नेताहरुबीच कसले गर्‍यो अडियो रेकर्ड ?

नेताहरुबीच कसले गर्‍यो अडियो रेकर्ड ?

अघिल्लो बुधबार दिउँसो बालुवाटारमा बसेको सचिवालय बैठकमा प्रधानमन्त्रीले बोलेका कुरा उहाँकै सचिवालयको हवाला दिँदै जस्ताको तस्तै सरकारी मुखपत्र र निजी क्षेत्रको उहाँकै निकट यौटा दैनिक पत्रिकामा आएपछि नेकपाभित्र अविश्वास थप चुलिएको छ । सो बैठकमा बहुमत सदस्यहरूले सचिवालय, स्थायी र केन्द्रीय समिति बैठकको मिति सेटमै तोकिनुपर्ने माग गरेका थिए । तर, प्रधानमन्त्रीको तर्फबाट १० दिनपछि सचिवालयको बैठक राख्ने तर स्थायी र केन्द्रीय समितिको निर्धारित बैठकबारे भने उच्चारणै नगर्ने ढंगको धारणा आएपछि सो को प्रतिवाद हुनासाथ महासचिव विष्णु पौडेलले भन्नुभयो, ‘त्यसो हो भने सचिवालयको के काम त ? के यो सचिवालय कुनै निर्णय गर्न नसक्ने गरी असफल भएको हो ? असक्षम भएकै हो ? हामी केही गर्न नसक्ने अवस्थामा पुगेकै हौं ?’

तर, प्रधानमन्त्रीले त्यो आशय पोख्नु अनि महासचिवले त्यस्तो धारणा राख्नुको तात्पर्य अर्कै रहेको बताइन्छ । ती सबै धारणा र आशय प्रधानमन्त्रीको तर्फबाट जसरी पनि सचिवालयमै अल्मल्याएर स्थायी समितिको बैठक नराख्न वा पछाडि धकेल्नको लागि गरिएको वा निकालिएको तर्क मात्र रहेको बहुमत सदस्यहरूको बुझाई छ । यता, बैठक सकिएको केही क्षणमै सचिवालयमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको संबोधनको पाठ हुबहु बाहिर छरपस्ट भएको छ ।

‘अब उक्त विषय पनि सचिवालयको आगामी बैठकमा नयाँ र पेचिलो ढंगले प्रस्तुत हुने’ बताउँदै बहुमत समूहका एक जना सदस्य भन्छन् ‘अबदेखि महत्वपूर्ण बैठकमा बोलिएको अडियो रेकर्ड सबैले सबैलाई दिन सकिने गलत नजिर स्थापित भएको छ ।’ उनका अनुसार बैठकमा, ‘अडियो रेकर्ड गर्ने प्रचलन छैन र यसपटक गर्ने पनि भनिएको थिएन । तर, प्रधानमन्त्री तथा पार्टी अध्यक्षले गरेको संबोधनको पूर्ण पाठको अडियो अन्नपूर्ण दैनिक र गोरखापत्र दैनिकमा साँझतिर सोझै बालुवाटारले उपलब्ध गराएको स्पष्ट भएको छ ।’

उनका अनुसार अन्नपूर्ण दैनिकले प्रधानमन्त्रीको स्वकीय सचिवालयले उपलब्ध गराएको अडियोको सम्पादित अंश भनेर उल्लेख गर्नुले पनि बैठकमा बालुवाटारले प्रविधिको चरम दुरूपयोग गरेको प्रमाणित भएको छ । उक्त घटनाले अब पार्टीको कुनैपनि बैठकमा रेकर्ड हुँदैन भन्ने कुरोको ग्यारेण्टी सकिएकाले भोलिका दिनमा कोही पनि सुरक्षित नरहने सन्देशसमेत दिएको छ । कम्युनिष्ट पार्टीको उपल्लो तहको बैठकमा बोलिएका र व्यक्त गरिएका धारणालाई रेकर्ड गरेर सम्पूर्ण आवाज आफू अनुकूलका मिडिया र व्यक्तिलाई उपलब्ध गराउने परिपाटीले समस्या झन् बल्झिने खतरा छ ।

टिप्पणीहरू