बैठकवारे वामदेव

बैठकवारे वामदेव

नेकपाको शनिबार बसेको सचिवालय बैठकमा उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको ३८ पृष्ठको जवाफी दस्तावेजबारे पछि अध्ययन गरेर राख्ने बताउँदै हाललाई बैठक र त्यसको प्रक्रियाबारे मात्र आफ्नो धारणा राख्नुभएको बताइएको छ ।

उहाँले पार्टी बाहिर छरिएका विचारहरू आजदेखि पार्टीमा भित्रिएको भन्दै भित्री हृदयदेखि चाहेमा अब समस्या समाधान गर्न सहज भएको बताउनुभएको थियो । उहाँले ‘कम्युनिष्ट पार्टीको जीवन कमिटीका बैठकहरूमा हुने र बैठकहरूको जीवन छलफलमा हुने भएकाले त्यस्तो गर्न छोडेको दिनदेखि नै पार्टी जीवन समाप्त हुने हुँदा अहिलेको अवस्था र आगामी बैठकको आयोजनासँगै हुने छलफलले पार्टीलाई पुनर्जीवन दिने’ बताउनुभएको थियो ।

‘बैठक बोलाउन दुबै अध्यक्षको सहमति हुनुपर्छ भन्नुको अर्थ बैठक बस्न नदिने गरी विचार राख्न र अवरोध गर्न कुनैपनि अध्यक्षले पाईंदैन । पार्टी विधानमा आवश्यकताबमोजिम बैठक बस्ने व्यवस्था रहेकोले कमिटीका एकजना सदस्यले पनि औचित्य पुष्टि हुनेगरी बैठकको माग गरेमा पनि महासचिवले अध्यक्षसँग परामर्श गरी बैठक बोलाउनुपर्छ’ भन्दै उहाँले त्यसतर्फ ध्यान दिँदा समस्या समाधान गर्न सकिन्छ भन्ने कुराको औचित्य पुष्टि भएको बताउनुभएको छ । गौतमको धारणा थियो ‘पार्टी बैठक नबोलाउने गरी भएका गतिबिधिलाई कसैले पनि महत्व दिनुहुँदैन ।’

साथै उहाँले हिजोको बैठक बोलाउने र आयोजना गर्ने वातावरण बनाउने सबैलाई धन्यवाद दिँदै बैठकमा आफूलाई लागेको कुरा खुलमखुल्ला,विनालप्पन–छप्पनका साथै मौखिक तथा लिखित रूपमा राख्नुहुने दुबै अध्यक्षलाई समेत विशेष धन्यवाद दिनुभएको थियो ।

टिप्पणीहरू