लागुऔषधविरुद्ध सक्रिय अभिराज

लागुऔषधविरुद्ध सक्रिय अभिराज

अभिराज क्षेत्री लागुऔषध विरुद्धका अभियन्ता हुन् । ०३८ भाद्र २१ गते बलबहादुर र रम्भा केसी क्षेत्रीको कोखबाट जन्मेका उनको बाल्यवस्था सुखका साथ बितेको थियो । हाईस्कुलसम्म पढ्दा विदेशबाटै ल्याएका लत्ता, कपडा लगाउँथे । राम्रो बन्नुपर्छ, ठूलो बन्नुपर्छ, रमाइलो गर्नुपर्छ भन्ने भावना थियो । बालापनमा अभाव भएन तर उनको भावनाबमोजिमको रमाइलो भने गर्न पाएनन् । महेन्द्र नमुना उच्च माविमा १२ सम्मको अध्ययन गरेका अभिराजले माध्यमिक तहसम्म अध्ययन गर्ने क्रममा पढाइबाहेक अरुतिर ध्यान दिन पाएनन् । विद्यालयको मिहिनेती जेहेन्दार विद्यार्थीको रूपमा परिचित उनले कक्षा १ देखि १० सम्म कहिले चौथो हुनु परेन, तेस्रो, दोस्रो र प्रथम स्थानमा जहिले उनीसँगैका २, ३ जना सहपाठीबीच प्रतिपस्र्धा हुन्थ्यो ।

कक्षा ९ मा अध्ययन गर्दा विद्यालयको शुल्क बुझाउन पालो पर्खन नसकेर घरबाट लिएको पैसा अन्यत्रै खर्च गरेको थाहा पाएपछि बुबाले हात, खुट्टट्टा बाँधेर घर नजिकको तलाउमा फ्याँकेको घटना अविष्मरणीय क्षण हो । भन्छन्–जेहेन्दार विद्यार्थी म किन लाइन लाग्ने ? भन्ने दम्भका कारण आफू लाइन नलाग्दा बुवाबाट पिटाइ खानुप-यो ।

स्कुले जीवनमा केटा, केटीसँगै बस्ने, हिँड्ने, बोल्ने वातावरण थिएन तर पनि उनलाई सँगै पढ्ने एक जना केटी साथी मन पथ्र्याे । मैले मन पराउने केटी साथीको नामसँग जोडेर मेरो नाम साथीहरूले लेखिदिन्थे–अभिराज विगत सम्झन्छन्–जसले स्कुलमा हंगामा मच्चिन्थ्यो । कतिपय केटी साथीहरू मलाई सम्झाउँथे, तिमी जेहेन्दार विद्यार्थी हौ, पढ अरु कुरामा ध्यान नदेऊ भनेर ।

२०५३ मा एसएलसी उत्तीर्ण गरेका उनले ०५६ तिर वाणिज्य विषयमा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेका थिए । ०५३ सालमा एसएलसी दिने क्रममा विद्यार्थीहरूले नै कोहलपुरको चटारमा वनभोज कार्यक्रम आयोजना गरे । उनका लागि यो जीवनको पहिलो वनभोज थियो । यस्तो दिन कहाँ आउँछ र ? भनेर उनीलगायत सबै उन्मुक्त भई वनभोजमा रमाए । शिक्षक, अभिभावक सहभागी नरहेको सो वनभोजमा भारतीय चलचित्रको प्रभाव परेका विद्यार्थीले जे, जे मन लाग्छ त्यही गरे । त्यही क्रममा उनका केही साथीहरूले चुरोट र रक्सी खान दिए । उनले रमाइलो गर्न त आएको हो भन्दै चुरोटको पहिलो सर्काे ताने, रक्सीको चुस्की मारे त्यही सर्काे र चुस्कीले उनलाई लागुऔषधको दल, दलमा पु-यायो । लागुऔषध प्रयोग गर्ने, नगर्ने नितान्त व्यक्तिगत कुरा हो –उनी भन्छन्–संगतले केही हदसम्म फरक पार्ला तर निर्णय गर्ने आफैँले हो ।

क्षेत्रीको जीवनमा वनभोजको रमझम सकियो, चुरोट र रक्सीको रमाइलो सकिएन । एकपटक खाएको त हो नि भन्दै चुरोट, रक्सी सेवन गर्ने क्रम जारी रह्यो । विस्तारै दिनको ३/४ पटक चुरोट नतानी नहुने भयो । विस्तारै कुलतमा फसे । परिवार सम्पन्न, शिक्षित मात्र भएर हुँदैन, जागरुक, सचेत नभएसम्म सन्तति सही बाटोमा नलाग्ने सम्भावना रहन्छ । उनको जीवनमा पनि त्यही भयो । महिलाले बच्चाहरू हेर्नुपर्छ भन्ने भावना आफ्नो बुवामा रहेको अनुभव अभिराजको छ । उनी भन्छन्–थर्काउने, दण्ड दिने काममा मात्र आफ्नो बुवासँग भेट हुन्थ्यो, आफ्नो सबै रेखदेख आमाले गर्नुहुन्थ्यो ।

