निर्मल निवासमा राणा, ठकुरी र नवराजावादीको भेला तारन्तार

निर्मल निवासमा राणा, ठकुरी र नवराजावादीको भेला तारन्तार

‘मलाई दलहरूले राजा बनाएको होइन र जनताले हटाएको पनि होइन ।’ निर्मल निवासमा पूर्व राजा ज्ञानेन्द्रको यस्तो भनाई सुनेर फर्किएकाहरु अचेल हौसिँदै आगामी चैतसम्म केही राजनीतिक परिवर्तन हुने उत्साहका साथ जुलुसमा जुट्न थालेका छन् ।

राप्रपाको राजनीतिमा त्यति धेरै सक्रिय नभएपनि राजतन्त्र पुनस्र्थापनामा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवल समशेर राणालगायतका व्यक्तिहरू खुलेर अघि बढेका पाइन्छन् । गत शुक्रबार धवल समशेरहरूसँगको भेटमा ज्ञानेन्द्रद्वारा आफूलाई दलहरूले राजा नबनाएको धारणाप्रति भने नेताहरूले कडा प्रतिक्रिया जनाएका छन् । उनीहरूका अनुसार दुई दशकअघि दरबार हत्याकाण्डपछिको राजसभा बैठकमा तत्कालीन एमाले र नेपाली काँग्रेसले सदाशयतासाथ ज्ञानेन्द्रलाई नयाँ राजामा समर्थन गरेका थिए । त्यतिबेला प्रधानमन्त्री तथा काँग्रेस सभापति गिरिजाप्रसाद कोइराला र एमाले महासचिव तथा विपक्षी दलका नेता माधवकुमार नेपालसमेतको उपस्थितिमा ज्ञानेन्द्रलाई राजा वीरेन्द्रको उत्तराधिकारी छनौट गर्ने प्रस्तावमा समर्थन जनाइएको थियो ।

राजसभामा कांग्रेसबाट सभामुख बनेका तारानाथ रानाभाटसमेतको सहभागिता थियो । त्यतिबेला दलहरूले सहमति नजनाएको भए उनी राजा हुनै नसक्ने विगततर्फ अलिकति ध्यान दिन दलहरूले पूर्व राजालाई सुझाएका छन् ।

प्रमुख दलका नेताहरूले ज्ञानेन्द्रलाई नेपालको सन्दर्भमा राजा कहिल्यै जनताले नबनाएको पनि स्मरण गर्न सम्झाएका छन् । २००७ र २०५८ साल दुबैपटक रोलक्रमले भन्दा पनि ‘चान्स’ ले गध्दी पाएका उनले जनतालाई केही दिएनन् बरु आफू कुस्त सम्पत्तिको मालिक भैकन पनि राजपरिवारको निम्ति ठूलो सुविधा गरिव राज्यको ढुकुटीबाट लिन थाले, सनकको भरमा सैनिक बर्दी पहिरेर बुझेँ बुझेँ भन्दै देश घुम्न र शाही नेपाल वायुसेवा निगमको जहाजै कब्जा गरेर ट्युनिसियादेखि अफ्रिकासम्म हप्तौं उड्न थाले, एक छिमेकीलाई चिढ्याउन अर्को छिमेकीसित अस्वाभाविक हिमचिम बढाए, सँविधानमै नभएको पद सिर्जना गरी सैनिक बलमा सरकार प्रमुख बन्ने रहर देखाए ।

दलका नेताहरू भन्छन् ‘४ वर्षअघि यौटा परिस्थितिमा दलहरूले राजा बनाएका थिए, जनताको चाहना र भावना यही हो भन्दै उनैद्वारा पुनस्र्थापित प्रतिनिधिसभाको बलमा फेरि दलहरूले राजाबाट हटाइदिए ।’ कसैले पनि जनसमर्थनको दुहाइ दिन नमिल्ने तीतो वास्तविकता के हो भने जनताको चाहनाबमोजिम सत्ता हातमा लिन बाध्य भएको दाबी गर्ने ज्ञानेन्द्रले छोरा पारशलाई युवराज घोषणा गर्दासमेत जनआक्रोशको डरका कारण दशैं बिदाको सहारा लिनुपरेको थियो । यसबाट पनि पुष्टि हुन्छ– जनमत कहिल्यै स्थायी हुँदैन ।

