जब त्यसबारे प्रसङ्गै छेडिएन

आज बालुवाटारमा बसेको क्याबिनेट बैठकमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता गर्नेबारे प्रधानमन्त्रीले केही पनि उल्लेख गर्नुभएन । मन्त्रीहरूका अनुसार अध्यादेश सिफारिश गरिएको दिनको बैठकमा झैँ आज पनि प्रधानमन्त्रीले यसवारे केही पनि भन्नुभएन । बैठकमा केही मन्त्रालयका आधा दर्जन जति एजेण्डा थिए । ती सबै आधा घण्टामा सकिए ।

यसअघिका क्याबिनेट बैठकमा प्रायः जसो राजनीतिक प्रवचन हुने गर्थ्यो । आज भने प्रधानमन्त्रीले दायाँबायाँ केही नबोली बैठकको अन्तमा धन्यवाद भनेर हिँड्नुभयो । तर,हिजो नेताहरुसङ्गको छलफलमा भने प्रधानमन्त्री हेर्दै उग्र देखिने रूपमा प्रस्तुत हुनुभएको थियो ।

नेकपाभित्रको अवस्था अझैपनि डरलाग्दो परिस्थितिबाटै गुज्रिरहेको छ । पुस १ गतेको अवस्था सम्भवतः नेकपाको इतिहासमा सबैभन्दा कठिन परिस्थिति थियो । तरपनि राजनीतिक दुर्घटनाको खड्को नटरिसकेको हुँदा यसै हुन्छ भन्न नसकिने अवस्था टड्कारो छ ।

अध्यादेश फिर्ता लिने निर्णय झैं संसद आह्वानको निवेदन फिर्ता गर्न कुनै हालतमा सकिँदैनथ्यो । बोलाउनु अनिवार्य बाध्यता हुन्थ्यो ।

बुधबार दोस्रो पुस्ताका नेताहरूले समस्या समाधानको पहल गर्न जाँदा प्रधानमन्त्री ओली पूरै वार कि पारको मूडमा हुनुहुन्थ्यो भनिन्छ । प्रधानमन्त्री ‘जे पर्छ पर्छ,भिड्ने हो’ भन्ने मुडमा प्रस्तुत हुँदा अर्को पक्षले पनि ‘टिट फर ट्याट’ को शैलीमा शीतल निवासमा संसद अधिवेशन आह्वानको माग गर्दै निवेदन र हस्ताक्षर दर्ता गर्न खोजेको थियो ।

विश्लेषकहरूका अनुसार विविध कारण र उद्देश्यले निवेदन दर्ताको प्रक्रियालाई पाँच घण्टाभन्दा बढी समयसम्म लम्ब्याएको कारण घटनाले ‘यु टर्न’ लिएको थियो । संसद अधिवेशन बोलाउन माग गरिएको निवेदन दर्ता भएको अवस्थामा राष्ट्रपतिले तत्काल त्यसलाई प्रक्रियामा लानुपर्ने हुन्थ्यो । त्यसपछि परिस्थिति नसोचेको ढंगले अघि बढ्न खोज्ने देखिएपछि प्रधानमन्त्री अध्यादेश फिर्ता गर्ने सहमतिमा पुग्नुभएको उनीहरूको निचोड हो ।

अध्यादेश फिर्ता लिने निर्णय झैं संसद आह्वानको निवेदन फिर्ता गर्न कुनै हालतमा सकिँदैनथ्यो । बोलाउनु अनिवार्य बाध्यता हुन्थ्यो । त्यसैले हिजो अपरान्ह एकाएक पार्टीभित्रको गतिरोध चुलीमा पुगेर केही दिनको लागि साम्य भएको अवस्थामा पुगेको छ । बालुवाटारले अझै पनि स्थायी समितिमै कार्यदल बनाएर दुईजना अध्यक्षको प्रतिवेदनलाई मर्ज गरी संयुक्त बनाउनुको विकल्प नभएको सन्देश फैलाउन थालेको सुनिन्छ ।

टिप्पणीहरू