आमाको चिन्ता, नेताको फिराद र नेकपा

आमाको चिन्ता, नेताको फिराद र नेकपा

– पुरुषोत्तम पौडेल

मेरी आमा ८४ पुग्दै हुनुहुन्छ । निकै दिनपछि भेट्न निजगढ पुगेको थिएँ । आमाले राजनीतिक गुनासो गर्न थाल्नुभयो– ‘ज्यान छाडेर पार्टी बनाउन लाग्या थिस् । कम्युनिष्ट पार्टीले चमत्कार गर्छ भन्थिस् । साराका सारा गरिब गुरूवाको दुःख हर्छ भन्थिस् । हेर्दाहेर्दै तेरो पार्टी पो खत्तम हुन लाग्यो बाबु ? नेताहरू कुर्सीको अनन्त झगडामा मस्त हुन थाले । पार्टीलाई इमान र विचारको नमुना मान्थिस् । आज चारैतिर तेरो पार्टीप्रति गुनासो मात्र सुनिँदै छ । विस्तारै सक्किने मेसोतिर लाग्यो भन्छन् । अब त आफैँमा मारामार गर्न लागे । के दशा लागेको छ तिमीहरूको पार्टीलाई खोइ ? यदुवंशीको जस्तो आपसी झगडाले नै सकिने त होइनन् !’

‘आफू सबभन्दा ठूलो जिम्मेवारीमा बसेको छ । पार्टीको पनि एक नम्बर हुँ भनेको छ । पार्टीलाई सन्तुलित बनाएर विश्वासमा लिनुपर्ने हो । विपक्षी पार्टीका नेताहरूको पनि कुरा सुन्नुपर्ने हो । पढे÷लेखेका बुद्धिजीवी समुदाय के भन्छन् ? नागरिक समाज के भन्छ ? आमजनसाधारण के भनिरहेका छन् ? सबैको मनोभावना बुझ्नुपर्ने हो । अरू कसैलाई मान्नु छैन, कसैलाई गन्नु छैन । आफैँ ठूलो, आफँै जान्ने–सुन्ने भनेको छ । अब कसरी हुन्छ लौ ?’ कहिल्यै राजनीतिक गफ नगर्ने आमालाई नेकपाभित्रको अहिलेको विवादले चिमोटिरहेको रहेछ ।

मान्छेहरू हाम्रो समाजवादी पार्टीलाई पुँजीवादी भन्न थालिरहेका छन् । सामुहिक नेतृत्व र माक्र्सवादी विचार राख्नेले पार्टीलाई व्यक्तिवादी पार्टी भनिसके । किसान, मजदुरको कुरा गरेर नथाक्ने कमरेडहरू आफैँमा सिमित हुन थाले । कार्यकर्ताको संरक्षण गर्नुपर्ने नेताहरू सेवकहरूको खोजीमा लाग्न, आन्दोलनका घाइते र शहिद परिवारसँग तर्केर भाग्न थाले ।

भनिन्छ, ज्यान नभएको मान्छे, इञ्जिन नचल्ने गाडी, गति नभएको संगठन काम लाग्दैन । आजको कुर्सी तानातान र छिर्के हानाहानले पार्टीको ज्यान हराएको छ । बैठकमा प्रस्तुत प्रस्तावको जवाफमा आएको ‘शालीन’ तर संसदीय अभ्यासको झल्को दिने प्रश्नहरूको पेटारोले समस्या अरू बल्झाउने निश्चित देखिन्छ । सचिवालय भाषणहरूको संग्रह, गफहरूको पुलिन्दा, अनि ओंठे जवाफको भारीले लाजको पसारो भएर प्रकट हँुदै छ ।

एकथरीको प्रस्तावलाई आरोपपत्र भनियो । त्यसो भन्नेले चाहिँ जवाफ झन् दह्रो लिएर आयो । देशका मुखियाले अघि सारेको जवाफ पनि फुर्सदमा बसेर मन माझामाझ गर्ने मेलोभन्दा फरक देखिएन । अझ पार्टी एकताभन्दा पहिलेका गन्थन–मन्थन ल्याएर छेडछाड मात्र भएको छ । अहिले पार्टीमा छेडखानी होइन विधिवत् समाधान चाहिएको छ ।

यति लामो बहस चल्दा पार्टी एकता के कारणले भयो ? अब त्यसको आवश्यकता छ कि छैन ? आवश्यकता भए कसरी व्यवस्थित गर्ने हो ? ३८ पेज लामो फिरादमा पनि आएको भेटिएन । बरु एक्लै हिँडेर एकता जोगाउन भूमिका खेलेको कुरा आयो । स्थायी कमिटीको निर्णय कार्यान्वयनका लागि किन बैठक बसेन ? पटक–पटक माग गर्दासमेत किन बैठकलाई इन्कार गरियो ? बैठक बस्नका लागि पाँच पाँच जनाले निवेदन हाल्नुपर्ने अवस्था कसरी आयो ? फिराद–पत्रमा कतै जिकिर भएको देखिएन । अझ सचिवालयका पाँच–पाँच जना हस्ती किन देश र जनताको सेवामा समर्पित महान् आदर्श र त्यागी नेतृत्वलाई नबुझेर यताउता भांैतारिएका हुन् ! खुद कारण प्रष्ट खुल्न आएको पाइएन ।

पदीय भागबण्डाबाट मुक्त नेतृत्वबाट नेताहरूसँग वैचारिक छलफल नगरेर पालैपालो बोलाउँदै भोलिको अध्यक्ष र प्रधानमन्त्रीको बिल्ला बाँडिएको आधार र कारण पनि फिरादपत्रमा आएन । वामदेव कणलाई उधारो प्रधानमन्त्री र अध्यक्ष बनाउने प्रस्तावबारे समेत खुलाइएन । चोक्टा मलाई झोल तिम्लाई, चकलेट मलाई खोल तिम्लाई, केरा मलाई बोक्रा तिम्लाई, रस मलाई छोक्रा तिम्लाई भन्दै सरकार र सरकारी नियुक्ति जति एकलौटी गरिएको, पार्टीका मुख्य जिम्मेवारी आफ्नालाई मात्र दिएर अरूलाई तमासे बनाई राखेको कुरा पनि सगौरव पत्रमा आएन । तिमीहरू मेरो जयजयकार गर, नत्र खैरियत छैन भन्दै देशव्यापी नारा–जुलुस गराएको कारण पनि प्रष्ट भएन ।

एक जना साथीले अध्यक्षद्वयको प्रस्ताव पढेर फेसबुक वालमा लेख्नुभएको रहेछ – ‘अध्यक्षहरूले पेश गरेको र सफाइ दिएको दुवै पत्रको बुँदा–बुँदा पढिसकेपछि एक जना सचेत नागरिकमा के सोचाइ आउला ? देश र जनताका निम्ति समर्पित भएको नाममा यस्तो भद्दा मजाक नेपाली राजनीतिमा खुलेआम कहिल्यै भएको थियो कि थिएन होला ? अरूका सबै गल्ती मात्र देख्ने र आफ्नो कहीँ कतै गल्ती छ भन्ने महसुससम्म नगर्ने प्रतिवेदनले पार्टीलाई कहाँ पु¥याउला ? साँचो अर्थमा यस्तो संस्कारले मान्यता पाउने हो भने नयाँ पुस्ताले के सिक्ला ? यति पनि बुझ्न नसक्ने नेतृत्वले अब कसरी मुलुक हाँक्ला ? नयाँ पुस्ताले सोच्नु आवश्यक छैन र ?

टिप्पणीहरू