्यसबेला माओ जिउँदै थिए । बिरामी थिए । उनले प्रदर्शनमा उत्रेका समूहलाई पुँजीवादी समर्थक भनेर भत्र्सना गरे । र, सोही राति तियानमेन चोक जबर्जस्ती खाली गर्न लगाए ।

सन् १९८६ को मध्यतिर खगोलविद् प्राध्यापक पाङ लिझीले बेइजिङस्थित विज्ञान तथा प्रविधि विश्वविद्यालयको उपाध्यक्षमा पुनर्नियुक्ति पाए । उनी पहिला पुँजीवादीको आरोपमा पार्टीबाट निष्कासनमा परेका थिए । उपाध्यक्षको रुपमा उनी विभिन्न अरु विश्वविद्यालय घुमे र जनताको शक्तिको लागि विद्यार्थीहरु आन्दोलित हुनुपर्ने भनेर भाषण गर्दै हिँडे । अर्थतन्त्रमा उदारवाद, लोकतन्त्र र कानुनी शासनको वकालत गरे । उनको विचारबाट विद्यार्थीहरु प्रभावित बनेर सर्वप्रथम उनी बस्ने गरेको हेइफेइमा विद्यार्थीहरुले सरकारविरुद्ध प्रदर्शन गरे । लगत्तै यो आन्दोलन डिसेम्बरमा सांघाइमा विस्तार भयो । त्यसपछि क्रमशः बेइजिङ र प्रायः मुख्य शहर सबैतिर फैलियो । आन्दोलनमा उत्रिएका विद्यार्थीहरुले एक दशकअघि तियानमेन चोकमा नेता चाओ एनलाईको स्मृति सभामा सरकारले गरेको हस्तक्षेपको पनि कुरो उठाए । आन्दोलन सबैतिर फैलिँदै गएपछि सत्तारुढ पार्टीका नेताहरु गम्भीर बने । आन्दोलन सांस्कृतिक क्रान्तिको नयाँ रुप हुनसक्ने ठहर गरे । र, पार्टीले महासचिव हु याओबाङलाई शीघ्र निर्णय लिन दबाब दियो । सर्वोच्च नेता देङ स्वयंले फाङ लिझी, लिउ निन्यान र वाङ रुओबाङ तीन जनालाई पार्टीबाट निष्कासन गर्न हुलाई आदेश दिए । तर उदारवादी छविको रुपमा युवा र विद्यार्थी समुदायबीच लोकप्रिय बनिरहेका हुले देङको आदेश मान्न अस्वीकार गरे । त्यसपछि वरिष्ठ नेताहरुले उनीमाथि आन्दोलनप्रति नरम नीति अख्तियार गरेको र आन्दोलनलाई गलत ढंगले समाधान खोजेको आरोप लगाए ।

सन् १९८७ को जनवरी १६ मा पोलिटव्युरो बैठक बस्यो । बैठकमा महासचिव हुलाई पार्टीले अख्तियार गर्दै आएको सामूहिक नेतृत्वको सिद्धान्तको बर्खिलाप गएको लगायत कैयौं सवालमा गलत विचार व्यक्त गरेको भनी आत्मालोचना गर्न र राजीनामा दिन लगाइयो । पार्टीले विभिन्न शहरमा चलेको आन्दोलन समाजवादविरोधी भएको ठहर ग¥यो । सोही बैठकले चौ चयाङलाई कार्यवाहक महासचिव तोक्यो । चौले प्रधानमन्त्री र कार्यवाहक महासचिवको भूमिका निभाउँदै । देङ सियाओ पिङको सुधारका कार्यक्रमलाई सघाउँदै गए । उनको प्रधानमन्त्रित्व कालमा चीनमा सर्वत्र सुधारका कार्यक्रमहरु लागू भयो । धेरैभन्दा धेरै मुलुकहरुसित सम्बन्ध विस्तार गरे । हु याओबाङ र चौ चयाङ दुवै देङको भित्री समूहका सदस्य थिए । दुवैलाई देङले दायाँ र बायाँ हातको रुपमा अघि बढाएका थिए । हु त क्रान्तिकालदेखि देङ सँगसँगै थिए । लङ मार्चमा पनि हिँडेका थिए । पार्टीभित्रको आन्तरिक संघर्षमा देङ जतिपटक कारवाहीमा परे, हु पनि सँगै कारवाहीमा परे । देङले सफाइ पाएको समय उनले पनि पाए तर देङको निर्देशन नमान्दा नराम्रोसँग बर्खास्तीमा परे ।

सन् १९८७ को नोभेम्बरमा पार्टी केन्द्रीय समितिको विस्तारित बैठक बस्यो । सोही बैठकले चौलाई महासचिव र लि फङलाई कार्यवाहक प्रधानमन्त्री बनायो । लि फङ ४ महिनापछि प्रधानमन्त्री बने । यसबीच सन् १९८९ को अप्रिल ५ मा हु याओबाङको अचानक निधन भयो । उनी ७४ वर्षका थिए । १९८६, १९८७ को आन्दोलनमा लागेका विद्यार्थीहरूले उनको मृत्यु जबर्जस्ती महासचिव पदबाट राजीनामा गर्न लगाएकै कारण भएको हो भन्ने निश्कर्ष निकाले र उनको योगदानको उचित सम्मान गर्न माग गर्दै पुनः तियानमेन चोकमा भेला भए । उनीहरुले सन् १९८६ मा गरिएको आन्दोलनका नेता फाङ लिझीको पुनस्र्थापनाको माग गरे । यद्यपि पछिल्लो आन्दोलनमा फाङ आफैं प्रत्यक्ष संलग्न भएनन् । हको निधनमा एकत्रित विद्यार्थीको संख्या दिन बित्दै गएपछि ठूलो हुँदै गयो । अब उनीहरुले भ्रष्टाचार, लोकतन्त्र र प्रेस स्वतन्त्रतालगायत राजनीतिक मुद्दा पनि उठाउन थाले । पेकिङ र छिङह्वाजस्ता विश्वविद्यालयका विद्यार्थी पनि सामेल भए । आन्दोलन अप्रिल १६ सम्म पुग्दानपुग्दै सियान र सांघाइमा समेत फैलियो । दिवंगत नेता हु याओ बाङको श्रद्धाञ्जली सभा गरियो । सडकमा मार्चपास भयो । कतिपय विद्यार्थीले ग्रेट हल अफ पिपुल्सभित्र छिर्ने दुष्प्रयास पनि गरे ।

