प्रताप हराएका प्रतापीहरू

प्रताप हराएका प्रतापीहरू

सपनाको जहाजमा रहरको बोइङ चलाएका स्वघोषित दुई क्याप्टेनको अप्राकृतिक सम्बन्ध आखिर छरपस्ट भएको छ । नेपाल कम्युनिष्ट पार्टी टुट्नु, फुट्नुले यो देशको शासन प्रणालीमा एउटा रौं बराबरको प्रभाव पर्ने छैन । यहाँ बहुमत, अल्पमत, लोकतन्त्र, निरंकुशतन्त्र, गणतन्त्र भनेका पसलका अलग नाम हुन् । जनताले पाउने स्थायी सेवा भनेको धोका मात्र हो । यो देशमा भएका राम्रा कामको जश र अपजश समयले पाउने हो । यहाँका राजनीतिक दल भनेका विकासे अड्डा हुन् । नेता रिटायर्ड नहुने म्यानेजर हुन् । राजतन्त्रलाई जीवनभर सरापेर गणतन्त्रको कलेवरमा आफूलाई उभ्याएका नेताको अनुपातमा राजाहरूको ठाँट फिका देखिन थाल्यो । राजा वीरेन्द्रले हेर्ने गरेको टेलिभिजन सेटभन्दा उच्चस्तरको टीभी अहिलेका नेताका घरका चौकीदारको कोठामा हुन्छ । सर्वहारा वर्गका नेता प्रचण्डका घरभित्र स्वीमिङ हुँदा शोषक, सामन्त र दलालका पर्याय राजा वीरेन्द्र बाथरुमको तिरतिरे धारामा नुहाउँदा रहेछन् । उनीहरूको बेडरुम, भान्सा, बैठक कक्षको स्तर हालका वडाध्यक्षको भन्दा तल्लो तहको देखिन्छ । मानौं उनीहरूले देशका सार्वजनिक सम्पत्ति हडपे भन्ने तर्क मान्ने हो भने आखिर राजाले हात पारेको सम्पत्ति नासो हुँदोरहेछ । नेताले त हराएको बाख्रो पनि कालान्तरमा हात्ती बनाएर असुल्ने गरेका प्रमाण भेटिन्छन् ।

जब सरकारी नूनमा नेताहरूको सम्झौता बाक्लि“दै जान्छ, त्यसपछि इमानका पखेटा काटिँदै जान्छन् । कार्यकर्तामा विग्रह बढ्दै जान्छ । जसरी फलामभित्रको खियाले फलाम सिध्याउँछ, त्यसरी नै कम्युनिष्ट पार्टीभित्रका धमिराले नै यसको इञ्जिन स्वाहा पार्ने छन् । ओली र प्रचण्डको मन भाँचिएर पार्टी फुट्यो भने के हुन्छ ? त्यसको सहज उत्तर हो– अर्को सरकार बन्छ । दलालहरू डेरा सर्छन् । सिंहदरबारको ढर्रा उही हुन्छ । सचिवले फाइलमा हस्ताक्षरको नाटक रच्छन् । प्रधानमन्त्रीले मन्त्री, मन्त्रीले सचिव, सचिवले सहसचिव, उपसचिव, शाखा अधिकृतलाई अर्ती बुद्धि दिन्छन् । फौजी, न्याय, संवैधानिक निकाय सर्वत्र यही मेसो चल्छ । मेलम्चीको तारिख उही गतिमा फेरिन्छ । लोकतन्त्र, सुशासनका अन्तरा उसैगरी दोहोरिन्छन् । जब राजनीतिक नेतृत्व मिलको फित्ताजस्तै चलेको चलनमा रमाउँछ भने परिवर्तन भाषणको मसला मात्र हो । तबेलामा घोडा पाल्नु र चित्र बनाएर रमाउनु समान कर्म हुँदै होइन । मुखियाहरूमा आलोचना खप्ने क्षमता कटौती हुँदै गएपछि असफलताका दिन धेरै टाढा हुँदैन । नेपालको इतिहासमा राजा ज्ञानेन्द्र, गिरिजाप्रसाद कोइराला, केपी ओली र पुष्पकमल दाहाललाई समयले राजनेता हुने मौका दिएको थियो । तर चारै पात्र रानो मौरी हुने अवसर छोप्न नसक्दा बारुलोमा सीमित भए । गिरिजाप्रसाद र प्रचण्ड त इमान्दारीपूर्वक भन्दा राजनीतिक डनमा सिमित भए । केपी चटकेमा अनुवाद भए । एउटा समय थियो– गिरिजाप्रसाद नेपाली राजनीतिका डिलर थिए । कम्युनिष्टका नेता समेत उनीबाट थोकमा अलिकति किनेर आफ्नो राजनीतिक उद्यम चलाउँथे । तिलस्मी पात्र भएर यस धरामा ओर्लिएका पुष्पकमल दाहालले थितिको नजिर बसालिदिएको भए एक वर्षमा मुलुक अर्कै लयमा कुद्थ्यो । भाषणमा कम्युनिष्ट भएर के गर्नु केपी र पीकेको हिँडाई, बोलाई, खुवाई, दम्भ सबै गिरिजाप्रसाद कोइरालासँग हुबहु मिल्छ । सक्षम र योग्य मानिस नजिकै नपार्ने, आलोचना फिटिक्कै मन नपराउने, अयोग्य तर आफ्नो दासलाई जहाँ पनि लैजाने गिरिजापथ यिनीहरूको अन्तिम गन्तव्य बनेको छ ।

