प्रचण्डको सचिवालय पनि उस्तै

प्रचण्डको सचिवालय पनि उस्तै

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली शनिबार बिहान खुमलटार आउने खबर प्राप्त भएपछि पहिले दश र पछि साढे दश बजेको तयारीमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालय जुट्यो ।

शुक्रबार नै सचिवालयले उपाध्यक्ष वामदेव गौतमलाई साढे एघार बजे र वरिष्ठ नेता माधवकुमार नेपाललाई मध्यान्ह १२ बजेको समय दिएको थियो । तर,साविक झैं प्रधानमन्त्री तोकिएको समयभन्दा आधा घण्टा ढिलो आउनुभएपछि प्रचण्डको सचिवालयले समय दिइएका पाहुनाहरूको लागि सोहीअनुरूप खबर गरेर भेटघाट कार्यक्रमलाई धकेल्नुपर्नेमा त्यसो नगर्नाले प्रधानमन्त्री र दाहाल खुलेर गफ गरिरहनुभएको बेला गौतम झ्वास्झ्वास्ती छिर्नुभएको भन्दै बालुवाटार स्रोतले सफाइ दिएको छ ।

उता,खुमलटार स्रोतले भने पहिले १० बजे प्रधानमन्त्री आउने र बढीमा १ घण्टामा भेटघाट सकिएला भनेर नै गौतमलाई साढे एघार बजेको टाइम छुट्याइएको बताएको छ तर प्रधानमन्त्रीको टाइम आधा घण्टा सरेपछि सचिवालयले गौतमलाई सोहीअनुसार खबर गर्नुपर्नेमा त्यसो नगर्दा समय जुधेको हो । गौतम तोकिएको समयमा भेटघाटको लागि आइपुग्दा प्रधानमन्त्री दाहालसँग छलफल गरिरहनुभएको थियो ।

वरिष्ठ नेता नेपाल पनि तोकिएको १२ बजेको समयको लागि खुमलटार पुग्नुभयो । तर,दाहालसँग प्रधानमन्त्री ओली र उपाध्यक्ष गौतमसमेत सँगै छलफलमा रहनुभएको जानकारी प्राप्त भएपछि उहाँ केहीबेर अलग्गै बस्नुभएको बताइन्छ ।

स्रोतका अनुसार भेटमा प्रधानमन्त्रीले सचिवालयमा प्रस्तुत दाहालको प्रतिवेदन राजनीतिक नभएर अभियोगपत्र भएकाले फिर्ता लिन पटक पटक अनुरोध गर्नुभएको थियो । उहाँले दाहालसँग ‘त्यो फिर्ता नभएसम्म आफू बैठकमा उपस्थित हुन नसक्ने’ अडान लिनुभयो । तर,प्रत्युत्तरमा दाहालले औपचारिक र विधिसम्मत पार्टीमा दर्ता भएको प्रतिवेदन र विषयवस्तुमाथि छलफल गरेर निश्कर्ष निकाल्नुपर्ने भएकाले बैठकमा उपस्थित हुनैपर्ने बताउनुभएको थियो । प्रधानमन्त्रीले भने प्रतिवेदन फिर्ता नभएसम्म आफू बैठकमा आउन नसक्ने धारणा पटक पटक दोहोर्याएर बाहिरिनुभएको थियो ।

टिप्पणीहरू