गणतन्त्र गयो, राजतन्त्र यसरी फर्कियो

गणतन्त्र गयो, राजतन्त्र यसरी फर्कियो

सन् १६२५ मा जेम्स (प्रथम) को मृत्युपछि चाल्र्स (प्रथम) इंग्ल्याण्डको राजा बने । त्यो बेला युरोपमा ३० वर्षे युद्ध चलिरहेको थियो । राज्य कोष खाली थियो । संसद् अधिकार प्राप्तिमा संघर्षरत थियो । महारानी मारिया (फ्रान्सकी राजकुमारी) को प्रशासनिक कार्यमा हस्तक्षेप बढिरहेको हुँदा प्युरिटन सम्प्रदाय मान्ने बहुमत बेलायतीले उनलाई शंकाले हेर्न थाले ।

चाल्र्स दैवी अधिकारमा विश्वास गर्थे । उनी राज्यसत्तामाथि संसद्को नियन्त्रणको विरुद्धमा थिए । त्यसैले संसद र उनीबीच शक्तिसंघर्ष चल्न थाल्यो । इंग्ल्याण्डमा तीन धर्म सम्प्रदाय थिए– प्युरिटन, ऐंग्लिकन र क्याथोलिक । चाल्र्स एंग्लिकनका अनुयायी थिए र प्युरिटन सम्प्रदायका जनतालाई घृणा गर्थे । संसद् क्याथोलिक धर्म मान्ने फ्रान्सेली राजकुमारी मारियासित बिहे गरेका कारण चाल्र्सप्रति क्षुब्ध थियो । राज्यकोष सञ्चालनसम्बन्धमा पनि राजा र संसद्बीच विवाद थियो ।

यसबीच संसद्ले एउटा अधिकारपत्रमा राजाको हस्ताक्षर चाह्यो । जसमा बिनाकारण कसैलाई पक्रन नपाउने, सेना आफ्नो घरमा बस्न नपाउने, शान्तिकालमा सैनिक कानुन लागू गर्न नपाउने आदि उल्लेख थियो । राजाले त्यसमा हस्ताक्षर गर्न चाहेनन् । उल्टै सन् १६२९ मा संसद् विघटन गरिदिए । यसबाट संसद्सँग टक्कर त प¥यो नै, जनतामा पनि असन्तोष फैलियो । राजाले संसद्बिना प्रत्यक्ष शासन त चलाए तर आर्थिक समस्या पर्न थालेपछि सन् १६४० मा संसद् पुनःस्थापना गर्न बाध्य भए । जब संसद्को अधिवेशन चल्यो, सांसदले राजतन्त्रको विरोध शुरु गरे । मुख्यमन्त्री अर्ल अफ स्ट्राफोर्डलाई मृत्युदण्ड दिन माग गरे । संसद् चालु भएपछि अलि नरम बनेका चाल्र्स दुई वर्षपछि पुनः कडा बने । संसदीय नेताहरुलाई पक्रन चाहे तर सफल भएनन् । लण्डनका जनताले उनीहरुलाई शरण दिएर बचाए । चाल्र्सले यसपछि लण्डनमाथि आक्रमण गर्न खोजे । यसनिम्ति उनी लण्डन छाडेर नटिंघममा बस्न गए ।

नतिजा, गृहयुद्धको शुरुवात भयो । एकातिर राजा, धनी वर्ग र सेनाको ठूलो संख्या– अर्कोतिर संसद्, केही धनी परिवार र लण्डनका बासिन्दा । गृहयुद्धकै क्रममा ओलिभर क्रमबेलको उदय भयो । उनी पनि सांसद र कुशल संगठक । कडा अनुशासनका हिमायती थिए नै । उनैले नयाँ सेना गठन गरे । सैन्य अनुभवबिनै लेफ्टिनेन्ट कर्णेल पदग्रहण गरे र सन् १६४४ मा शाही सेनालाई मास्टर्न मूरको मैदानमा पराजित गरे । एकपछि अर्को मुद्दा जित्दै गए । करिब तीन वर्षसम्म राजा, संसद् र क्रमबेलको नयाँ सेनाबीच संघर्ष चल्यो । वेल्सलगायत ठाउ“–ठाउँमा राजा समर्थकहरुले विद्रोह गरे, जसलाई क्रमबेलले सफलतापूर्वक दबाए । यसबीच आफूकहाँ लुकेर बसेका राजा चाल्र्सलाई स्कटल्याण्डका जनताले समातेर संसदीय कमिश्नरहरुको हातमा सुम्पिदिए । चाल्र्सले त्यहाँ बसेर फेरि नयाँ–नयाँ चाल शुरु गरे । क्रमबेलको नेतृत्वमा रहेको सेनाले राजाविरुद्ध मुद्दा चलाउने निर्णय ग¥यो र एउटा क्रान्तिकारी न्यायाधीकरण बनाई त्यसैले सन् १६४९ को जनवरी २७ मा राजालाई मृत्युदण्ड दिने फैसला सुनायो । चाल्र्समाथि बदमास, देशद्रोही, हत्यारा र जनताका शत्रुजस्ता आरोप लागेको थियो ।