केपी ओलीको आँखाले अहिले देशमा रामराज्य देखेको छ । आफूले निर्देशन दिएपछि पहाड समथर भएको भ्रम छ । छाते, बैठकेहरूले जुँगा, लुगा, बोलीको प्रशंसा गरेर उनलाई अकबर राजाको आशनमा पुर्‍याएका छन् । आलोचना नरुचाउने ओलीको विशेषता बुझेका उनीहरूका लागि यो कर्म भरपर्दो जागिर बनेको छ । सुशील कोइराला प्रधानमन्त्री हुँदा आफूले खल्ती नभएको लुगा लगाएर भ्रष्टाचारमा शून्य सहनशीलताको नाटक गर्ने तात्कालिन मुख्यसचिव लीलामणि पौडेल बोनसमा राजदूत भए । यही कर्मचारीतन्त्रले राजा ज्ञानेन्द्रलाई फुर्क्याएर टीभीमा समाचार पढ्ने अवस्थामा पुर्‍यायो । लोकमानसिंह प्रवृत्तिलाई सबै दलले जन्तर मानेर ग्रहण गर्दै गए । त्यसपछिका प्रायः सबै मुख्यसचिवले पदको सौदा गर्ने नजिर नै बसेको छ । व्यक्तिले भ्रष्टाचार गर्छ गर्दैन त्यो कुनै सवाल हैन, उसका वरिपरी कस्ता मानिसको उपस्थिति छ, त्यो मुख्य कारक हो । एक समय इटलीको मिलान शहरमा बेनिटो मुसोलिनीको साधारणभन्दा साधारण कार्यक्रममा लाखौंको भीड जुट्थ्यो । मुसोलिनी जता जान्थे, भीड त्यतै डोरिन्थ्यो । उनको नाममा लाखौं युवाहरू ड्यूचे, ड्यूचे भन्दै मर्न मार्न तयार हुन्थे । मुसोलिनी त्यहाँका जनताको लागि अगुवा मात्र नभएर ईश्वर नै थिए । पाँच वर्षपछि तिनै युवाले मुसोलिनी र उनकी प्रेमिकालाई बीच सडकमा उल्टो झुण्ड्याई थुकेर इज्जत लिलाम गरिदिए । भ्रमको आयु छोटो हुन्छ । त्यसैले नेपालका सरकारी पदाधिकारीहरूले आदर्शका क्वीन्टल भाषण गर्नुभन्दा यथार्थको एक पाउ बाँडिदिए कल्याण हुनेछ । कम्तिमा भाषण लिखित गर्ने परिपाटी बसालिदिनुस् । जिन्दगीभर सामन्तवादको विरोध गर्नुभयो तर विशुद्ध सामन्तवाद सरकारी प्रणालीमा छ भनेर कहिल्यै आत्मसात गर्नुभएन । त्यहाँभित्रको रसरमाइलोमा चिप्लिएर दिन गएको कसैले पत्तै पाएन । त्यहाँ पुगेपछि अखिल, नेविसंघ, वाइसीएलको ठाउँ सेना, पुलिस, सशस्त्रले लिए । आफूले आफैंलाई ठूलो बनाएको कानुनको धारा पढेर जथाभावी निर्देशन दिने तर त्यो पालना गर्ने पियन, मुखिया, खरिदारलाई सन्काएर बुई चढाएको बिर्सनुभयो । लोभी, पापी र आफू अनुकूलका मानिस जम्मा गरेर दुई चारदिन रमाइलो त होला तर त्यसले कीर्तिमानी बन्न सकिँदैन ।