०५४ सालतिरको कुरा हो, पढाइमा अब्बल भएका कारण साथीले एसएलसीमा कम्पार्ट परीक्षा दिन लागेकी बहिनीलाई ट्युसन पढाउन आग्रह गरे । पढ्ने, पढाउने रुचि भएका कारण साथीको आग्रहलाई स्विकार्दै ट्युसन पढाउन शुरु गरे । साथीकी बहिनीलाई ट्युसन पढाउँदा, पढाउँदै माया, प्रेम शुरु भयो । सो क्रम गहिरिँदै गयो । कहिले कसो त उनलाई अभिराज भेट्न मध्यरात पनि उनको घर पुगिदिन्थे । दुवै एक, अर्कालाई माया गर्थे तर सो कुरा एक अर्कालाई भनिएको थिएन । यसरी डेढ वर्षसम्म अव्यक्त प्रेम चल्यो ।

यसै क्रममा दसैंदसैंको बेला उनी पहाड घर गइन् । दसैंदसैंको अन्तिम दिनसम्म नेपालगञ्ज फर्किहाल्नुपर्ने उनी २÷३ महिनासम्म नफर्केपछि अभिराज विरक्तिएर खोजीमा काठमाडौं गए । केटी पक्षकाख नातेदारहरूको घर काठमाडौंमा भएकाले भेट्ने अभिलाषासाथ राजधानी हानिएका अभिराजले सोचेजस्तो भएन । घण्टा बिते, दिने बिते, हप्ता बित्यो प्रेमिका भेटिइनन्, उनी निराश भए । १५ दिनसम्म उनको खोजीमा समय खर्चिंदा पनि केही हात नलागेपछि विद्यालयमा सँगै पढेको एक जना साथीको समीपमा पुगे । चुरोट, रक्सीको लतमा सीमित रहेका अभिराजले पहिलो पटक साथीको संगतमा सुइँको माध्यमबाट लागुऔषध लिए, ट्याबहरू मिलाएर खाए । लागुऔषध प्रयोग गर्नेहरूको भावनात्मक सतह एकदम कमजोर हुन्छ–अभिराज भन्छन्–मेरो प्रेमको भावनालाई भुलाउन साथीले मलाई सुई लगाउन लगायो, मलाई पनि त्यस्तै लाग्यो ।

केही समयपछि नेपालगञ्ज फर्किए । काठमाडौंमा सेवन गरिरहेको कडा खालको लागुऔषध नेपालगञ्जमा पनि पाइन थालेपछि करिब २ वर्ष त्यही सेवन गरे । लामो समय टिकाउ रहने उक्त लागुऔषधले प्रेमको पीडा भुलाए जस्तो लाग्थ्यो उनलाई । एक दिनको कुरा हो, प्रेमिका नेपालगञ्ज घर आएको थाहा पाए । उनी खुसीले दौडेर घर पुगे । तर उनको खुसीको क्षण एकैछिनमा चकनाचुर भयो । उनले आफ्नो औंलाको औंठी देखाउँदै  I am engaged  भनिन् । अभिराज अवाक भए, पहाड खसे जस्तो लाग्यो । केही प्रतिक्रिया नदिएर उनी सधैं मेडिकल गए त्यहि औषधिको शरणमा परे । उनीसँगै चलचित्र हेर्न गएको, पहिलो पटक उनीसँग रेष्टुरेण्ट गएका सबै क्षण अब सबै विगत भए । ऐश्वर्या रानी जस्तो सम्झेर गाजलु ती ठुल्ठूला आँखा गीत गाएको, वसन्ती उपन्यासको वसन्ती क्यारेक्टर देख्ने अभिराजको सपना सबै भताभुंग भए । केटीको विवाह भयो । अभिराजले पिडामा यस्तो कविता लेखे – हृदयको क्षणिक घाउ हो, दुखाई मीठो, मीठो हुन्छ, जहाँ चिसो खरानीको पनि राप तातो, तातो हुन्छ ।

