रिमा विश्वकर्मा: एक वौद्धिक नायिका

रिमा विश्वकर्मा: एक वौद्धिक नायिका

लक्ष्मी काफ्ले

पत्रकारिता छाडेपछि एक वर्षयता म खुबै अध्ययनशील भएको छु । अन्तरवार्ताहरु हेर्छु, पुस्तकहरु पढ्छु । साहित्य सिर्जनाहरु सुन्छु । पत्रकारितामा छँदा निर्लिप्त यतातिर लाग्ने फुर्सद थिएन । अहिले फुर्सदिलो छु ।

कपील शर्माको कमेडी नाइट्स, मुन्द्रेको कमेडी क्लब, अच्युत घिमिरे बुलबुलको श्रुती सम्वेग, टीकाराम यात्रीको तमसोमा ज्योतिर्गमय लगायत कार्यक्रम नछुटाइ हेर्छु । विद्या चापागाईंको हेर्ने कथा पस्कने शैली असाध्यै मन पर्छ । डील्ली, पुण्य, मुकुन्देहरुका पछि कुद्ने युट्युवरहरुले हेर्ने कथाबाट केही सिकून् ।

आज उल्लेख गर्न खोजेको विषय चाहिँ अलिक फरक छ । अन्तरवार्तामा आउने अतिथिअनुसार मात्र म ऋषि धमलाका ‘टक–सो’हरु हेर्ने गर्छु । ऋषि धमला मलाई मन पर्ने अन्तरवार्ताकार होइनन् । उनको प्रश्न सोध्ने ढंग र ढिपी देख्दै म दिक्क हुन्छु र टिभी बन्द गर्छु ।

उनका कतिपय प्रश्नहरु सुन्दा उनी वर्षौं पुराना अन्तरवार्ताकार हुन् भन्न गाह्रो हुन्छ । पहिलो प्रश्नबाटै हमला गर्न त थाल्छन्, तर उत्तर दिनै पाउँदैन अतिथिले । धमला र्‍याखर्‍याख्ती पार्छन् । अतिथि अलमल्ल पर्छ । बोलौँ भने जवाफ टुङ्ग्याउनै पाइँदैन । नबोलौँ भने प्रश्नको वर्षा । तर, उनका कार्यक्रममा कोही अतिथि यस्ता पनि आउँछन्, जसका अगाडि धमला आफैँ कमजोर बन्छन् ।

केही दिनअघि नायिका रिमा विश्वकर्मा ऋषिको कार्यक्रम जनता जान्न चाहन्छन्मा पुगिन् । मैले धन्न त्यो कार्यक्रम हेरेँछु । त्यस कार्यक्रमपछि पक्कै रिमाका हजारौँ ‘फ्यान’हरु थपिए । ती हजारौँभित्र म पनि एक परेँ ।

हामीलाई थाहा छ अहिलेका अधिकांश सेलिब्रेटीहरु बोल्न जान्दैनन् । अभिनय गर्नु र गीतमा आवाज दिनु मात्र उनीहरुको संसार होइन । त्योबाहेक बाहिर पनि एउटा दुनियाँ छ । जहाँ उनीहरु जोडिनै पर्छ । उनीहरुका कैयौँ ‘फ्यान’ हुन्छन् । सर्वसाधारणले नियाल्छन् । मिडियाले हेरिरहेको हुन्छ । कोसँग कसरी बोल्ने, मिडिया कसरी फेस गर्ने भन्ने ज्ञान सेलिब्रेटीमा कम छ । परिपक्वतामा कमी, केटाकेटीपन बढी छ । त्यसैले त दीपाश्रीदेखि वर्षासम्म, आस्थादेखि दुर्गेशसम्म विवादमा आउँछन् ।

तर, रिमा विश्वकर्माजस्ती क्षमतावान कलाकार पनि नेपालले जन्माएको रहेछ । रिमाले साह्रै मजाले धमलाका प्रश्नहरुको सामना गरिन् । मलगायत धेरैका नजरमा ती ‘प्रश्न’हरु प्रश्न नै थिएनन् । तर, रिमाले धमलाका हरेक वाक्यहरुलाई फिक्का सावित हुनेगरी गहकिला जवाफ दिइन् । हरेक ‘प्रश्न’को सुझबुझपूर्ण जवाफ दिइन् । कुनै बेला पनि उनी रिसाइनन्, दिक्क भइनन् । कतै पनि उनी अपरिपक्व देखिइनन् ।

