कमरेडहरु मिल्नु किन जरुरी छ ?

कमरेडहरु मिल्नु किन जरुरी छ ?

– दयालबहादुर शाही

व्यक्तिलाई बहकिने छुट हुन्छ तर जन अनुमोदित सत्तारुढ दललाई यस्तो छुट हुँदैन । जब राजनीतिले लय गुमाउँछ तब तमाशा शुरु हुन्छ । पृथ्वीनारायण शाहलाई नेपाल एकीकरणको बेला सघाउने भाइभारदार, काजी, पंण्डित र सरदारहरूको उनको मृत्युपछि संहार हुनु, आफैले स्थापना गरेको कम्युनिष्ट पार्टीमा पुष्पलाल श्रेष्ठ सँधै घेराबन्दीमा पर्नु, बीपीको निधनपछि गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले कांग्रेस परित्याग गर्ने स्थिति आउनु राजनीतिले लय गुमाउनुका उदाहरण, परिणाम र चिन्हहरू थिए । जब राजनीतिक दल र यसको नेतृत्व दायित्वलाई भुलेर अवसरतिर मोडिने गर्छन् तब जनताको राजनीतिको प्रतापसूर्यमाथि खग्रास ग्रहण लाग्छ ।
ओलीको उठिबासमा होइन खुशीबासमा मात्र प्रचण्ड र गौतमलाई सबै चुनौती चिर्न सक्ने शक्ति र हैसियत प्राप्त हुनेछ ।

समय नै बलवान छ र सर्वश्रेष्ठ समीक्षक पनि हो । समयरूपी पानीसँग हेलिन सक्ने माछा धैर्य हो । धैर्यवीरले मात्र समयको नाडी छाम्न सक्छ । महाभारतका रचनाकार वेद व्यास पिता, माता र समाजबाट परित्यक्त भएर पनि निरन्तर आत्मउत्थान र लोककल्याणमा लागिरहे । कहिलै पिता पराशर ऋषि, माता सत्यवती, राज्य र समाजलाई सरापेनन् । पछि समय यस्तो आयो चारै वेदको उद्धार उनैले गरे ।

पृथ्वीमा पानी, अन्न र तर्कपूर्ण सर्वकालिक मीठो वचनको महावाणी तीन वटा मात्र रत्न छन् तर स्वाँठहरूले ढुंगाका टुव्रmाहरूलाई रत्नको नाम दिएका छन् । आचार्य चाणक्यले रत्न मानेको सुभाषित शब्दको अर्थ, औचित्य, टहल र रक्षा गर्नुपर्ने कठिन चुनौति नेकपाका अध्यक्षद्वय ओली, दाहाल र पार्टीएकताका सूत्रधार उपाध्यक्ष गौतमको त्रिमूर्तिसामु छ । लाभहानीको जरो उखेलेर जहाँ विचारको राजनीति स्थापित हुन्छ त्यहाँ हिरा र रत्नभन्दा वचन र वाणीको श्रेष्ठतामा जोड दिने चाणक्यको चेत निर्वाध रूपमा लागु हुन्छ । व्यक्ति वा शक्तिको नाश बाहिरबाट आएर कसैले गर्न सक्तैन । बरु पात्र स्वयं आफैले रक्षा गर्न नसकेका वचन र निर्वाह गर्न नसकेका कर्तव्यहरू उसमाथि भारी पर्ने गर्दछन् । नासिएको बचन र रक्षा गर्न नसकेको कर्तव्यले व्यक्तिलाई त्यसरी नै दग्ध पार्छन् जसरी घाइते पारिएको सर्पले फर्केर आएर डस्छ ।

