रैमट्टै पाराले, दुःख पाए साराले

रैमट्टै पाराले, दुःख पाए साराले

– रामकुमार एलन

२०७६ असोज २८ गते कांग्रेस नेताहरूको भेलामा मकवानपुरका पूर्व सभापति रघुरमण न्यौपानेले भनेका थिए, ‘हेर्दै जाऊ, ६ महिनापछि मुलुकमा के के हुन्छ ? ढिलोचाँडो यो व्यवस्था कोल्याप्स हुन्छ ।’ न्यौपानेले त्यसो भन्नुको कारण के थियो भने, केपी ओली सरकारका ३ वर्ष यसै बिते, अब २ वर्ष यत्तिकै बित्छ, जनता यति निरास छन् कि हाम्रो बहुमत यत्तिकै आउँछ, अहिले संगठन गरिरहनै पर्दैन, जनमत कांग्रेसकै हो भन्नेहरू टन्नै थिए । आफ्नो पालो आएपछि न्यौपानेले यस्तो भनेका थिए ।

६ पुसको चिसोसम्म आइपुग्दा न्यौपाने बिरामी परेर निको हुने क्रममा हुनुहुन्छ । निकै गल्नुभएको छ तर ऊर्जा उस्तै छ । केही दिनअघि हेटौंडामा नेपाली कांग्रेसले ‘तनहुँ पुलकाण्ड’ प्रकरण समातेर शक्ति देखाउँदा सभापति शेरबहादुर देउवा र प्रवक्ता विश्वप्रकाश शर्मालाई उतारेको थियो । बिरामी भएर सुतिरहेका पूर्वसभापति न्यौपानेबारे ‘सञ्चोबिसञ्चो’ समेत देउवा र शर्माले सोध्न भ्याउनु भएन । त्यतिमात्रै होइन, अर्का पूर्व सभापति माइकल रामचन्द्र अर्याललाई मञ्चमा आसन ग्रहण गराइएन । नेविसंघका महामन्त्री प्रभात दाहालले पनि मञ्चमा बस्न पाएनन् । पार्टीभित्र कति लठिभद्र छ, तिमीहरू देख्दैनौ, लेख्दैनौ भनेर नेताज्यूहरू बेलाबेला सम्झाउनु हुन्छ पनि । बोल्न नदिए पनि यो पार्टीलाई यति बनाउन लागेका नेताहरूलाई ओझेलमा पारियो भनेर जिल्लातहका नेताहरूले सोच्न पनि समय नपाइरहेको बेला छ ।

अहिले रघुरमण न्यौपानेको त्यो अड्कल कसरी मिल्दै गयो भनेर पुराना कुरा कोट्याउनुअघि प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो कार्यकालका केही घटनाक्रम हेर्दा पनि कतै यो व्यवस्था विघटनको छेउमा त छैन भन्ने देखिन्छ । प्रधानमन्त्रीले संसद विघटन गरेका दिन नै हेटौंडामा राजावादीहरूले दीप प्रज्वलन गरे । स्वागतमा आउनु पर्ने पंक्ति आउन सकेको छैन, पार्टी हिजैबाट फुटेको छ, खुशियाली मनाउने जमात कमल थापाभन्दा अग्रगामी बनेर जुलुश निकालिरहेको छ, मैनबत्ती खपत गरिरहेको छ । प्रधानमन्त्रीले राष्ट्रिय अनुसन्धान सहित राजश्व अनुसन्धान र सम्पत्ति शुद्धिकरण विभाग आफ्नो आँगनमा लैजानु भयो । राजनीतिक घटनाक्रम यसरी बढिरहेको थियो कि, केही दिनअघि एक टेलिभिजन अन्तर्वार्तामा वरिष्ठ नेता माधवकुमार नेपालको भनाइ सुनेर धेरै नेता कार्यकर्ता निरास भए । यसमा फेरि प्रधानमन्त्रीकै तर्कले जित्छ, मलाई कामै गर्नै दिएनन् भन्ने तर्कमा दम हो भने त्यो दमले माधव नेपाललाई पनि अर्को जवाफ खोजिरहन पर्दैन । यसको एउटा उदाहरण ६ वर्षअघिको फोन काण्ड सम्झे पुग्छ ।