चाल्र्सको मृत्युदण्डपछि संसद्ले सेनाको कुरा मान्न थाल्यो । क्रमबेल यो विद्रोहलाई पनि दबाउन सफल भए । यसपछि संसद्ले उनलाई राजनीतिक शासक मान्न थाल्यो तर संसद् र क्रमबेलबीच धार्मिक मुद्दामा विवाद रह्यो । क्रमबेल उपासना पद्धतिको स्वतन्त्रतामा विश्वास गर्थे भने संसद् परम्परागत कर्मकाण्डमा । क्रमबेल निर्वाचित सरकार, संसद्ले कानुन बनाई कर उठाउने र कार्यपालिकाले कानुनको दायराभित्र रहेर काम गरोस् भन्ने चाहन्थे तर संसद् यो कुरा मान्न तयार थिएन । यस्तै तनावबीच सन् १६५३ को अप्रिल २० मा उनी नयाँ सेनाको साथ संसद्मा प्रवेश गरे । सांसदहरुलाई जँड्याहा, वेश्यागामी र भ्रष्टको आरोप लगाए । खराब बानीबाट संसद्लाई अपवित्र बनाएको अराजक जत्था, सरकारको शत्रु, भाडाका टट्टु भन्दै आलुको भाउमा बेच्न लायक समूहको संज्ञा दिए । संसद्मा बस्ने अधिकार नभएको भन्दै सबैलाई निस्कन आदेश दिए । सांसदहरु निस्केपछि उनीसँग आएका सैनिकहरुले ढोकामा ताल्चा लगाइदिए र बाहिर बोर्ड झुन्ड्याउन लगाए । त्यसमा लेखिएको थियो– ‘यो स्थान भाडाका लागि खाली छ ।’

यसपछि क्रमबेलले आफ्नै संसद् बनाउने कोशिश गरे र सफलता हासिल नभएपछि आफ्नो सरकारलाई नयाँ संविधान मस्यौदा गर्न लगाई आफूलाई प्रोटेक्टर अफ इंग्ल्याण्ड घोषणा गरे । गणतन्त्र इंग्ल्याण्डको लर्ड प्रोटेक्ट बनेपछि सामाजिक सुधारको नाउँमा होटल, डान्स बार, रक्सी पसल, नाटकघर सबै बन्द गर्न लगाए । आइतबारको दिन फुटबल खेल्नेहरुलाई सख्त दण्ड दिन महिलाले लगाउने लुगामा निगरानी गर्न थाले । महिलाले चर्चमा जानेबाहेक मर्निङ वाक गर्न नपाउने भए । श्रृंगारमाथि प्रतिबन्ध लाग्यो । महिलाहरू कुर्कुचा ढाक्ने गरी कालो लुगा लगाउन विवश भए । पुरुषले पनि छोटा कपाल मात्र राख्न पाउने भए र कालो लुगा लगाउन बाध्य बने । क्रिसमस पर्वमाथि प्रतिबन्ध लाग्यो । उनको तर्क थियो, ‘क्रिसमस मनाउनु भनेको रक्सी खाने, रमाइलो गर्ने र समय मात्र खर्चिने भएकाले प्युरिटन धर्मावलम्बीहरुको निम्ति यो पाप हो ।’