के भनी पिरती लाइथिस्, के भनेर छाडिस् ? हतारमा बिबाह गरेर हतारमा सम्बन्ध बिच्छेद गर्ने आलाकाँचा ठिटाठिटीको प्रेम र बिच्छेद जस्तो समीकरणको निर्माण र विघटनले नेतृत्वमा रहेको जनताको विश्वास पनि विघटन गराउँछ । राजतन्त्र फ्याँकेर, कांग्रेसलाई किनारा पारेर, नेकपाभित्रकै जबरजस्त हस्ती माधवकुमार नेपाल र झलनाथ खनाललाई कुनातिर धकलेर जनताको अदालत र कार्यकर्ताको अदालतले ओली, प्रचण्ड र वामदेव गौतमको त्रिकोणलाई पत्याएको छ । शान्ति प्रक्रियालाई सघाउन आएको अनमिन नै द्वन्द्व चर्काएर रोजगार सृजना गर्नतिर लाग्ने देश हो नेपाल । प्राणीहरूको जीवन मेघको अधीनमा हुन्छ अनि देशको जीवन राजनेताको त्याग र विवेकको अधीनमा हुन्छ । यो दायित्वबाट च्यूत भएर लाभहानीको जोखना हेर्नु राष्ट्रिय आवारा हुनु हो र जनदण्डको पर्खाइमा बस्नु हो ।

भारतमा सत्तारुढ दल भाजपाका राजनाथ सिंह, नितिन गडकरी जस्ता हस्तीहरू मोदीको प्रतिभा, क्षमता र उनीप्रतिको सकारात्मक सोचले गर्दा जम्न सकेको बिस्तारै जगजाहेर हुँदैछ । एउटा बिन्दुमा आएर सहमतिमा पुग्ने र त्यसमा हिमालयझैं अटल रहने विवेक देखाउने राजनाथ हुन्छन् भने आफू नजान्ने, अरुले भनेको पनि नमान्नेहरु झलनाथ हुन्छन् ।

आफै रनभुल्लमा परेर नेकपाले लोकतान्त्रिक आन्दोलन, वामपन्थी आन्दोलन, देशभक्तिपूर्ण आन्दोलन, समृद्धिको आन्दोलनको नेतृत्व सहीढंगले गर्नसक्दैन । वैचारिक स्पस्टता र विधिको सवलता बिना जनमत र जनादेश सँधै जादुको छडी नहुन सक्छ । “हिजोको अवसरलाई भोलिको ट्रेन्डले विस्थापित गरिदिन्छ । कुनै कम्पनीले कुनै गल्ती गरिरहनु पर्दैन, प्रतिस्पर्धीले गरेको एउटै सही निर्णयले उसलाई गलत साबित गरिदिन्छ ।”

पद पाए भद्र, पद नपाए रौद्र हुने अवसरवाद नै अहिलेको मूल समस्या हो ।

स्मार्टफोन र आइफोनसँगको बजारिया होडमा नोकिया मोबाइल टिक्न नसकेकै हो । एउटै निर्णयले पृथ्वीनारायण शाहलाई राजाहरूको भीडबाट भिन्न बनाएको थियो र जोरीपारी राज्यको भागमा पतन थमाइदिएको थियो । वीपी कोइरालाले लिएको एउटै सही निर्णयले २०१५ सालको चुनावमा उनका जोरीपारीलाई ठेगान लगाउन सघाउ पु¥याएको हो ।

सत्तारुढ कम्युनिष्ट पार्टीका लागि बिद्रोहकालीन आग्रह र प्रतिपक्षी मानसिकता तगारो हो । लोकतन्त्रमा जनतामा निहित सार्वभौम सत्ताको प्रयोग जनमतबाट निर्वाचित राजनीतिक दलमार्फत हुने गर्दछ । त्यसैले नेकपासामु शासकीय गुणको बिकास र सुझबुझको आपूर्ति गर्न सक्नुपर्ने चुनौती छ । पद पाए भद्र, पद नपाए रौद्र हुने अवसरवाद नै अहिलेको मूल समस्या हो । आफूलाई उठाउने जमिनप्रति बफादार रहँदै शान्ति, मैत्री र व्रmान्तिको त्रिवेणी बनेर नेकपाले प्राप्त उपलब्धिमा टेकी समृद्धि र राजनीतिक स्थायित्वको रंग जमाउनु छ । लक्ष्य र उद्देश्य अरु नै छैन भने कसैले पनि सत्यसँग तर्किनु पर्दैन । किनकि सत्यको चरित्र नै मिल्नेसँग नौनीको डल्लो हुन सक्नु हो भने चिल्न खोज्नेसँग बिच्छीको चल्लो बन्न सक्नु हो । अब भविष्य उसैको हो जसले पृथ्वीनारायण शाह, वीपी, गणेशमान र मदनले देशको एकताका तन्तुहरू सवल पार्नमा राखेको कीर्तिमान तोड्ने गरी त्याग र दूरदर्शिताको आपूर्ति गर्ने चेत राख्ने छ । सानो परिवारमा बाक्लो दाल खाने कुलतले ब्यक्तिलाई नेता हुन त के संयुक्त परिवारको घरमुली हुन पनि बाधा हाल्ने गर्दछ ।

