चिया बेची भनेर नचिढाइदिनु न ! « janaaastha.com
१३ माघ २०७७, मंगलवार

चिया बेची भनेर नचिढाइदिनु न !



माइतीघर भोजपुर, कर्मघर सिन्धुपाल्चोक । तर, सिन्धुपाल्चोक र भोजपुरका जति मान्छेले चिन्छन्, त्योभन्दा धेरै काठमाडौंकाले चिन्छन्, जान्छन् र बुझ्छन् उनको संघर्ष र गर्छन् पौरखी हातलाई सलाम ।

भोजपुरको एउटा गाउँबाट काठमाडौं झरेको २२ वर्ष व्यतित भइसकेछ । शहरमै चिया बेच्न थालेको १८ वर्ष । आमाबुवाका ४ सन्तान । म एक्ली छोरी । भोजपुरकै विद्योदय माविमा ७ कक्षासम्मको औपचारिक अध्ययन, त्योभन्दा धेरै पढेकी छु यो शहरका मान्छेहरूलाई ।
राजधानीमा भित्रिएपछि बस्ने ठाउँ थिएन, ठूलोबाका छोराकोमा शरण लिएँ । महांकालमा थियो दाजुको घर । महिना दिन त्यत्तिकै टहलिएपछि काम पाएँ गार्मेन्टमा । त्यो काममा खासै दिल त थिएन तर सास अड्याउनकै लागि सही, काम गर्नैपथ्र्याे । गार्मेन्टमा धागो बाट्ने काम । धागोभन्दा बढी मन बाटिन्थ्यो, घरपरिवार सम्झेर, भविष्यलाई कल्पेर । दिन, हप्ता हुँदै महिना बित्यो । पत्तै नपाई दुई वर्ष गुज्रिए । यस्तैमा भेटिए सिन्धुपाल्चोकका ध्रुव दाहाल । दाजुको साथी । प्रायः आउजाउ गरिरहन्थे त्यो घरमा ।

दुई आँखा चार भए । थाहै नपाई प्यार भयो । दाइको साथीका रूपमा चिनजान भएका ध्रुवलाई जीवनसाथीको रूपमा कल्पिएँ । थाहै नपाई धु्रवले दिलमा कतिखेर कब्जा जमाए र त्यही प्यार विवाहमा रूपान्तरण भयो ।

०५४ सालमा प्रेमको गाँठो कसियो । तिनताक पुल्चोकस्थित एक इञ्जिनियरको घरमा काम गर्थे । बिहेपछि म पनि सोही घरमा सिफ्ट भएँ । काम त्यहीं गर्न थालें । खान बस्नको समस्या थिएन । साहुले नै व्यवस्था मिलाइदिएका थिए । तलब तोकिएको थियो एक हजार । एक हजार तलबमा घरको सबै काम गरिदिनुपथ्र्याे । श्रीमान्ले सरकारी नोकरी पाए । मनमा उमंग थियो । तलब १८ सय हाराहारी । त्यहीं रहँदा छोरो जन्मियो । एकातिर मालिकको घरको सबै काम आफ्नै थाप्लोमा, त्यहीमाथि छोराको स्याहार सुसार । जीवनका ५ वर्ष त्यही घरको सेवा स्याहारमा बिताएँ । ०६० सालमा घर मालिकले बालकुमारीमा घडेरी किन्ने कुरा गरे । त्यतिखेर हामीसँग झण्डै ८० हजार बचत थियो र बालकुमारीमा जग्गाको दाम आनाको ५० हजार हाराहारी । साहुलाई केही पैसा थपिदिनुहोस्, हामी पनि घडेरी किन्छौं र पैसा चुक्ता नहुन्जेल तपाईंकै घरमा काम गर्छांै भन्ने प्रस्ताव राखियो । साहुले बचन फर्काए ‘नोकरलाई काठमाडौंमा घडेरी ।’ त्यही बचन मनमा काँडाझैं बिझ्यो । र, साहुको घर छाड्ने निर्णयमा पुगियो । भन्छन् नि जे हुन्छ, राम्रै हुन्छ । र, यही निर्णयपछि चिया पसल खोल्ने अवस्थामा पुग्यौं ।
तिनताक डेरा थियो शंखमूल । श्रीमान्को आम्दानीले १५ दिन पनि टिक्न मुस्किल । केही त गर्नै गथ्र्याे । शुरु भयो सडकमै मोजा, पञ्जाको व्यापार । सडकमा धूलो, धुँवा खाएर दिनभर बस्यो व्यापार हुन्नथ्यो । अरु काम खोजें पाइएन । मन युटर्न भयो र बानेश्वर एरियामा चिया पसल राख्ने निर्णयमा पुगियो, ५ सय लगानीमा संसद् भवनको तीन नम्बर गेटअगाडि ।