रहरमा लागुऔषध शुरु गरेका अभिराजलाई प्रेमको असफलतापछि लागुऔषध बाध्यता भयो । रूपैडिया जाने, आउने क्रम चलिरहँदा उनले कोरेक्स, ब्राउनसुगरसम्म सेवन गरे । त्यति मात्र होइन, यस क्रममा मोजाको पानी, कालोपत्रे, पेट्रोल, स्प्रिट, तारकोल समेत खान भ्याए । जसरी भए पनि नशा लिनु त्यसताकाको दैनिकी थियो । चिया, चुरोट, हलुवा, परौठा खाँदै रूपैडिया जाँदा ठाउँ, ठाउँमा बस्ने, रिक्शा बुक गर्ने, रिक्शावालालाई लुट्ने यि सबै कार्य उनबाट भए । त्यति मात्र होइन घरको धन, दौलत, भाँडा, कुँडा सबै सक्याएपछि अभिराजले लागुऔषधका लागि चोरी, ठगी सबै गरे । चोरी, ठगी सम्भव नहुँदा कसैले भरिया बनाएर पैसा दिए हुन्थ्यो, किड्नी बेच्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो । शान्त स्वभावका अभिराज क्रोनिक भएपछि झगडा, बबाल गर्ने व्यक्ति भए । यस क्रममा लाखौं रकम स्वाहा भयो । कसैले पनि नशा खाएर मर्छु भन्ने सोचेको हुँदैन, अभिराज भन्छन् –अति भएपछि अब सुध्रिनुपर्छ सोचें तर सम्भव भइरहेको थिएन । पहिलो प्रेमको असफलताले रन्थनिएका दोश्रो प्रेम शुरु गरे र दोश्रो प्रेमिकासँग २०५९, २०६० मा विवाह गरे ।

२०६२, २०६३ कोे कुरा हो, लागुऔषध खोज्न ढिलो भएको कारण स्कुल पढाउने श्रीमतीलाई स्कुल छोड्न जान अभिराजलाई ढिलाई भयो, उनी रिसाएर माइत गइछन्, अभिराज माइतै गई फकाएर ल्याए । दुबै जनाको रूपैडिया जाने सल्लाह भयो, जस अनुरूप घरवारीटोलमा गएर खाजा खाई रूपैडिया जाने कुरा भयो । अभिराज श्रीमतीलाई बाईकमा राखेर चारबाहिनी, त्रिभुवनचौक, घरवारीटोल हुँदै धम्बोझि पुगे । धम्बोझी पुग्दै गर्दा उनको मोटरसाइकललाई रूपैडियाबाट आउँदै गरेको ट्यांकरले ठक्कर दियो । मोटरसाइकल तल अभिराज, मोटरशाईकल माथि ट्यांकर भएपछि उनी ठूलो कालबाट जोगिए । प्रत्यक्षदर्शीहरू धेरै भएका कारण उनलाई ट्यांकरले व्याक गरेर मार्न पाएन । श्रीमती उछिट्टिएर टाढा खसिन्, अभिराज रक्ताम्य भए, खुट्टा चुँडिने अवस्थामा पुग्यो, तत्काल नेपालगञ्ज मेडिकल कलेज पु¥याइयो, वरिष्ठ चिकित्सकहरू कोही त्यहाँ नहुँदा लखनउ पु-याइयो, धेरै रगत बगेका कारण अवस्था दयनीय बन्दै गएको थियो । लखनउको साहारा अस्पतालमा उपचार गरियो, दायाँ खट्टा काट्नुप-यो ।

यति ठूलो दुर्घटना भए पनि अभिराजले लागुऔषध छाडेनन्, धेरै उपचार गरे, पुनःस्थापना केन्द्रहरूमा बसे सुधार आएन, धेरैले अभिराज सुध्रदैन भन्थें, उनी सम्झिन्छन्–पछि आफैमा सुध्रिनुको उपाय छैन भनेर प्रतिबद्धताका साथ पुनःस्थापना केन्द्रहरूमा बसेर सुध्रिए । सुध्रिन नसक्ने भनिएका अभिराज सबैका लागि उत्प्रेरणाको स्रोत बन्न सफल भए ।

उनले २०७० मा सहारा हाउस स्थापना गरे । जसबाट ८ सय बढीको उपचार गर्न सफल भए । लागुऔषध बिरुद्धको अभियन्ताको परिचय बनाएका अभिराज एक दशकदेखि लागुऔषधविरुद्ध सशक्त रूपमा क्रियाशील छन् । उनको क्रियाशीलतालाई समाजले सम्मान गरिरहेको छ । उनलाई नेपाल प्रहरी, राष्ट्रिय सेवा दल, सामुदायिक सेवा केन्द्र, बास, लायन्स क्लब, राष्ट्रिय युवा परिषद्, हिभ नेपाललगायत संस्थाले सम्मान प्रदान गरिसकेका छन् ।

टिप्पणीहरू