२७ मिनेटको अन्तरवार्तामा उनलाई धमलाले होइन, धमलालाई उनले बौद्धिक ढंगबाट हमला गरिरहिन् । धमलाका हल्काफुल्का जिज्ञासाहरुको ओजनिलो जवाफ दिइन् । रिमाको बौद्धिकताका अगाडि धमलाका ‘प्रश्न’हरु फिक्का भए । बौद्धिकस्तरका अन्तरवार्ताकारहरुले एकपटक रिमालाई बोलाएर एकघण्टा बहस् गरुन् । मलाई हेर्न मन छ । उनका पुस्ताका सेलिब्रेटीमा यति बौद्धिक सायदै कोही होलान् ।

नायिका केकी अधिकारीकी मिल्ने साथी हुन्, रिमा । केकी–रिमाहरुले गत वर्षबाट कमेडी च्याम्पियन सञ्चालन गर्दैछन् । त्यसअघि रिमा नेपाल आइडलकी ‘होस्ट’ थिइन् । अभिनय, समाचार वाचन, कार्यक्रम सञ्चालन लगायत कैयौँ क्षेत्रमा रिमा अब्बल छिन् । इमान्दारिता र मिठो बोल्ने शैलीकै कारण उनले लाखौँ शुभचिन्तक पाएकी छिन् । उनी हरेक प्रश्नको उत्तर दिन जरुरी ठान्दिनन् । तर, उनको जवाफ कहिल्यै कमजोर चाहिँ हुँदैन ।

अति लोकप्रिय बन्दै गएकी अध्ययनशील नायिका रिमा काम गरेर कहिल्यै अघाउँदिनन् । कामलाई नै माया गर्छिन् । ऋषि धमलाकै अन्तरवार्ताको प्रशंगमा जाऔँ पुनः एकपटक । धमला रिमालाई विवाह, प्रेम र राजनीतिका प्रश्न गर्छन् । रिमालाई यी तीन कुरामै अहिले चासो छैन । राजनीति त झन उनको क्षेत्र नै होइन । तर, कुनै प्रश्नमा उनले कमजोर जवाफ भने दिइनन् । ‘राजनीति के कारण बिग्रियो ? प्रधानमन्त्री, प्रचण्ड, देउवा कस्को कारण राजनीति बिग्रियो ? तपाई कुन पार्टीमा जान चाहनुहुन्छ ? नेकपा, कांग्रेस, राप्रपा या अरु कुनै ?’ एउटी नायिकासँग यस्ता प्रश्नमा धमला अल्झिरहन्छन् । जवाफ दिन दवाव दिन्छन् । यद्यपि, रिमाका हरेक जवाफ तर्कपूर्ण र सुन्दर छन् ।

अन्तरवार्ताको तल गएर दर्शकका प्रतिक्रिया पनि पढेँ । अनि निकै सन्तुष्टी मिल्यो । अन्तरवार्ता हेर्नेहरुले रिमालाई चिनिसकेका थिए । उनको क्षमता देखिसकेका थिए । बौद्धिक नायिका मानिसकेका थिए । र, प्रश्नकर्तालाई थोरै गाली पनि गर्दैथिए । एउटा प्रतिक्रिया थियो, ‘यस्ता बौद्धिक पात्रहरुसँग अलि अध्ययन गरेर मात्र अन्तरवार्ता लिनुपर्छ । रिमा एक बौद्धिक नायिका हो ।’

अन्य प्रतिक्रियाहरु यस्ता थिए–

‘रिमा विश्वकर्मा एक विवेकशील नायिका हुन् । उनको वौद्धिकतालाई हृदयदेखि सम्मान गर्छु ।’

‘प्रश्नको उत्तर दिने शैली निकै राम्रो लाग्यो । एक वौद्धिक व्यक्ति रिमा ।’

‘हरेक वस्तुस्थितिलाई तुरुन्तै तथ्यसहितको तर्कमा ढालेर सुहाउँदो टिप्पणी गर्ने अदभूत नारी ।’

‘रिमाजस्तो वौद्धिकताको प्रतीक नारी अझै जन्मिन जरुरी छ ।’

अन्त्यमा, म एक शुभचिन्तकका नाताले रिमाका हरेक कार्यमा सफलताको कामना गर्दछु । आफ्नो क्षेत्रमा रहेका अन्यलाई पनि आफूजस्तै असल बनाउन सक्नुहोला । विषयवस्तुको गहिराइसम्म पुगेर वहस गर्न सक्नेहरुसँग मात्र अन्तरवार्ता दिनुहोला । शुमकामना छ । आजलाई यति नै ।

टिप्पणीहरू