प्रधानमन्त्रीका प्यारा र पराया

प्रधानमन्त्रीका प्यारा र पराया

प्रधानमन्त्री केपी शर्मा ओलीको शासन सञ्चालन शैलि र सहिष्णुता कस्तो छ भनेर बुझ्न धेरै ढाढा जानै पर्दैन । उहाँले आफ्ना र परायामा कसरी विभेद गर्नुहुन्छ थाहा पाउन बालुवाटार नजिकैको अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई हेरे पुग्छ ।

विगतमा उहाँ सहितले राष्ट्रिय सहमति जुटाएर लोकमानसिंह कार्कीलाई आयोगको प्रमुख आयुक्त बनाउनुभएको कहिँबाट छिपेको छैन । परिबन्द र परिस्थितिले लोकमान हटेपछि रोलक्रम र वरिष्ठताको आधारमा त्यहि आयोगमा दीप बस्न्यातलाई कायम मुकायम र कन्फर्म दिनुभयो । बस्न्यातपछि नवीन घिमिरेलाई पनि त्यसै गरिएको हो । तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीलाई सरकार प्रमुख बनाएर सत्ता सुम्पन पनि उहाँ अग्रसर हुनुभएकै हो ।

नविनले स्वत: अवकाश पाएपछि अहिले वरिष्ठताको आधारमा आयोग प्रमुखमा गणेश जोशीलाई कायम मुकायमसम्म दिइएको छ । उनी माओवादीको कोटामा आयुक्त बनेका हुन् । अर्की आयुक्त सावित्री गुरूङ्ग भने नेपाली काँग्रेसको कोटामा नियुक्त भएकी थिइन् । जोशी कतिसम्म सरल भने प्रमुख आयुक्त भइसक्दा पनि पहिलेका प्रमुखले झैं न सरकारी निवासमा बसेर रजगज गरेका छन् न प्रमुख आयुक्तको आलिशान कार्यालय र निवास नै प्रयोग गरेका छन् ।

झण्डै पौने छ वर्षदेखि बस्दै आएको आयुक्तको कोठाबाटै कायम मुकायम प्रमुखको जिम्मेवारी पूरा गरिरहेका छन् । कायम मुकायम दिइएको भदौ २८ पछि तीन महिना बितिसकेको छ । तरपनि चैतमा अवकाश हुने जोशीलाई अहिलेसम्म प्रमुख बनाउने कुनै लक्षण छैन ।

जोशीलाई यसरी अड्काउनुको एउटा गतिलो आधार के हो भने उनी ओली निकट हुँदै होइनन् । व्यक्तिगत रूपमा जोशी कतिसम्म सादा र सरल छन् भने हालै भरतपुर जाँदा स्थानीय रिक्सा प्रयोग गरेका थिए । भौतिक सुख सयलमा पटक्कै विश्वास नगर्ने जोशीले विगतका प्रमुखले झैं सुरक्षाकर्मीको लावालस्कर लिएर हिँडेको समेत देखिँदैन ।

लोकमानलेझैं राजा महाराजाको रवाफ देखाएर दर्जनौं सवारी साधनको लावालस्कर लाउनेमा आफ्नो कुनै दिलचस्पी नभएको बताउँछन् । यी सबै दृष्टान्तबाट सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना र परायालाई कस्तो व्यवहार गर्नुहुन्छ भन्ने छर्लङ्ग हुन्छ । साथै ती सबै राज्यको सुख,सुविधा र सम्मान दिने कुरामा सरकार प्रमुखले देखाउनुभएको अतुलनीय पनपच्छेको नमूना पनि हो ।

गोकर्णमणि दुवाडीलाई समेत ६ पटकसम्म बढुवाको सूचीमा राखेर पनि सहसचिवमै खुम्चाइएको थियो । हालै सचिवमा बढुवा गरिएपनि दवाडीलाई तुलनात्मक रूपमा प्रशासनिक काम गर्न अप्ठेरो २ नं. प्रदेशमा पोष्टिङ्ग गरिएको छ ।

छ चोटिसम्म उनले बढुवा नपाउनुको कारण हो-रोइकराइ गर्न खुमल्टार गएको सूचना बालुवाटार पुग्नु ।

टिप्पणीहरू