राजनीति त हो, आज प्यारो भोलि अप्ठ्यारो

नेपाली राजनीतिमा पछिल्लो समय भारतीय दूतहरुको आवतजावतले अनेकन तरंग सिर्जना गरिरहँदा सत्तारुढ बिजेपीका विदेश विभाग प्रमुख विजय चौथाइवालाको भ्रमण पनि केही प्रश्न उब्जाएका छन् ।

उनले कांग्रेसदेखि मधेसवादी नेता र थिङट्यांकवालासँगसमेत भेटे । यसअघि भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख आउँदा प्रधानमन्त्री र पूर्वप्रमसँग मात्र भेटेका थिए । तर, चौथाइवालाले सत्तारुढ दललाई बाइपास गर्दै आफ्नै सुरको भेटघाट चलाए । उनले सुवास नेम्वाङलाई नेकपा नेताकै हैसियतमा भेटे ।

मंसिर २५ गते दिउँसो ११ः५ को प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेलसँग भेटे । त्यसलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बूढानीलकण्ठस्थित निवास पुगे । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग भोलिपल्ट, अर्थात् २६ गते मन्त्रालयमै भेटे । त्यही दिन सुवास नेम्वाङसँग संसदीय दलको कार्यालयमा भेट गरे । २६ गते अपराह्न १ः१० देखि २ः२५ बजेसम्मको समय काठमाडौंस्थित भारतीय राजदूत विनयमोहन क्वात्रालाई दिए । उक्त भेट विनोद चौधरीको झम्सिखेलस्थित होटल भिभान्तामा भएको थियो । त्यही दिन सवा तीन बजेदेखि ३ः५५ सम्म होटल सोल्टी पुगे, कांग्रेस महामन्त्री शशांक कोइरालासँग भेट्न । फेरि ४ः२० देखि ४ः५० सम्मको समय दिए नीति अनुसन्धान प्रतिष्ठानकी अध्यक्ष नलिनी ज्ञवालीलाई । साँझ ६ देखि सवा ७ बजेसम्म जसपा नेता महन्थ ठाकुर र राजेन्द्र महतोलाई दिए । ७ बजेर ५० मीनेटदेखि ८ः४० सम्मको समय नीति अनुसन्धान प्रतिष्ठानका पूर्वअध्यक्ष दीपक अधिकारीका लागि छुट्टयाए ।

२७ गते बिहान ७ः२५ मा होटल सोल्टीबाट निस्किएका उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित आन्तरिक टर्मिनलतिर छिरे । त्यहाँ बिहान ९ः३५ का लागि उडान तालिका तय भएको बुद्ध एयरबाट भद्रपुरका लागि प्रस्थान गरे । त्यहीँबाट सडकमार्ग हुँदै भारत छिरी बागडोग्रा हुँदै दिल्ली फर्किए ।

स्रोतका अनुसार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मंसिरमा गर्ने भारत भ्रमणबाट फर्किंदा प्रधानमन्त्रीको लागि निम्तो पठाइने भएको छ ।

नेपालको वास्तविकता कस्तो छ भने, विदेशी शक्तिहरु ओली–कांग्रेस मिलुन् भन्ने चाहँदैनन् । अमेरिकीहरु एमसिसीका कारण मिले हुन्थ्यो भन्नेमा हुनसक्छन् । अनि, भारतीयहरु ओलीलाई बलियो बनाउने पक्षमा छैनन् । किनभने, उनी बलियो हुँदा जसरी सीमा मामिलामा अनुदार भएर संसदमा भारतीय संस्थापन नारासम्मको क्यारिकेचर गर्न भ्याए, त्यसबाट उनीहरु झस्किएका छन् । तर, संवादहीनताले पनि अन्तर्राष्ट्रिय जगतमा पर्ने नराकात्मक प्रभावलाई दृष्टिगत गर्दै भारतीयहरु संवादसम्म गर्न तयार भएका छन् । अनि, चिनियाँ नेतृत्वले पनि केपी ओलीको कार्यशैलीलाई शंकाकै नजरले हेरिरहेको छ ।

टिप्पणीहरू