काठमाडौंमा डेरा ः दलालीको चौतर्फी घेरा

काठमाडौंमा डेरा ः दलालीको चौतर्फी घेरा

भक्तपुरकी सम्झना कार्की नयाँ ठाउँमा कोठाको खोजीमा थिइन् । फेसबुकको रुम फाइन्डरवाला पोष्टमा भनेजस्तै कोठाको फोटो देखेर उपलब्ध नम्बरमा फोन गरिन् । सोसाइटी वेलफेयर फ्यासिलिटिज म्यानेज्मेन्ट प्रालि संस्थाले कार्कीलाई रुम हेर्नु पहिला ५ सय बुझाएर बिल काट्न लगायो । पैसा तिरेर रुम हेर्न गएकी कार्की त्यतिबेला छक्क परिन् किनभने फेसबुकमा राखिएको फोटो फेक थियो । उनले आफू ठगिएको भेउ पाइन् । उक्त संस्थाका अन्य कर्मचारी जो कोठा खोेजिदिने र खोजिदिएबाट पैसा लिने दलालका रूपमा काम गर्थे, उनले अरू कोठा खोजिदिने बताए । ‘न ठेगाना सही, न कोठाको फोटो नै सही, उनीहरूको व्यापार नै त्यही रहेछ । फोटो देखेर मान्छेले पैसा तिर्छ र हेर्न जाँदा अर्कै हुन्छ । त्यसपछि उनीहरूले सम्पर्क गर्न छोड्छन् ।’ कार्कीले भनिन् ।

फेसबुकमा कोठा भाडामा बस्न चाहनेका लागि विभिन्न पेज र ग्रुप बनाइएका छन् । जहाँ सम्पर्क नम्बर राखिन्छ र ग्राहक उनीहरूसम्म पुग्छन् । तर, अधिकांश पोष्ट फेक हुने गर्छन् । बालाजुमा बस्दै आएकी रमा शर्माले फेसबुकमा जब प्लेसमेन्ट नामक आइडीबाट विभिन्न ग्रुपमा पोष्ट भएका माछापोखरीस्थित कोठाका फोटा देखेर उनीहरूलाई सम्पर्क गरिन् । पैसा नबुझाई कोठा हेर्न नमिल्ने बताए । केही समयपछि अर्कै स्थानको कोठाको फोटोमा सोही अघिल्लो पोष्टको फोटो देखेपछि शर्माले उनीहरूले फेक फोटो राखेको चाल पाइन् । केही मिडियाकर्मीलाई यो कुरा बताइन् ।

रुम फाइन्डर काठमाडौं भ्याली नामको फेसबुक ग्रुपबाट विभिन्न स्थानमा कोठा भाडामा रहेका सूचना राखिएको थियो । ती सूचनाअनुसार उपलब्ध सम्पर्क नम्बरमा फोन गर्दा रुम लिने मान्छेले एउटा रुमको २५ सय र २ वटा रुमको ३५ सय तिर्नुपर्ने अनि मात्र कोठा हेर्न पाइने बताए ।

काठमाडौंमा डेरा खोज्नु गाह्रो काम हो । सामाजिक सञ्जालमा यसरी सुविधा दिने भनेर खोलिएका विभिन्न पेज र ग्रुपको माध्यमबाट धेरै सर्वसाधारण पीडित छन् ।

कम्पनी ऐनअनुसार दर्ता भएका यस्ता कोठा खोजिदिने संस्थाले सेवाशुल्कबापत फर्म भरेको न्यूनतम ५ सयदेखि हजार रूपैयाँ लिने गर्छन् । तर, कोठा खोजिदिएबापत दुई हजारदेखि ५÷६ हजार रूपैयाँसम्म गैरकानुनी तवरबाट असुल्छन् ।

काठमाडौंमा अहिले कोरोनाको सन्त्रास र लामो समयको लकडाउनका कारण विभिन्न जिल्लाबाट आएकाहरू घर फर्किएको अवस्था छ । त्यसैले पनि अधिकांश स्थानमा कोठा खाली छन् । तर, कोठा खोज्न सजिलो भने छैन । कोठा खोज्ने दलाली गर्नेहरूले घरबेटीसँग चाँजोपाँजो मिलाउँछन् । ती सूचना विभिन्न ग्रुपमार्फत सामाजिक सञ्जालमा राख्छन् ।

तर, कतिपय अवस्थामा भने घरबेटी आफैँले सूचना राख्ने र सीधै सेवाग्राहीले सम्पर्क गर्ने गरेका पनि छन् । हाम्रोबजार डटकम, फोरकोठा डटकमजस्ता केही अनलाइनमा सीधै घरबेटीको सम्पर्क नम्बर राखिएको हुन्छ । जहाँबाट सेवाग्राही ठगिन पाउँदैनन् । उनीहरू निश्चित नियममा रहेर कुनै–कुनै अनलाइनलाई फर्म शुल्क भने बुझाउँछन् ।

डिल्लीबजारमा रहेको मानव कल्याण सेवा सम्पर्क कार्यालयले कोठा खोज्ने सर्वसाधारणलाई दुई वटा विकल्प दिएको छ । कोठाको फोटो हेरेर चित्त बुझे ५ सय रूपैयाँको फारम भरेर सीधै घरबेटीसँग सम्पर्क गर्ने अथवा एजेन्टसँग भेटेर एजेन्टले भनेअनुसार कोठा हेर्ने । संस्थाका सञ्चालक समर केसीले यसरी गर्दा कोठा खोज्ने सर्वसाधारणले एजेन्टलाई आवश्यकताअनुसार रकम उपलब्ध गराउने बताए । घरबेटीसँग सम्पर्क गराउँदा आफूहरूले थप रकम नलिने प्रस्ट पारे ।

टिप्पणीहरू