सेनापति हेलिकोप्टरमा फनफनी « Jana Aastha News Online
Logo
१३ माघ २०७८, बिहीबार
|  Thu Jan 27 2022
Logo
१३ माघ २०७८, बिहीबार
|  Thu Jan 27 2022

सेनापति हेलिकोप्टरमा फनफनी

प्रकाशित मिति :  २७ मंसिर २०७७, शनिबार १९:५०


प्रधानसेनापति पूर्णचन्द्र थापा

सेनापति पूर्णचन्द्र थापा मध्य पश्चिम र सुदूर पश्चिम पृतनाअन्तर्गतका सबैजसो गण र गुल्महरूको निरिक्षण गरेर फर्केका छन् । थापा हेलिकप्टर लिई एक रात सुर्खेत र एक रात धनगढी बसेर तीन दिनमा राजधानी फर्केका हुन् । हाल नेपालगञ्ज र धनगढीमा निर्माणाधीन सैनिक अस्पतालको निरीक्षण गर्न जाने क्रममा उक्त काम फत्ये गरिएको नागरिक उड्डयन प्राधिकरण स्रोतले बताएको छ । सेनाले भने यसपटकको भ्रमणलाई ‘वेलफेयर फोकस्ड् भिजिट’ बताएको छ ।

सबैजसो सेनापतिले कार्यकालको अन्तिम वर्ष अघिल्ला वर्षहरूमा दिइएको निर्देशनको कार्य प्रगति बुझ्न निरीक्षण गर्ने परम्परा छ । अब फेरि दुई तीन हप्ताको अन्तरमा यस्तो भ्रमण पूर्वतिरका अन्य गण र गुल्ममा समेत हुने बताइन्छ । थापाको बाँकी आठ महिनाको अवधि यसैगरी फलोअप भ्रमण हुने सैनिक सचिवालय स्रोतले बताएको हो ।

यता, लामो समयदेखि प्रधानमन्त्री कार्यालयबाट पनि भेटघाटको लागि सेनापतिलाई बोलावट नआएको बुझिएको छ । नेकपाभित्र अन्तरविरोधको चेपुवामा पर्नुभएकोले प्रधानमन्त्रीबाट बोलावट नआएको हुनसक्ने सैनिक स्रोतले अड्कल लगाएको छ । यसअघि नियमितको अलावा कहिलेकाँही रन्किँदै केही सोधपुछ गर्न वा कहिलेकाँही बिरोधी तर्साउन पनि बालुवाटारबाट सेनापतिलाई बोलावट हुने गरेको थियोे ।

हालै सम्पन्न भारतीय स्थल सेनाध्यक्ष र चिनियाँ रक्षामन्त्रीको भ्रमणको क्रममा प्राप्त आर्थिक तथा प्राविधिक सहयोगको आश्वासनपछि सेना निकै नै आशावादी रहेपनि हालसम्म उताबाट उक्त आश्वासनसम्बन्धी प्रक्रियाको कुनै ग्रिन सिग्नल आएको छैन ।

सेनापतिको रोलक्रममा रहेका जर्नेल प्रभुराम शर्माको लाइन पनि अब लगभग सोझिएको बताइन्छ । प्रायः सबै बैठक वा राष्ट्रपति कार्यालयमा हुने विदेशी राजदूतहरूको ओहोदाको प्रमाणपत्र पेश गर्नेलगायतका उच्च कार्यक्रमहरूमा समेत सेनापतिले शर्मालाई नै लैजाने गरेको देखिन्छ । यी सबै गतिविधिले आगामी सेनापतिको लाइनमा प्रभुराम नै रहेको स्पष्ट हुँदै गएको छ । सेनामा एक वर्षदेखि सेकेण्ड म्यानलाई बोकेर सबैतिर हिँड्ने प्रचलन रहेको बताइन्छ । शाही शासनकालमा र अन्य एकाध बेलामा शक्तिको मात चढेका जर्नेलहरूले बाहेक त्यो परम्परालाई सेनाले कायम राख्दै आएको स्रोतको दाबी छ ।


प्रतिक्रिया दिनुहोस !