सपना विपनामा रूपान्तरण गर्न दिल चंगा र देहमा उत्साह चाहिन्छ । आजको नेकपाले सबै शक्तिलाई सहयोगका लागि अपिल गर्दै जननेता मदन भण्डारीले निर्माण गरेको आफ्नो विशाल छातीको आयतन थाहा पाउनु र त्यस चेतलाई व्यवहारमा ढाल्ने इमान्दार प्रयास जारी राख्नु मुलुक र जनताको हितमा हुनेछ । गृह निर्माताको छाती कति चौडा र आँखा कति दूरदर्र्शी चाहिन्छ ? भण्डारीको यो कथनलाई आजको नेकपाले दुई पटक स्मरण गरेर पहिलो पाइला चाल्नु राम्रो हुनेछ ः

‘हामीले शुरुमा के ठानेका थियौं भने, प्रजातान्त्रिक आन्दोलनका दुईटा ठूल्ठूला शक्तिहरू– वामपन्थी र नेपाली कांग्रेस, उनीहरूकोे पूर्णशक्ति र पूर्णऊर्जाको साथ प्रतिष्पर्धा, अहिले यो मुलुकले शायद धान्न सक्दैन कि ? अहिले त्यस ढंगले प्रतिद्वन्द्विता गर्नु, शायद यो मुलुकले थाम्न नसक्ने स्थिति हुन्छ कि ? यसलाई प्रतीकका रूपमा यसो भनूँ, घर यस्तो जीर्ण जीर्ण भैसकेको थियो, जसका किला काँँटाहरू सारा खिया परिसकेका थिए र टुट्न लागेका थिए, जसका कब्जाहरू उक्किसकेका थिए, चर्किसकेको थियो । यस्तो चर्किएको घरमा यदि दुईटा ठूल्ठूला पहलमानहरूले तलामा कुस्ती गर्ने हो भने, यो घरले थाम्न सक्दैन । हामी यसो गरौं कि केही खम्बाहरू थपौं, केही नयाँ कब्जाहरू लगाऔं, जिणोद्धार गरौं यो भवनको । त्यसपछि हामी मजासँग प्रतिद्वन्द्विता गरौंला, पौरख देखाउँला र आफ्नो मसल देखाउँला ।’

राष्ट्रिय एकता मजबुत पार्न राष्ट्रिय शक्ति बीचको एकतामा जोड दिने मदनको विवेक र नेकपाको यो घरझगडामा आकाश–जमिनको अन्तर छ । ठूला राजनीतिक दलहरूबीच सम्पूर्ण शक्तिसहितको प्रतिष्पर्धा मुलुकले थेग्न नसक्ने मदनको चिन्ता जस्तै हालतमा छ अहिले सत्तारुढ दल नेकपामा वलशाली देखिएका नेता र गुटहरू बीचको सम्पूर्ण शक्ति सहितको कटुता । कमजोर कटेराभित्रका दुई भन्दा बढी पहलमानझै बहुध्रुवीय गुटहरूको टसलको भार थेग्ने सामथ्र्य भरखरै मात्र मिलेको यो पार्टीसँग छैन । प्रतिष्पर्धीको सापेक्षतामा आफ्नो अपरेटिङ सिष्टमलाई प्रयोगकर्ता मैत्री बनाउन आवश्यक नदेख्ने नोकिया मोबाइल युनिट उठ्न नसक्ने गरी धराशायी भए जस्तै मिल्न सक्नुको जादुको विस्मृति नेकपालाई कल्पना गरेभन्दा बढी भारी पर्नेछ ।

टिप्पणीहरू