ट्याक्सीमा किन लाग्छ मान्छेको ताँती

ट्याक्सीमा किन लाग्छ मान्छेको ताँती

मान्छेका इच्छा, आकांक्षा र चाहना पनि अजीवका हुन्छन् । एकथरि मान्छेको इच्छा हुन्छ, धन कमाउनु, श्रीमती र सन्तानको इच्छा परिपूर्ति गर्नु । तर, यही शहरका तमाम मान्छेको भीडमा फरक मान्छे हुँ म अर्थात् प्रेमबहादुर थापा (४५ वर्ष) ।

काभ्रेपलाञ्चोकमा जन्मिएँ पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाको निर्वाचन क्षेत्र । एक दिदी, एक बहिनी, बीचको म । बालकैमा बुवा बुत्नुभएपछि सिंगो परिवार हेर्नुपर्ने जिम्मेवारी आइलाग्यो काँधमा । औपचारिक शिक्षा धेरै पढ्न सकिएन । ०२९ सालमा सिमथलीमा स्कुल स्थापना भएको । कक्षा १ मा प्रथम भएँ । वार्षिक ६ मुरी धान, मकै जग्गा मालिकलाई बुझाउनुपथ्र्याे । बचेको अनाज हामीले पाउँथ्यौं । ०३९ सालमा साहुलाई कुत बुझाउन गाउँबाट सद्दे शहर छिर्नुभएको बुवा काठमाडौंमा साहुकै घरमा बित्नुभयो । मेरो काजकर्म (व्रतबन्ध) गरिएको थिएन । बुवाको किरिया माइला बुवाले गर्नुहुने भयो– बदलामा एउटा जग्गा र खेत दिनुपर्ने । आफ्नै जग्गाको कमाइले ६ महिना पनि खान पुग्दैनथ्यो । भएको बारी र खेत पनि माइला बुवालाई बुझाउनुपर्ने भयो । बुवा बितेपछि थाहा भयो झण्डै १६ हजार ऋण रहेछ । किरिया सकिएको १३ दिनमा आँगनमा मान्छेको भीड लाग्यो । कोही घरखेत खान्छु भन्दै आए, कोही हल गोरु फुकाएर लान्छु भन्नेहरू थिए । तर, दैव भएर निस्किएका अगुवा कान्छो खड्गाले हाम्रो पक्षमा बोलिदिए– यो केटा बच्चै छ । १८ वर्ष भएपछि कमाउँछ, सबैको ऋण तिरिदिन्छ । अहिले कसैले पनि घरखेत खाने कुरा नगर ।

भन्छन् नि, रूखमुनिको बाली र ऋण लागेको छोरा कहिल्यै उँभो लाग्दैन । बच्चै थिएँ । तैपनि, धेरै कुरा बुझ्थेँ– सबैभन्दा बढी त आमाको आँखाबाट अविरल निस्किरहने आँसुलाई पढेर । साहुहरूको ऋण तिर्नका लागि घरबाट भागेर बनेपा पुगें । होटलमा २ महिना काम गरेँ । धेरथोर पैसा जम्मा गरेर घरमा आवश्यक सामान, अन्न–अनाज किनें र फेरि काठमाडौंको पुरानो बानेश्वर पुगें काम खोज्दै । होटलबाट भागेर हिँडेको मान्छे फेरि होटलमै पुगेर ठोक्किएँ । त्यहाँ काम गर्दै गर्दा भेटिए मनकारी ड्राइभर पदम श्रेष्ठ । उनले ट्र्याक्टरमा काम दिए । लोड÷अनलोडको काम गर्दै २ वर्षभित्र ट्र्याक्टर चलाउन सिकें । र, ०४८ सालमा लाइसेन्स निकालँे । ०४९ देखि ५३ सम्म ट्र्याक्टर चलाएँ । पुरानो ऋण सबै चुक्ता गरँे । ०५३ देखि ०५७ सम्म अरूकै ट्याम्पो चलाएँ । बीचमा मिटरवाला ट्याम्पो किनेँ र चलाएँ ०६० सालसम्म । ०६० साल भदौ २२ बाट सरकारले मिटरवाला ट्याम्पो हटायो । अनि चलाउन थालँे ट्याक्सी । झण्डै ५ वर्षसम्म ट्याक्सी चलाएर आफैं ट्याक्सी व्यवसायी भएँ । यो बीचमा मसँग ५ वटा ट्याक्सी थिए । ०६९ सालसम्म आइपुग्दा यो व्यवसाय चटक्क छाडें । यातायात व्यवसायीको दादागिरी, सिण्डिकेट, रोड खरिद बिक्रीको विषय मैले जति नजिकबाट अरूले कमै देखे÷बुझेका छन् भन्ने महसुस गरी यातायात व्यवसायीको दादागिरीविरुद्ध आवाज उठाउन थालँे ०६९ सालदेखि । झण्डै ८ वर्ष भयो । अहिले कुनै काम छैन ।

