समूहको प्रस्ताव व्यक्तिद्वारा ‘खारेज’

समूहको प्रस्ताव व्यक्तिद्वारा ‘खारेज’

अब पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली सहभागी हुनु भएन भने पनि नेकपाको बैठक बस्छ भन्ने कुरा अघिल्लो शनिबारबाट पुष्टि भएको छ । प्रचण्डका कुरामा जवाफ दिन्नँ, त्यो खारेज गर्छु भन्ने उहाँले सचिवालयको ६ गतेको बैठकमा आफ्ना कुरा राखिसकेपछि स्वतः छलफलमा सहभागी हुनुभएको छ ।

नेकपाभित्र सहमति उल्लंघनको सिलसिला उहाँबाटै भएको बुझाई अधिकांश नेताको छ । केन्द्रीय कमिटी सदस्यहरुको कार्यविभाजनदेखि त्यस्तो भएको हो । प्रदेश कमिटीका पदाधिकारीको निर्णय बहुमतका आधारमा भयो, सहमतिका आधारमा होइन । केन्द्रीय कमिटी बनाएर कार्यविभाजन हुँदा विधान र सहमतिको उल्लंघन भयो भनी माधव नेपालले फरक मत राख्नुभएकै हो ।

पार्टीमा बैठकको माग गर्ने अधिकार प्रत्येक सदस्यसँग छ । बैठक माग गर्न जाँदा आरोप लगाएर तोक लगाउँदै १० पेजको पत्र लेख्ने काम पनि केपी ओलीबाट भयो । बैठकमा बसेर अरुलाई आफ्ना कुरामा मनाउन नसक्ने, बैठकमै नजाने, प्रचण्डको प्रस्तावमा छलफल गर्दिनँ भन्नेले आफैँ सहभागी भएर लिखित धारणा राखिसक्नुभएको छ । लिखित धारणा राखेपछि सहभागी भइसकेको मानिन्छ ।

प्रश्न उठ्छ, छलफल गर्दिनँ भन्नेले किन ३८ पेजको जवाफ लेखेको ? त्यसमा प्रचण्डको प्रस्तावलाई ‘खारेज गरेँ’ भनिएको छ । प्रश्न गरिँदैछ, बहुमतको पत्र खारेज गर्ने अधिकार एक्लो व्यक्तिसँग हुन्छ ?

विधानको ११८ (झ) मा अध्यक्षले आफ्नो तर्फबाट विचार राख्ने, प्रस्ताव राख्ने भनिएको छ । संयुक्त रुपमा भनिएको छैन । केन्द्रीय कमिटी र पोलिट्व्युरोमा आफ्नो तर्फबाट, महाधिवेशनमा केन्द्रीय कमिटीको तर्फबाट विचार राख्न पाइन्छ । अर्थात्, प्रस्ताव ल्याउन पाइँदैन भन्ने दाबी नै विधानविपरीत भएको एक केन्द्रीय सदस्य बताउँछन् । ‘स्वीकार गर्ने कि अस्वीकार गर्ने अधिकार कमिटीको हो,’ ती केन्द्रीय सदस्यले भने, ‘यो जनयुद्धताका माओवादीले बोल्ने निषेधको भाषा हो । हिजोको निरंकुश व्यवस्थामा हुकुम प्रमांगी गर्ने महाराजहरुले पनि खारेज भन्दैन थे !’

अब प्रचण्डले लगाएका आरोप ठीक छन् भन्ने कुरालाई स्थायी कमिटीले अनुमोदन ग¥यो भने पार्टीले त्यो प्रस्ताव बोक्नैपर्ने स्थिति आएको छ । पाँच नेता एक ठाउँमा उभिँदा प्रचण्डको दस्तावेज पारित पनि हुन्छ । किनभने, स्थायी कमिटी ४४ सदस्यीय छ । त्यसमा अग्नी सापकोटाको पद सभामुख भएका कारण खालि छ । अन्तिममा केपीसँग उभिने धेरैमा १२ जना छन् । ती हुन्, स्वयं केपी ओली, शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ, ईश्वर पोखरेल, विष्णु रिमाल, प्रदीप ज्ञवाली, छविलाल विश्वकर्मा, सत्यनारायण मण्डल, रघुवीर महासेठ, विष्णु पौडेल । स्थायी कमिटीमा पूर्वमाओवादीका १८ मध्ये मणि थापा केपीतिर खुल्ने सम्भावना छ । पूर्वएमालेका २६ मध्ये १२ जना केपीमा गए भने पनि १४ माधव पक्षमा रहन्छन् ।

केन्द्रीय कमिटी ४ सय ५० सदस्यीय त बन्यो तर राजदूत भएका, मृत्यु हुनेको संख्या काट्दा ४ सय ४०–४२ जना छन् । त्यसमा १ सय ११ जना माधव नेपालका खाँट्टी मान्छे हुन् । २ सय पूर्वमाओवादी छन् । पछि पार्टीमा फर्किएका देवेन्द्र पराजुलीहरु प्रचण्डलाई समर्थन गर्नेमा छन् । वामदेवसँग खुलेर देखिएकामा बलराम बाँस्कोटा, सावित्रा भुषाल, भूपेन्द्र थापा (म्याग्दी), लालबहादुर थापा (बाजुरा), गणेश ठगुन्ना (दार्चुला), जगदिशप्रसाद कुसियैत (सुनसरी), भैरव सिंह (बझाङ), महेश्वर पाठक (कैलाली), दलबहादुर राना (पाल्पा), केशवलाल श्रेष्ठ (चितवन) हुन् ।

टिप्पणीहरू