राजाको निरंकुश शासन फालेर गणतन्त्रको मसिहा बनेका क्रमबेलमा ‘मै हु“’ भन्ने घमण्ड चढ्यो । शक्तिको मात चढेका उनले कसैको सल्लाह, सुझाव सुन्नै चाहेनन् । जनतामाथि अनेकौं प्रतिबन्ध लगाउने उनी आफू भने टेबल टेनिस खेल्थे, छोरीहरुको बिहेमा फजुल खर्च गर्थे । क्याथोलिकहरुमाथि एकपछि अर्को प्रतिबन्ध लगाए । आइरिस क्याथोलिकहरुको विद्रोहमा समातिएकाहरुको समेत हत्या गरे । अत्यन्त शक्तिशाली भई जनप्रिय काम गर्न नसकेपछि जनतामा उनीप्रति असन्तोष प्रकट भयो । जनताको राजतन्त्रप्रति पुनः झुकाव बढ्यो । जनता उनको विरोधी बने । चौतर्फी विरोध हुन थाल्यो तर क्रमबेल यति शक्तिशाली थिए कि कसैको केही लागेन ।

क्रमबेल मृगौलामा पत्थर अर्थात् किड्नीको समस्याबाट ग्रस्त थिए । यसैबीच सन् १६५८ मा औलो लाग्यो । ज्वरोले च्यापेपछि पहिला पिसाब र पछि किड्नीमै समस्या पर्न थाल्यो । सफल उपचार हुन सकेन । नतिजा, ५९ वर्षको उमेरमा सन् १६५८ को सेप्टेम्बर ३ शुक्रबारका दिन उनको मृत्यु भयो । लर्ड प्रोटेक्टर भइरहँदै मृत्यु भएका कारण उनीपछि छोरा रिचर्ड क्रमबेलले सो पद पाए तर रिचर्ड बाबुजस्तो राजनीति र राजकाजमा निपूण थिएनन् न त क्रान्तिकारी नै थिए । त्यसैले उनले कामचलाउ सरकार पनि चलाउन सकेनन् । अर्को कुरा, उनले संसद् र सेनाको समर्थन प्राप्त गर्न सकेका थिएनन् । त्यसैले दुई वर्षपछि पद छाड्न विवश भए ।

सन् १६४९ मा गणतन्त्र बनेको, १६५८ सम्म ओलिभर क्रमबेलको निरंकुश शासन चलेको र १६५८ देखि १६६० सम्म रिचर्डको कमजोर सरकार भागेका इंग्ल्याण्डका जनता नेतृत्व खाली भएपछि पुनः राजतन्त्रतर्फ फर्के । गणतन्त्रमा पनि कल्पनातित सुखी र स्वतन्त्र जीवन यापन गर्न नपाएपछि राजतन्त्र नै ठीक भन्ने निश्कर्ष निकाले । निर्वासनमा रहेका र मृत्युदण्डको सजायँ पाएका राजा चाल्र्स (प्रथम) कै पुत्र चाल्र्स (द्वितीय) लाई स्वदेश फर्काए र गद्दीमा बसाले । उनी चाल्र्स (प्रथम) लाई मृत्युदण्ड दिइएपछि स्कटल्याण्डको राजा बनेका थिए र क्रमबेलको सेनाले सन् १६५१ मा गद्दीबाट उतारेको थियो । चाल्र्स इंग्ल्याण्ड, आयरल्याण्ड र स्कटल्याण्डको राजा बनेपछि जनतामा क्रमबेलविरोधी भावना उग्र बन्यो । सन् १६६१ मा उनीहरु क्रमबेललाई गाडिएको स्थल पुगे । चिहानबाट लास झिके । ३० हजारको संख्यामा त्यहाँ पुगेका जनताले अस्थिपञ्जरलाई हाइडपार्क लगेर फाँसीमा झुण्ड्याइदिए । उनको टाउको २० वर्षसम्म त्यहीं लठ्ठीमा घोपेर सबैले देख्ने गरी राखियो ।
शक्तिको मात लागेपछि आफूलाई शक्तिशाली ठान्नेहरुको पतन पनि कसरी हुन्छ भन्ने राम्रो उदाहरण क्रमबेल हुन् । उनैका कारण इंग्ल्याण्डमा गणतन्त्र असफल भएको हो । त्यहाँ राजतन्त्र बलियो भएर होइन, जनता बलियो भएर राजतन्त्र पुनःस्थापना भएको थियो ।

टिप्पणीहरू