एउटा माइक्लियर ब्यागमा विभिन्न डकुमेन्ट बोक्छु । भक्तपुरदेखि सिंहदरबारस्थित विभिन्न मन्त्रालय, यातायात व्यवस्था विभाग, अख्तियारलगायत सरोकारवाला निकायमा पुग्छु । हाकिमहरूलाई भेट्छु र यातायात व्यवसायीको ठगी, सिण्डिकेटका विषयमा अवगत गराउँछु ।

परिवारको खम्बा नै यसरी हल्लिएर हिँडेको कसलाई मन पर्ला र ? श्रीमती, छोराछोरी चाहन्छन् बुवाले कमाएर ल्याओस्, काठमाडौंमा आफ्नै घर बनाओस् । मुखै खोलेर भन्छन् तपाईंका कारण हामीलाई धेरै दुःख भयो । कोठाभाडा, राशन पानीमा खर्च त छँदै छ । तपाईंलाई पनि दैनिक खर्च दिनुप¥यो । यातायात व्यवसायीका अगाडि सरकार त डराउँछ, तपाईं एक्लैले बोलेर के हुन्छ ? भोलि मार्लान् यातायात व्यवसायीले । तर, सुन्दिनँ म अरूको कुरा । आफ्नै अन्तरमनको आवाजले भन्छ– मैले नबोले कसले बोल्छ ?

श्रीमती अरूको घरमा काम गर्छिन् । छोराछोरी निजी अफिसमा काम गर्छन् । उनीहरूकै आम्दानीले जेनतेन घर धानिएको छ । उनीहरूले गाडी चढ्ने भाडा दिन्छन्, त्यही रकमले दैनिक ओहोर–दोहोर गर्छु भक्तपुरदेखि सिंहदरबार, बानेश्वरसम्म ।

जतिखेर म यो मुभमेन्टमा लागें । त्यतिखेर भौतिक पूर्वाधार तथा यातायातमन्त्री थिए हृदयेश त्रिपाठी । उनको कार्यालयमा दिनभर धर्ना दिँदा भेट्ने अवसर मिल्यो । यातायात क्षेत्रको ठगीबारे प्रकाश पारें तथ्यहरूसहित । यातायात समिति खारेज गरेर कम्पनीमा लैजानु, २० वर्ष पुराना सवारी साधन हटाउनुप¥यो, देशभरको रोड यातायात व्यवसायीको कब्जामा छ, ०५७ सालदेखि ट्याक्सीको दर्ता खोलेको छैन, खोल्नुप¥यो भन्ने माग राखें । उनले जवाफ फर्काए यातायात क्षेत्रमा सरकारको एक रुपैयाँ लगानी छैन । त्यही कारण यी काम गर्न सक्दिनँ । आज काम सुचारु गरौँला, भोलि नै यातायात व्यवसायी घुँडा टेकाउन आउँछन् ।