अहिले राजावादीहरू उग्र हुनुमा प्रधानमन्त्री केपी शर्मा ओलीको ‘युज एण्ड थ्रो’ को सिद्धान्तले समेत काम गरेको बताइन्छ । तीन वर्षअघिको आमनिर्वाचनमा झापामा राजेन्द्र लिङ्गदेनसँग तालमेल गरेर ओलीले आफ्नो जित सुनिश्चित गर्नुभएको थियो । त्यसअघिको स्थानीय निर्वाचनमा पनि काठमाडौं महानगरको उपमेयरका निम्ति राप्रपाका राजाराम श्रेष्ठसँग तालमेल गरेर विद्यासुन्दर शाक्यलाई मेयरमा जिताइएकै हो । भलै, राजारामलाई उत्तानोटाङ्ग बनाइ दिएपछि त्यसको फाइदा काँग्रेसकी हरिप्रभा खड्गीले पाइन् ।

उतिबेला आफूमाथि घात भएपछि पनि राप्रपामा नै रहेका राजाराम उग्र कमल थापा बिरोधी हुन् । श्रेष्ठ राणाजस्तै ‘डाइहार्ड’ राजावादी बनेका छन् । नेपालगञ्जका मेयर धवलले यसबीच धेरैचोटी काठमाडौं आउँदै पूर्व राजा र उनी निकटस्थहरूसँग उठबस गरिसकेको बताइन्छ ।

राणा पछिल्ला दिनमा ज्ञानेन्द्रले पत्याएका थोरैमध्येको एक बनेका छन् । खुलेर कुरा गर्ने भएकाले पनि राजावादीहरूले धवल समशेरसँग बढी आशा गरेको बताइन्छ । पूर्व राजा ज्ञानेन्द्रले पनि चैतभित्र ठूलै उथलपथल हुने भएकाले धैर्यताका साथ आफ्नो कार्यक्रम अघि बढाउन राणालाई धाप मारेको कार्यकर्ताहरूको खासखुसमा सुनिन थालेको हो ।

राजतन्त्रको समर्थनमा सडकमा देखिएको गुट र समूहदेखि सुरेन्द्र भण्डारी, ज्ञानेन्द्र शाही, बालकृष्ण न्यौपाने, सुरेन्द्र केसी, कमल थापा, भरत दाहालहरू सबै मिलेर फागुनदेखि एउटा मोर्चाको रूपमा अघि बढ्ने तयारी छ । उनीहरूका अनुसार विगतमा गणतन्त्र आउने बेला झैं फागुनदेखि सरकारी कर्मचारी संयन्त्र पनि भाँडभैलो हुनेछ । राजतन्त्र पुनस्र्थापनाको लागि आफूहरूले अब स्वतन्त्र राष्ट्रवादीहरूलाई समेट्न बाँकी रहेको आन्दोलनमा व्यस्त राजावादीहरू बताउँछन् ।

२०४६ देखि हालसम्म चैत महिना राजनीतिक परिवर्तनको उत्कर्ष क्षणको महिना बन्दै आएको छ । यसअघि बहुदलवादीहरूले राजावादीविरुद्ध चैतमा निर्णायक आन्दोलन छेडेका थिए भने यसपटक चाहिँ राजावादीहरूले गणतन्त्रविरुद्ध चैतमा निर्णायक आन्दोलन हुने बताएका छन् । या चुनाव या क्रान्ति, अथवा सैनिक विद्रोह, वा स्वेच्छिक सत्ता हस्तान्तरण–यी चारै उपायबाट बाहेक व्यवस्था परिवर्तन नहुने तथ्यलाई नजरअन्दाज गर्दै उनीहरू भन्छन् ‘आन्दोलन अघि बढ्छ तर श्री ५ ज्ञानेन्द्र चुपचाप बसिसिन्छ । जनताले नै उहाँलाई दरबारमा राखेर दर्शन गर्नेछन् ।’

बेलामा बुद्धि पु¥याएको भए यतिखेर भारतका नरेन्द्र मोदीजस्तै बन्ने मौका राजाको नाममा राजनीति गर्दै आएका कमल थापा आफैँले गुमाएको राजावादीहरू बताउँछन् । क्षणिक लाभका कारण थापालाई राजावादीहरूले छि छि र दूर दूर गरेको उल्लेख गर्दै उनीहरूले यसबीच झापामा राजेन्द्र लिंगदेनले समेत आमन्त्रण नगरेको र नेपालगञ्जमा पनि राप्रपाको झण्डाबिना उल्लेख्य कार्यक्रम सम्पन्न भएकाले थापाको राजनीतिक च्याप्टर अँध्यारो भएको बताएका छन् ।

टिप्पणीहरू