भ्रष्टाचारपछि इन्टरनेट सोसाइटी निलम्बित

भ्रष्टाचारपछि इन्टरनेट सोसाइटी निलम्बित

सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा काम गर्न स्थापित इण्टरनेट सोसाइटीको नेपाल च्याप्टर निलम्बनमा परेको छ ।

सबैका लागि सुरक्षित इन्टरनेट भन्ने मूल उद्देश्यका साथ अन्तर्राष्ट्रिय रुपमा काम गर्दै आएको र अमेरिकामा मुख्यालय भएको सोसाइटीको नेपाल च्याप्टरले विभिन्न कार्यक्रमहरुमा आर्थिक हिनामिना गरेको आरोप छ । सन् २००७ मा इन्टरनेट सोसाइटीको नेपाल च्याप्टर खुलेको थियो । बाहिरबाट आएको करिब रु. २ करोड कुन कार्यक्रमका खर्च भयो भन्ने विवरण अहिलेको समितिले दिन नसक्दा संस्था नै निलम्बनमा परेको संबद्ध सदस्यहरु बताउँछन् । संस्थाका कार्यवाहक अध्यक्ष रोमकान्त पाण्डे हुन ।

इन्टरनेट सोसाइटी नेपाल च्याप्टरका गतिविधिहरु स्पष्ट,पारदर्शी नदेखिएकोले छानविन गरी स्पष्टिकरणसमेत सोधिएको र त्यसमा पनि चित्तबुझ्दो जवाफ नआएपछि नेपाल च्याप्टर निलम्बनमा परेको इन्टरनेट सोसाइटी फाउण्डेसनकी ब्रिट्नी प्योवेसन र इन्टरनेट सोसाइटी एशिया प्यासिफिक मेनेजर आइस्या शाकिराह सुहैदीले इमेलमार्फत जानकारी दिएकी छन् ।

अन्तर्राष्ट्रिय इन्टरनेट सोसाइटीले हाल नेपालमा कुनै पनि किसिमको अनुदान,सहयोग उपलब्ध नगराउने, नेपाल च्याप्टर अध्यक्ष रोमकान्त पाण्डे समेतलाई निलम्बनमा राख्ने निर्णय गरी संस्थामा आवद्ध करीब १ सय जना सदस्यलाई अन्तरराष्ट्रियस्तरमै सदस्यता दिनका लागि पत्राचार समेत गरेको आवद्ध सदस्यहरुको भनाइ छ । यस्तो अवस्थामा सदस्यहरुको सदस्यता यथावत रहने छ भने सोसाइटीको नेपाल च्याप्टर रहने छैन ।

पदाधिकारीले बढी चलखेल गर्ने, अनुदान रकम व्यक्तिगत खातामा ट्रान्सफर गर्न लगाउने,फर्जी बील भर्पाइ गराउने जस्ता अनियमित कार्य गरेकै कारण अध्यक्ष सन्तोष सिग्देलले कार्यकाल पूरा नगरी राजिनामा दिएका थिए । उनको राजिनामापछि उपाध्यक्ष रोमकान्त पाण्डेलाई कार्यवाहक दिइएको हो ।

हाल एउटा शीर्षकमा मात्र अनुदान रकम करिव १७ हजार अमेरिकी डलर आएको र अन्य अनुदानहरुको खोजी नभएको बताइन्छ  ।

टिप्पणीहरू