सिंहदरबारमा जानेहरू रंगहीन, ढंगहीन हुँदै खुइलिएर जानुको रहस्य यही हो । इतिहास पढ्ने हो । सुधार्ने त वर्तमान हो । समकालीन नेताहरूले विश्वका कुनै आदर्श व्यक्ति नखोजी बीपी कोइरालालाई पढिदिए मात्र पनि आफ्नो यात्रा कोर्न सजिलो हुन्छ । प्रधानमन्त्रीका रूपमा बीपी सफल नेता त हैनन् तर राष्ट्रिय अन्तर्राष्ट्रिय हरेक विषम परिस्थितिसँग जुधेर आफूलाई प्रजातन्त्रको रक्षक प्रमाणित गरेका कालजयी पात्र हुन् । भारत र चीनका विषयमा राजनीतिक रंग दिएर नेपालमा वर्षौंदेखि जुन भिंmगेदाउ खेल्ने गरिएको छ, त्यसको उत्तर उनको जीवनीबाट प्राप्त हुन्छ । त्यसो भएमा कूटनीतिक रूपमा काँडा नभएको बाटो तय गर्न नेताहरूलाई मद्दत पुग्नेछ । यदि आफ्नो औकातमा जनता पुग्नुपर्छ भन्ने दम्भ पाल्ने हो भने मुसोलिनी बन्न धेरै समय पर्खन पर्दैन । अझ कलीमा त अनैतिक कामको परिणाम हातको हात, पातको पात देखिन्छ ।
उमेर घर्किंदै गएपछि आफ्ना पालाको अन्तरंगमा रमाउनु हरेक बुढ्यौलीको दिनचर्या हो । नेपालमा कम्युनिष्ट आन्दोलनको वर्ष जति पुग्यो, सोही अनुपातमा कम्युनिष्ट पार्टीहरू फुट्दै जानुको रहस्य अभिमान हो । कुर्सीमा बसेकाले कुर्सी बाहिर रहे मध्ये जसलाई खतरा ठान्छ , उसलाई ‘गद्दार’ को क्याप्सुल ख्वाइदिएपछि त्यो बाटोमा सधैं आप्mनो मात्र गाडी गुडाउन पाइने आकांक्षाका कारण घात, प्रतिघात निरन्तर प्रक्रिया बन्दै आएको छ । नेपालमा मात्र किन ? कम्युनिष्ट नामभित्र छिरेका झुसिलकिराका कारण कम्युनिष्ट आन्दोलन विश्वमै मानमर्दनको श्रृंखला बन्दै आएको छ । वर्ग शत्रुका नाममा संसारमा लाखौं करोडौं मान्छे मारिएका छन् ।