२०७० असारको एमाले नवौँ महाधिवेशनमा थोरै मतले पराजित माधवकुमार नेपाल सिन्धुली जानु भएको थियो । खोई के निर्णय हुँदै थियो, सायद यस्तै सूचना पुग्यो नेपाललाई र फर्कने क्रममा १७ पटकजति ओलीलाई फोन लगाउनु भयो । सिन्धुलीबाट काठमाडौं आइपुग्दासम्म फोन लगाइरहनु भयो, प्रधानमन्त्रीले उठाउन भ्याउनु भएन या उठाउन जरुरी ठान्नु भएन । माधव नेपालजत्तिको नेताको फोन रेस्पोन्स गर्न जरुरी नठान्ने प्रधानमन्त्रीसँग सायद साँझ कुरा भयो । नेपालको आग्रह थियो, ‘यस्तो गर्दै हुनुहुन्छ रे, त्यसो नगर्नुहोस् है, फेरि पार्टीमा भूकम्प जाला ।’ सबैलाई मिलाएर निर्णय गर्न भनिएको हो खासमा । लगत्तै मदन भण्डारी फाउण्डेसनको कार्यक्रममा प्रधानमन्त्री पृथ्वीनारायण शाह झैँ गर्जिनुभयो, जंगबहादुर राणा झैँ कड्किनु भयो र डा. बाबुराम भट्टराई झैँ राँक्किनु भयो । प्रधानमन्त्रीको लवज थियो, ‘ए, भइँचालो ल्याउने, कति रेक्टरको ? यो छाति थेग्न तयार छ ।’ त्यहाँदेखि यहाँसम्म आउँदा प्रधानमन्त्रीले कोही वर्गशत्रु र दुश्मन देख्नु भयो भने, उनको नाम माधवकुमार नेपाल थियो । माधव नेपाल कत्तिको रिसाएका छन् भनेर बेलाबेला शंकर पोखरेल, पिएस गुरुङ र सूचने सरहरू छड्केमा कोटेश्वर जान्थे । केही दिनअघि केपी ओली भन्नुहुन्थ्यो, ‘प्रचण्डजी, तपाईं मसँग मिल्ने कि माधव नेपालसँग, निधो चाहियो ।’ अनि माधव कति रिसाएका छन् भनेर हेर्न जान्थे यी तीन नेताहरू ।

केपी ओलीसँग नेपाल टेलिभिजनका ५ वटा च्यानल सुरक्षित छन् । तिनका मठाधीशहरू स्वयम् केपी ओलीको रोजाइकै छन् । रासस, रेडियो नेपाल, गोरखापत्र पनि छन् । तर प्रधानमन्त्रीलाई बोल्न परे कहिले ऋषि धमला खोज्छन् कहिले भूषण दाहाल । जबकि सिंगो क्र्यु लिएर डा. महेन्द्र विष्ट आफैँ अन्तर्वार्ता लिन तयार छँदैँछन् । प्रधानमन्त्रीले अपिल गर्दा देशैभरको टिभी संबोधन देखाउन तयार छ । तर ढिपी यस्तो बढ्दै गयो कि, ‘युज एण्ड थ्रो’मा उहाँलाई कसैले सकेनन् । उहाँका कारण निर्लज्ज पराजय भोगेका वामदेव गौतम वरिपरी पार्टी बिथोलिने काम भयो । प्रधानमन्त्री ओलीले एमालेबाट र झापाबाट जितेको हो । उहाँको सचिवालय र सचिवालयको जुठोपूरोमा रमाएकाहरूले भनिरहे, ‘महाधिवेशनबाट आएका र जनताले जिताएका प्रधानमन्त्रीलाई हटाउन पाइन्न ।’ दुईतिहाइ उहाँसँगै, ६ पुसमा अग्रज पत्रकार दाजु प्रमोद दाहालले फेसबुकमा लेखेको सही हो भने, ओलीको हस्ताक्षरविना नेकपाको कुनै पनि लिखत खोस्टा हुनेछ । यति बलशाली, प्रभावशालीलाई हटाउन पाइन्न भनेर माइतीघरमा जुलुश निस्कियो कोरोना कहरबीच । अस्तिसम्म जोरबिजोर लगाइरहेको थियो प्रशासन ।