सिंहदरबारमा यसपछि धेरै यातायातमन्त्री फेरिए, सचिव र अन्य कर्मचारी बदलिए । यातायात व्यवस्था विभागमा पनि धेरै हाकिम बदलिए । नयाँ आएका मन्त्री, सचिव, डिजी सबैलाई भेटें । तिनलाई भेटेर कतै जागिर खानु थिएन । न त छोराछोरीलाई कतै जागिर खुवाइदिनुप¥यो नै भन्न गएको थिएँ । केही स्वार्थ थियो भने देश र जनताको हितमा । यसरी तारन्तार आवाज उठाउँदा केही सुधार हुन थाल्यो ०७१ भदौ २६ मा क्याबिनेटले २० वर्ष गाडी हटाउने निर्णय भयो । फागुन १८ मा राजपत्रमा प्रकाशन भयो र ०७४ सालमा देशभर पुराना सवारी विस्थापित भएको घोषणा गरियो तर अझै पनि सडकमा २२ वर्षे पुराना र थोत्रा गाडी गुडिरहेको छ । ६४१ माइक्रो, ३ सय ग्यास ट्याम्पो, ट्याक्सी र बस गुडिरहेको छ । मन्त्री, सचिव र सरकारभन्दा यातायात व्यवसायी जब्बर छन् र त मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन भइरहेको छैन । ०५७ सालयता नयाँ ट्याक्सीको दर्ता बन्द थियो । त्यतिखेर ७ हजार ५ सय ट्याक्सी दर्ता भएकोमा ५६५० पेट्रोल र बाँकी डिजेलबाट । डिजेलबाट चल्ने बन्द भयो । मेरो एउटै आवाज थियो नयाँ ट्याक्सी दर्ता खोल्नुप¥यो । ट्याक्सी चढ्नेबित्तिकै उपभोक्तासँग १४ रुपैयाँ डामिन्छ । त्यो खारेज गरी शून्यबाट चल्ने व्यवस्था गर्नुप¥यो । प्रत्येक किमिमा ३९ हानिन्छ त्यसलाई घटाउनुप¥यो । तर, सरकार सुन्दैन । यातायात व्यवस्था विभागले नयाँ खोल्न दिँदैन, नयाँ व्यवसायीलाई छिर्न दिइन्नँ । ०७२ जेठ २८ मा १८५० नयाँ ट्याक्सी खुल्यो । १५,७५१ जनाले फर्म बुझाए । भूकम्पपछि ०७२ चैतमा रातो कार्ड भएका (भूकम्पपीडित परिचयपत्र) १५०० पीडितलाई ट्याक्सी दिने भनियो । एक महिनामा १ लाख ४९ हजार ५ सय ५८ ले फर्म बुझाए । ट्याक्सीमा आम्दानी कस्तो छ भन्ने यसले दर्शाउँछ ।

चर्चा त गरियो पूर्वमन्त्री रघुवीर महासेठ महाभ्रष्ट भनेर तर वर्षांैदेखि यातायात व्यवसायीको सिण्डिकेट तोड्न हिम्मत ग¥यो कसले ? यातायातमा व्यवसायीको झण्डै १५ खर्ब लगानी छ तर नेपालमा एउटा यो मात्र क्षेत्र होला दर्ता गरेर कहीँ कतै कर तिर्नु नपर्ने । राज्यलाई कमजोर बनाएको अवस्था हो यो । ७४ मंसिरमा तत्कालीन डिजी रूपनारायणले पेश गरेको प्रस्ताव पूर्वमन्त्री बलायरले दराजमा थन्क्याएका थिए । त्यो थन्क्याएको प्रस्ताव खोलेर ०७४ चैत १८ मा मन्त्रिस्तरीय निर्णय गर्ने रघुवीर हुन् । ०७५ वैशाख ४ को मन्त्रिपरिषद् बैठकले ०३४ ऐनअनुसार दर्ता भएका सबै यातायात समिति खारेज ग¥यो र कम्पनीमा दर्ता हुनुपर्ने अड्डी कस्यो । यातायात व्यवसायी आन्दोलनमा उत्रिए । सरकार झुकेन । २४ वैशाखमा ५ वटा गाडी हुने साहुले कम्पनीमा १ वटा गाडी हुने घरेलुमा गएर दर्ता गर्नुपर्ने निर्णय भएको छ । २४५ वटा यातायात समितिको सम्पत्ति रोक्का गरियो । यो एक्सन लिने रघुवीर नै हुन् । यातायात व्यवसायीसँग पंग्गा लिएकै कारण उनको पद खुस्कियो । कुमार दाहालहरू यातायातको डिजीबाट लखेटिए ।

पहिलाभन्दा यातायात क्षेत्रमा धेरै सुधार भएको छ । यसरी तारन्तार आवाज उठाउँदा यो काम छोड, होइन भने हात खुट्टा भाँचिदिन्छु भनेर धेरैले धम्की दिए । यातायात व्यवसायीलाई आफ्नो व्यवसाय सिद्धिने भयो भन्ने डर छ । यो आवाज बोकेर विभिन्न ठाउँमा जाँदा तँ एक्लो व्यक्तिको कुरा सुनेर के काम भन्थे कोही त । केही उपभोक्तावादी ज्योति बानियाँ, प्रेमलाल महर्जनकहाँ जा भन्थे । तर, मैले नेता बन्न यो आवाज उठाएको होइन । कुनै संघसंस्थामा लागिनँ । हजारौं तारा छन् आकाशमा तर तिनका अघि एक्लो चन्द्रमाको प्रकाशले रोशनी छरेर अन्धकार चिरिरहेको हुन्छ । आवाज उठाउनका लागि संघसंस्था नै चाहिन्छ भन्ने तर्क मान्दिन र सहमत पनि छैन ।

– प्रेमबहादुर थापा, अभियन्ता

टिप्पणीहरू