शुरुमा एउटा स्टोभ, १० वटा कप, चिनी, चियापत्ती, १० प्याकेट दूध किनेर श्रीगणेश गरियो । दैनिकी थियो बिहान आँखा मिच्दै नयाँ बानेश्वर धाउने । सुरुवाती एक महिना भने चिया खासै बिक्री भएन । मन परिवर्तन नभएको पनि होइन तर दिनहुँको मिहिनेत, मीठो बोली र मसालेदार चियाले दैनिक तीन–चार सय कप बिक्री हुन थाल्यो । सामान्य मानिसदेखि नेता, अभिनेता आउन थाले । चिया पसलबाट राम्रै आम्दानी भयो । यही बीचमा ठेला जोडियो र चिया बेच्न शुरु गरियो । चिया बेच्न थालेको २ वर्षमै भक्तपुरमा घडेरी जोडियो ४ लाखमा । चियामा जमिरहेकै थिएँ । बिहान मात्र होइन दिउँसो, साँझ पनि चिया खुवाउनुप¥यो भन्नेको संख्या बढ्दै थियो । कतिखेर नगरपालिकाका कर्मचारी त कतिखेर प्रहरीले दुःख दिन्थे । जति आफ्नो कोखबाट जन्मेको बच्चाको माया लाग्थ्यो उत्तिकै माया लाग्थ्यो ठेलागाडाको । एक दिन प्रहरीको डिएसपी आएर लात्ती बजारे । गाडालाई लात्ताले हिर्काएको देख्न सकिनँ । मन भाउन्न भयो । आँखा रसाउन थाले र रिसको पारो चढ्यो । बदलामा मैले डिएसपीको गालामा झापड हानें । त्यही कारण २४ घण्टा प्रहरी चौकीमा लगेर थुन्यो । यस्ता अनेकौं दुःख कष्टका पहाड झेलेको छु । यही बीचमा ४ वर्षे छोरो बिरामी प¥यो । कान्ति बाल अस्पतालमा पु¥याएपछि रोग पत्ता लाग्यो । बोनम्यारो सुकेको रहेछ । ४ लाखमा किनेको घडेरी छोराको उपचारका लागि ६ लाखमा बेचिदिएँ । छोरो विस्तारै निको भयो । झण्डै ६ महिनापछि सडकमै फर्किएँ ।

सडकबाट ०७१ मा टहरोमा सिफ्ट भएँ । यहीं चिया पकाउन थालेको पनि ६ वर्ष बितिसकेछ । औसत दिनमा ५ सय कप चिया बेच्छु । लागत कटाएर मासिक ६०–७० हजार नाफा हुन्छ । यही पसलबाट बालकोटमा ४÷४ आनाका दुई वटा घडेरी किनेकी छु । अब एउटा घडेरी बेचेर घर बनाउने योजना छ । बानेश्वरको स्वरूप निकै परिवर्तन भइसक्यो, मसँगै व्यापार सुरु गरेका मानिस पनि कताकता पुगे तर मैले चिया पकाएर बेच्न थालेको १८ वर्ष पुगिसकेछ । लकडाउन र कोरोना कहरमा पनि रोकिएन व्यवसाय ।

भन्छन् पुरुषको सफलताको पछाडि नारीको ठूलो हात हुन्छ । तर, एउटी नारीको सफलता पछि पुरुषको हात हुन्छ । म चिया बनाउँछु, उनी उत्तरतर्फ मध्यबानेश्वर, दक्षिणतर्फ पीपलबोटसम्म चिया बोकेर दर्जनौं पटक पुग्छन् । त्यत्ति गरेपछि १० बजिसक्छ अनि अफिस हानिन्छन् । मेलम्ची खानेपानी कार्यालयमा सरकारी जागिरे । कार्यालय समयबाहेक बाँकी समय यसैगरी सघाउँछन् । म एक्लैले त के सक्थें ? भन्छन् नि श्रीमान्–श्रीमती एक सिक्काको दुई पाटा । साथ सहयोगले आज हामी यो ठाउँमा छौं । छोराहरूलाई राम्रै विद्यालयमा पठाएका छौं । आफ्नै मिहिनेत र पसिनाको फल निकै मीठो हुन्छ नै, खुशी छौं ।

– विमला पराजुली, नयाँ बानेश्वर


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

जब मनकारी श्रीमान भेटिँदैनन्
द्वन्द्वले नराम्ररी दुखाएको छ दिल
कमानसिंहकी कान्छी पत्नीको कथा
ट्याक्सीमा किन लाग्छ मान्छेको ताँती