ओलीलाई सूचना दिनेहरू गलत परे । यो कुरा हामीले भन्दा डा. कुन्दन अर्याल र महेश बस्नेतहरूले बेलाबेला भन्दै आइरहेका थिए । कम्युनिष्ट पार्टीमा बैठक नै नबस्ने, बहुमतको निर्णय नमान्ने ढिपीले नेताहरूलाई चित्रबहादुर केसी होइन, सिपी मैनाली बनाउँछ भन्ने नजिरसमेत सम्झना भएन । बीचमा वामदेव गौतमले खुट्टा नलर्बराएको भए यो पार्टी, ओली, पुष्पकमल दाहालको साइज उहिल्यै प्रमाणीकरण भइसक्थ्यो । उहाँ आधा यता, आधा उता र पर्दाखेरि कता न कता भइदिनाले संगठन विभाग प्रमुख खानुभयो, विधानमै नभएको उपाध्यक्ष पाउनुभयो । हुँदाहुँदा उहाँकै लागि प्रधानमन्त्री बनाउन संविधान फेर्ने राष्ट्रघातलाई समेत गलत भन्न सकेनन् माधव नेपाल र प्रचण्डले । त्यसको कारण थियो, अस्ति भेला भएका १४ भाइ केन्द्रीय सदस्य र सांसदको गणित । जम्मा १४ भाइ बोकेर उहाँले नेकपालाई टुँडिखेल बनाउनुभयो । नेपाली जनता हेरिरहे नेकपाको राइफाँडो र रैमट्ट राजनीति ।
अब के हुन्छ ? धेरैले सोध्छन् । जवाफ उनीहरूसँग पहिले नै छ फेरि । चुनाव हुन्छ, सूर्य चिन्ह केपी ओलीसँगै हुन्छ । प्रचण्ड र माधव नेपालले अपिल गरे, सिष्टम जोगाऊँ, हामीलाई परेन भन्दै त्वम् शरणम् गरे प्रधानमन्त्रीले राष्ट्रपतिलाई समावेदन गर्नसक्छन् । संसद विघटन हुन रोकिन सक्छ, राष्ट्रपतिले मान्नु भए । अब त झन बलशाली कोही हो भने ओली मात्रै हो । यति मात्रै होइन, प्रदेशमा सरकार हेरफेरको कुरा गरे राष्ट्रपति शासन लागु हुन्छ, संकटकाल लागु हुन्छ । यो सरकारी अनुमान भयो । तर सडकमा निर्मला पन्तका पक्षधरहरू, गुठी विधेयकका आन्दोलनकारीहरू, राजावादीहरू, कमल थापा, पशुपति र प्रकाशचन्द्र लोहनीको राप्रपा, हिन्दूवादीहरू, क्रिश्चियन प्रायोजकहरू, जातिवादीहरू, बलात्कारीलाई फाँसी दिऊँ भन्नेहरू, अनि जुर्मुराएको कांग्रेस र आफ्नै पूर्व पार्टी पनि सडकमा आउला भनेर संकटकाल लगाइयो भने हुन्छ के देशमा ? यस्तै अप्ठेरो आउँदैछ भन्ने थाहा पाएर नै प्रधानमन्त्रीले ईश्वर पोखरेललाई बालुवाटारको उपप्रधानमन्त्री बनाएर सेना आफूसँग राख्नुभयो । घटनाक्रम यसरी विकसित भयो कि, होला, केपी ओली अप्ठेरोमा पर्नु भयो । तर सारा शक्ति आफ्नो शिरमा हुँदा पनि यो व्यवस्थामाथि तुषारापात गराउँदै पो हुनुहुन्छ । आमनिर्वाचनमा जाने मात्रै विकल्प देख्ने हो भने कतै संघीयता फेल पो हुन्छ कि, नेपाली जनताले अझै दुःख पाउने पो हुन् कि ? भारतीय दौडधूपले कतै देश अब सिक्किम २ पो हुन्छ कि, अनेक आशंका मेट्नु पर्नेमा बिजारोपण भयो प्रधानमन्त्रीज्यू । तपाईंले चुच्चे नक्सा जारी गर्दा १४ ठाउँमा भारतले नेपाली भूमि मिचिसकेको छ । तपाईं प्रधानमन्त्री भएपछि नै भारतले नक्सा जारी गर्ने हिम्मत ग¥यो । कतै हामीले गुथाएको राष्ट्रवादी पगरीले हाम्रै थाप्लोमा पत्थर पो प्रहार त हुँदैछैन ?
चबmपगmबचभबिल२नmबष्।िअयm

टिप्पणीहरू