काँग्रेसको के छ तयारी ?

काँग्रेसको के छ तयारी ?

काँग्रेस केन्द्रीय समितिको निर्देशनमा काठमाडौं जिल्ला कार्यसमितिले पर्सि सोमबार राजधानीमा बृहत बिरोध प्रदर्शन गर्ने भएको छ । काठमाडौं काँग्रेसको शुक्रबार बसेको बैठकले सरकारको सर्वसत्तावादी कार्यशैलिको बिरोधको नाममा उक्त प्रदर्शन गर्न लागेको बताएको छ ।

बिरोध प्रदर्शनको लागि काँग्रेसले राजधानीका पाँच स्थानबाट जुलुस गरेर दिउँसो १ बजे शान्ति बाटिका,रत्नपार्कमा भेला हुने कार्यक्रम तय गरेको हो । प्रकाशित कार्यक्रमअनुसार निर्वाचन क्षेत्र नं.१ को जुलुश भृकुटीमण्डपमा जम्मा भएर रत्नपार्क जानेछ भने क्षेत्र नं.२,३ र ४ को जुलुश पुतलीसडक चोकमा जम्मा भई बागबजार हुँदै रत्नपार्क जाने छ । त्यसैगरी,क्षेत्र नं. ५,६ र ७ को जुलुश लैनचौरमा जम्मा भएर,क्षेत्र नं. ८ को वसन्तपुरमा जम्मा भएर र क्षेत्र नं. ९ र १० को जुलुश शहीदगेटमा जम्मा भएर रत्नपार्क पुग्नेछ ।

यसैबीच नेपाल विद्यार्थी संघले काँग्रेसको पूर्वघोषित २९ गतेको बिरोध कार्यक्रमलाई सफल पार्न ७ वटै प्रदेशमा आफ्ना पदाधिकारीहरूलाई नेतृत्व तथा समन्वयकर्ताको जिम्मेवारी दिएर खटाउने निर्णय गरेको छ । निर्णयअनुसार प्रदेश नं.१ मा उपाध्यक्ष तुलसा पन्त,२ मा महामन्त्री बलदेव तिमिल्सिना,बागमती प्रदेशमा महामन्त्री मनोज वैद्य,गण्डकीमा महामन्त्री दिपक भट्टराई,लुम्बिनीमा उपाध्यक्ष मुक्तिराज पौडेल, कर्णालीमा महामन्त्री उर्मिला थपलिया र सुदूर पश्चिम प्रदेशमा महामन्त्री महेश्वरी कुँवरलाई खटाइएको छ ।

त्यसैगरी, संघले २७ गते दिउँसो १ बजे पशुपति क्याम्पस, चाबहिलमा उपत्यकास्तरीय अगुवा कार्यकर्ता भेलाको आयोजना गरेको छ भने २८ गते अपरान्ह ४ बजे देशका सबै प्रमुख शहरहरूमा प्रचारात्मक सिठी जुलुस र २९ गते सबै जिल्ला सदरमुकाममा हुने बिरोध कार्यक्रममा सहभागिता जनाउन आफ्ना कार्यकर्तालाई निर्देशन दिएको छ ।

टिप्पणीहरू