जताततै नेकपाको भेला

जताततै नेकपाको भेला

प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको प्रतिनिधिसभा विघटनबिरुद्ध नेकपा (बहुमत) ले कीर्तिपुरमा अगुवा कार्यकर्ता भेला गरेको छ । स्थायी समिति सदस्य रघुजी पन्तको प्रमुख आतिथ्य र निर्वाचन क्षेत्र नम्बर १० का संयोजक रूपा महर्जनको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश सह इञ्चार्ज हितमान शाक्य, केन्द्रीय सदस्य सुरेन्द्र मानन्धर,पूर्व मन्त्री दिलिप महर्जन,प्रदेश कमिटी सदस्य सञ्जय तामाङ, कीर्तिपुर नगरपालिकाकी उपप्रमुख सरस्वती खड्कालगायत झण्डै डेढ सयको सहभागिता रहेको बताइएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै पन्तले ‘प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई नै राज्य (स्टेट) भन्न थालेपछि पार्टी र मुलुकको आन्तरिक राजनीतिक माहौल बिथोलिएको बताउनुभएको छ ।

उहाँले राजा ज्ञानेन्द्रको पथमा अग्रसर भएका ओलीलाई राष्ट्रपतिले समेत साथ दिएकाले उक्त गैरसंवैधानिक कदम सच्याउन पनि १४ गतेको विशाल प्रदर्शनमा सहभागी हुन सबैलाई आह्वान गर्नुभएको छ ।

त्यसैगरी शाक्यले प्रधानमन्त्री ओली पार्टी र जनताको भावनाविपरित हुनेगरी विदेशीको इशारामा अघि बढेकाले अहिलेको अवस्था आएको दाबी गर्नुभएको सहभागीहरूले बताएका छन् ।

त्यस्तै काठमाण्डौं निर्वाचन क्षेत्र नम्बर ४ को आयोजनामा आज दिउँसो जयबागेश्वरीस्थित गोल्डेन लाइट पार्टी प्यालेसमा नेकपा (बहुमत) को क्षेत्रीय कार्यकर्ता भेला कार्यक्रम भएको छ । प्राप्त जानकारीअनुसार कार्यक्रममा प्रमुख अतिथि चीनका लागि पूर्व राजदूत तथा केन्द्रीय सदस्य टंक कार्की,केन्द्रीय सदस्य कुमार पौडेल,पर्शुराम तामाङ्गलगायत ४० जनाभन्दा बढीको उपस्थिति रहेको थियो ।

 

उता कास्कीमा पनि जिल्ला स्तरीय भेला गरिएको छ । नेता देवेन्द्र पौडेल सुनिलको उपस्थितिमा कार्यक्रम गरिएको हो ।

टिप्पणीहरू