आफन्त र साथीबाट कोरोना सर्छ र ?

आफन्त र साथीबाट कोरोना सर्छ र ?

कोरोना कार्यालयको गेटबाटै समाचार कक्षमा आइपुग्यो । अघिल्लो दिन सँगै बसेर खाजा खाएको साथीको पीसीआर रिपोर्ट पोजिटिभ देखियो । सँगै रहेका अरू साथीको नेगेटिभ आयो । दसैंको मुखमै केहीको चाहिँ पोजिटिभ देखियो । त्यतिबेलै को को कार्यालय आउने र को को बिदा बस्ने भन्ने तालिका बनाउने काम पनि चलिरहेको थियो । कोरोनाको हटस्पट बनेको काठमाडौंबाट बाहिर जाने साथीहरू पीसीआर गरी ढुक्क भएर घर जाने भन्ने थियो । रिपोर्ट २४ घण्टामा आउँछ भन्ने थियो तर आएन ।

स्वाब दिएको व्यक्ति आइसोलेसनमा बस्नुपर्ने हो तर त्यसो गरिएन । स्वाब दिएर दसैं मान्न घर जानेको संख्यामा पंक्तिकार पनि थपियो । घर पुगेर, अलग्गै बस्ने काम निकै कठिन हुँदो रहेछ । खै किन हो आमालाई सन्तानलाई कहिल्यै पनि ‘रोग’ लाग्दैन भन्ने हुँदो रहेछ । छोराका लागि त ‘रियल हिरो’ भनेको आफ्नो बा हुन् । अर्थात् बा सबै कुरा भन्दा बलियो भन्ने लाग्दो रहेछ । बलियो बालाई किन संक्रमण हुन्छ ! भावनात्मक पाटोले संवेदनालाई प्रहार गर्दै लत्तो छाडिदिऊँ भन्ने लाग्दो रहेछ । कोरोना संक्रमणबाट भइरहेका मानवीय क्षति हेर्दा र सुन्दा त्यसले एक खालको डर भएको छ । आफ्ना सन्तानबाहेक अरूलाई मात्रै संक्रमण हुन्छ ?

सरकारले लामो समयको लकडाउन खुकुलो पारेपछि होटलहरू खुले तर बसेर खान नपाइने, लिएर जानुपर्ने । यो बीच हामी सहकर्मीहरू एकसाथ होटलमै बसेर चिया खान्छौं भनी अनुगमनमा निस्केका प्रहरीलाई भन्थ्यौं तर प्रहरी पटक्कै नमान्ने । त्यहीबीच प्रहरीको आँखा नपर्ने होटलमा बसेर चिया, खाजा खायौं केही दिन । त्यसो गर्दा हामीलाई ‘विजय’ प्राप्त गरेजस्तो लाग्थ्यो । तर त्यो मूर्खता थियो । साथी–साथी बस्दा पनि कोरोना सर्छ ? चिनेकै छौं । चिनेकाबाट सर्छ र ? आफन्त हो । आफन्तबाट संक्रमण सर्छ र ? यही सोचाइले हो, कोरोना तीव्र गतिमा फैलिएको ।

धेरैलाई लाग्यो, यो वर्ष दसैं मनाइहालौं, अर्को वर्ष मनाउन पाइएला–नपाइला ।
कोरोनाबाट बच्नेभन्दा पहिलो प्राथमिकता चाडपर्व बन्यो ।

सबैभन्दा पहिले सबै व्यक्तिले मलाई कोरोना लाग्दैन भन्ने भ्रमबाट मुक्त हुनुप-यो । अनि आफन्त र साथीभाइबाट सर्दैन भन्ने अर्को भ्रमबाट मुक्त हुनुप-यो । अर्थात् यो समयमा सबैले सबैलाई संक्रमितको रूपमा हेर्नुप-यो । भौतिक दूरी कायम राख्नुप-यो । सुरक्षा सावधानी अपनाउनुप-यो । आफू बच्नुप-यो, परिवारलाई बचाउनुप-यो, साथीभाइलाई बचाउनुप¥यो, आफन्तलाई बचाउनुप¥यो । यत्ति भएपछि कोरोना संक्रमण फैलन कम हुन्छ । यति हुँदाहुँदै मलाई कुनै पनि बेला संक्रमण हुन्छ भन्ने चाहिं सोच्नुप-यो । ता कि लागिहाल्यो भने आत्मविश्वास दरिलो बनाउनुप-यो । त्यसरी आफूलाई तयार नपार्दा कोरोना पोजिटिभ आएको सुनेर हर्टअट्याक नहोस् !

स्वास्थ्य मन्त्रालयले बारम्बार आग्रह गरिरहेको थियो । जहाँ हुनुहुन्छ, त्यहीँ बसेर दसैं मनाउनुहोस्, अर्को वर्ष अभिभावकसँग दसैं मनाउने हो भने यो वर्ष जहाँको त्यहीँ बस्नुहोस् । तर, धेरैलाई लाग्यो, यो वर्ष दसैं मनाइहालौं, अर्को वर्ष मनाउन पाइएला–नपाइला । कोरोनाबाट बच्नेभन्दा पहिलो प्राथमिकता चाडपर्व बन्यो । जसरी अमेरिकामा राष्ट्रपतीय निर्वाचनपछि विजयी -याली निकालियो, त्यसको असर संक्रमण फेरि तीव्र भयो । अब नेपालमा पनि चाडपर्वमा भएको भीडभाड र जमघटको असर देखिन थाल्छ । अहिले पो पीसीआर परीक्षणको संख्या घटेको छ र संक्रमितको संख्या कम छ । अब परीक्षण बढ्छ अनि संक्रमितको संख्या बढ्छ । स्वास्थ्यमन्त्री भन्न थालेका छन्– कूल जनसंख्याको दुई प्रतिशतमा संक्रमण हुन्छ । मन्त्रीको कुरा कति विश्वसनीय छ भन्ने त होला । तर, संक्रमण भयावह हुने जोखिम कायमै छ ।
अहिले पनि कोरोना कहरले धेरैको जीवन खोसेको छ । जीवन खोस्न नसक्नेको गाँस खोसेको छ । कतिको रोजगारी खोसेको छ । रोजगारी खोस्नु घुमाउरो रूपमा गाँस खोस्नु हो । केही समय बेरोजगारी हुनुले गाँस नखोसिएला तर लामो समय बेरोजगार हुनु, गाँस खोसिनु नै हो । लामो समय गाँस खोसिनुको मतलब अन्ततः सास खोसिनु हो । कोरोनाले अहिले प्रत्यक्ष रूपमा दैनिक केहीको सास खोसिरहेको छ । अब यो क्रम बढ्ने देखिन्छ । यसर्थ सचेत हुनुको विकल्प छैन ।

– वैकुण्ठ ढकाल

टिप्पणीहरू