मिस नेपालहरू कुन दुनियाँमा मस्त ?

मिस नेपालहरू कुन दुनियाँमा मस्त ?

नेपाललाई विश्वभर चिनाउने वाचा गरी सुन्दरीको ताज पहिरिएकाहरू अहिले आफैं गुमनाम छन् । कोही रंगीन दुनिँयाबाट हराएर व्यवसायमा रमाइरहेका छन् त कोही विदेश भासिएका छन् । कोहीचाहिँ सञ्चार क्षेत्रमा छन् ।

हालसम्म ‘हिडन ट्रेजर’ (मिस नेपाल आयोजक) ले २५ नेपाल सुन्दरी जन्माएकोमध्ये अधिकांश झिलिक्क उदाएर क्षणभरमै गुमनाम बनेका देखिन्छन् । केही मात्र छन् रंगीन दुनियाँमा संघर्ष गरिरहेका । जस्तो माल्भिका सुब्बा, मलिना जोशी, सुगारीका केसीहरू सञ्चारको दुनियाँमा, रुबी राणा, उषा खड्गीहरू व्यवसायमा । केही ब्राण्ड एम्बासडर बनेर विज्ञापनमा झल्याकझुलुक देखिन्छन् । अधिकांशचाहिँ विदेश भासिएका छन् ।

०५१ सालका मिस नेपाल रुबी राणा शाह । चलचित्रदेखि मोडलिङमा जम्ने प्रयास गरिन् । अहिले कुपण्डोलमा ‘रुबीज कलेक्सन’ चलाएर बसेकी छन् । रुबीपछि सुमी खड्काले नेपाल सुन्दरीको ताज पहिरिइन् । रुबीझैं सुमी पनि टिकिनन् । एयरहोस्टेसको जागिर खान पुगिन् । तेस्रो मिस नेपालको ताज पहिरिइन् पुनम घिमिरेले । उनी अमेरिकातिर भासिइन् । १५ वर्षपछि स्वदेश फर्किएर अहिले व्यवसायमा छन् । पोखराकी निलिमा गुरुङ त्यसपछिका मिस नेपाल । म्युजिक भिडियो र मोडलिङमा जम्ने प्रयास असफल भएपछि बेलायततिर भासिइन् । ०५४ सालमा नेपाल सुन्दरीको ताज पहिरिएकी झरनाको हाल पनि उही हो । रंगीन दुनियाँमा सफलता पाए पनि प्रेममा झेल्नुपरेको असफलताका कारण उनी पनि पूर्व मिस नेपालझैं विदेशतिरै अल्झिरहेकी छन् । ज्योति प्रधान पनि पुनम घिमिरेझैं अमेरिका गइन् । मनोविज्ञानमा स्नातकोत्तर गरेकी श्वेता सिंहले आइपिडी नामक संस्था चलाएर बसिन् । त्यहाँ पूर्व मिस नेपाल प्रीति सिटौलासमेत जोडिन पुगिन् ।

०५७ सालमा नेपाल सुन्दरी बनेकी उषा खड्गी फेसन डिजाइनरको रूपमा सक्रिय छिन् । माल्भिका सुब्बा टेलिभिजनतिर जमेकी छन् । प्रीति सिटौला टेलिभिजनमा काम गरेर जम्न सकिनन् । पायल शाक्य अष्ट्रेलिया पुगिन् । सुगरिका केसी आरजेको रूपमा जमिन् । सिताष्मा चन्द मिस नेपाल बनेपछि अस्ट्रेलियालीसँग विवाह गरेर उतै भूमिगत भइन् । ६६ सालकी मिस नेपाल जेनिशा मोक्तान दीपक मलहोत्रा पुत्र दिकेशसँग लगनगाँठो कसेपछि अहिले व्यापारिक संसारमा हराइरहेकी छन् । सदीक्षा श्रेष्ठ केही वर्ष विज्ञापनमा देखिइन् । ६८ का मिस नेपाल मलिना जोशी केही सिनेमामा देखिइन् । अहिले रंगीन दुनियाँभन्दा पर छिन् । ६९ को नेपाल सुन्दरी सृृष्टि श्रेष्ठले केही सिनेमामा काम गरिन् तर अधिकांश सिनेमा फ्लप भएपछि उनी पनि रंगीन दुनियाँबाट हराइन् ।

०७० की नेपाल सुन्दरी इशानी श्रेष्ठ दन्तरोग विशेषज्ञ । अहिले सामाजिक काममा सक्रिय छन् । इभाना मानन्धरले सीई कन्स्ट्रक्सनमा बजार प्रवद्र्धनको काममा पितालाई सघाइन् । सुबिन लिम्बू, अश्मि श्रेष्ठ सबै मिस नेपाल गुमनाम छन् । ०७४ की मिस नेपाल निकिता चण्डकले रानीमहल, साङ्लो चलचित्रमा काम गरिन् । दुवै फ्लप । कम्युनिष्ट बाबुआमा विरोध खतिवडा र मनु सिग्देलपुत्री शृंखला त्यसपछिको नेपाल सुन्दरी । यस वर्ष ०७७ सालको नेपाल सुन्दरीको ताज नम्रता श्रेष्ठले पहिरिँदा धेरै झुक्किए नायिका नम्रता हुन् कि भनेर । हेर्न बाँकी छ शृंखला, नम्रताहरू यो रंगीन दुनियाँको चमकधमकमा कतिन्जेल टिक्छन् वा पूर्व मिस नेपालझैं हराउँछन् ।

टिप्पणीहरू