भनिन्छ– नयाँ पात पुरानो पातसँग झर्न बनेको हुँदैन तर नेपालको राजनीतिको हाँगामा सुकेको पात झर्न नमान्दा नयाँ मुनाहरू असमयमै ओइलाएका छन् । पहिला पहिलाका राजा, महाराजा र राजनेताहरूमा प्रताप हुन्थ्यो । त्यसैले तिनीहरू प्रतापी कहलाउँथे । प्रताप भनेको नाममा जोडिएको फुँदो नभएर नैतिकताको अर्को नाम हो । हाम्रा नेताहरू महाराज यायातिजस्ता भएका छन् , जसले काम वासनामा तृप्त नभएपछि कान्छो छोरा पुरुको जवानी पैंचो लिएका थिए । कालान्तरमा ती राजा काम वासनाबाट थकित भए तर किमार्थ तृप्त भएनन् ।

अघिल्लो पुस्ताले पछिल्लो पुस्तालाई सधैं नालायक देख्छ रे ! तर सत्यचाहिँ के हो भने नयाँ पुस्ता जतिसुकै नाकाम भए पनि समयचाहिँ उसैको हो । मानिसको बुढ्यौली लागेपछि ऊसँग रहेको वस्तु भनेको फगतः अनुभव र अनुभूति मात्र हो । थालको भात दुख हो भने अचार सुख हो । कोही त्यही अचारको भरमा भात मीठो मानेर बुत्याउँछन् त कोही अचार रित्याएर भातरूपी दुखको पसल खोलेर बस्छन् । सुख र दुःखको प्रारब्ध दृष्टिकोणबाट शुरु हुन्छ । मृत्युका अगाडि आपूm मात्र एक्लो ठिंग उभिन्छु भन्ने सोच नै दुःखको खाडल खन्ने औजार हो ।

२०१५ सालमा अभूतपूर्व मत ल्याएपछि कांग्रेसजनमा उत्साह छायो । बीपी प्रधानमन्त्री हुने निश्चित भयो । तर बीपी पत्नी सुशीलाले आफ्ना पतिलाई सम्झाउँदै भनिन्– ‘राजाको भित्री ईच्छा सुवर्णसमशेरलाई प्रधानमन्त्री बनाउने छ । त्यसैले तपाईं यसपटक उहाँलाई छोडिदिनुस् ।’ बीपीले आग्रह नमानेपछि सुशीलाले निर्णय सुनाउँदै भनिन्– ‘तपाईंकी अर्धाङ्गिनी भएर जानुपर्ने औपचारिक कार्यक्रमबाहेक म अन्यत्र उपस्थित हुन सक्दिन । प्रधानमन्त्रीको सरकारी निवासमा पनि मेरो बस्ने इच्छा छैन ।’ पति प्रधानमन्त्री हुँदा पनि नखुलेकी सुशीलाले बीपी प्रधानमन्त्री रहुन्जेल सरकारी निवास टेकिनन् । आखिर सुशीलाको दूरदृष्टि सही प्रमाणित भयो । उनका पति सरकारमा पुगेको १६ महिनामै राजनीतिक ‘कू’ को शिकार भए । उनले सिफारिस गरेको व्यक्ति सुवर्णसमशेर ‘कू’ को अघिल्लो दिन राजाको इशारामा भारत रवाना भए । षड्यन्त्रका माखेसाङला ६ दशकपछि पनि उस्तै लिकमा हिँडिरहेको छ ।

प्रकृतिमा मान्छेभन्दा अगाडि जन्मिएको प्राणी साङ्लो हो । जुन प्राणी चार अरब वर्षअघि पृथ्वीमा आएको विश्वास गरिन्छ । यो जति पुरानो छ यसले बोकेको सत्य उति घतलाग्दो छ । तपाईं पत्याउनुहुन्छ ? साङ्लो एकमात्र त्यस्तो प्राणी हो, जसको रगत सेतो हुन्छ । परीक्षण त भएको छैन तर जति परिपक्व हुँदै गयो, उति असहिष्णु हुने हाम्रा नेताहरूमा बढ्दो चरित्र कतै सेतो रगतको करामत त हैन ?

[email protected]

टिप्पणीहरू