यसपछि प्रहरीको हस्तक्षेप भयो । हस्तक्षेपपछि गैरविद्यार्थी पनि आन्दोलनमा सामेल भए । अप्रिल २२ मा सरकारले दिवंगत नेता हुको अन्त्येष्टि कार्यक्रम संक्षिप्तमा सकायो । सत्तारुढ दलको बैठकमा आन्दोलनको विषयले प्रवेश पायो । प्रायः सबै वरिष्ठ नेताले आन्दोलन सरकार र कम्युनिष्ट पार्टीको विरुद्ध भएको धारणा व्यक्त गरे भने महासचिव चौले विद्यार्थी आन्दोलनप्रति नरम हुनुपर्ने विचार पोखे । यसबीच उनी उत्तर कोरियाको भ्रमणमा गए । अप्रिल १४ मा पार्टी पोलिटव्युरो स्थायी समितिको बैठक देङकै निवासमा बस्यो । देङ, राष्ट्रपति याङ साङखुन, प्रधानमन्त्री लि फङले आन्दोलनलाई दबाएर जाने निर्णय गरे ।

चौ स्वदेश फर्केपछि उनले पार्टी मुखपत्रको सम्पादकीय फेर्न लगाउनुपर्ने कुरा उठाए । पार्टी र सरकारले आन्दोलनलाई सकारात्मक दृष्टिले हेर्नुपर्ने जिकिर गरे । उनको तर्कलाई प्रधानमन्त्री लि फङले ठाडै विरोध गरे । यसबीच मे ४ आयो । पुनः आन्दोलन चर्कियो । चौले आन्दोलनकारीलाई संबोधनसमेत गरे । विद्यार्थी उनको समर्थन गर्न थाले । यसबीच सोभियत नेता मिखाइल गोर्वाचोभ चीन पुगे । मे २६ का दिन उनी र चौबीच वार्ता भयो । वार्ताको क्रममा चौले भने, ‘चीनमा अहिले पनि देङ सियाओ पिङ अझै चिनियाँ सबैको बोस हुनुहुन्छ ।’ स्मरणीय छ, सन् १९८७ मा बसेको केन्द्रीय समिति बैठकले देङको सहमतिबिना कुनै ठोस निर्णय नगर्ने अथवा देङलाई विशेषाधिकार प्रदान गर्ने सहमति गरेको थियो । चौले सोही निर्णयमा टेकेर सो कुरा बोलेका थिए तर उनको सो भनाइलाई देङले मन पराएनन् । पार्टीको आन्तरिक कुरा गोर्वाचोभलाई बताएको ठाने । आन्दोलनकारीहरुसँग सरकारले वार्ता गर्नुपर्छ भनिरहेका चौमाथि दबाब पर्न थाल्यो । मे २७ मा देङकै निवासमा बसेको बैठकमा देङलगायत प्रायः सबै नेताले आन्दोलनलाई दबाउन सेना प्रयोग गर्नुपर्नेमा जोड दिए तर चौ यसको विपक्षमा उभिए । सेना प्रयोग गर्ने हो भने आफू पदमा नबस्ने निर्णय सुनाए । पर्सिपल्ट आन्दोलनकारीको हुलमा पुगे र विद्यार्थीहरुसित मिलेर राष्ट्रिय गीत गाए । सोही दिन देङकै अध्यक्षतामा बसेको स्थायी समिति बैठकमा देङले ‘आफूले हु याओबाङ र चौ चियाङलाई आफ्नो उत्तराधिकारी बनाउन खोज्नु’ गल्ती भएको× स्वीकारे । सोही बैठकले सेना परिचालन गर्ने निर्णयसमेत गर्‍यो ।

चिनियाँ सरकारले मे २० मा मार्सल ल लागू ग¥यो । ३० वटै सैन्य डिभिजनका २ लाख ५० हजार सेना सडकमा उतार्‍यो । जुन ४ मा तियानमेन चोकमा सेना परिचालन भयो । आन्दोलनकारीहरुले सेना र ट्यांकलाई रोक्न खोज्दा ठूलो हताहती भयो । सेना परिचालनपश्चात् आन्दोलन तुहियो । उता चौ बर्खास्त भए । पार्टी र सरकारको सबै जिम्मेवारीबाट हटाइयो । उनको स्थान जियाङ जमिनले लिए । चौसमेत ३० जना मन्त्री बर्खास्तमा परे । पत्रपत्रिकामा चौको विरुद्ध लेख र समाचार प्रकाशन प्रसारण भयो । उनलाई घरमै नजरबन्दमा हालियो । त्यसपछिको १५ वर्ष चौले गुमनाम जीवन बिताए । सन् २००४ को जनवरी १७ मा ८५ वर्षको उमेरमा निमोनियाबाट निधन भयो । अन्तिम समयमा उनको साथमा श्रीमती लियाङ बोछी, १ छोरी र ४ छोरा मात्र थिए ।

टिप्पणीहरू