बालुवाटार, खुमलटार र कोटेश्वरमा तारन्तार

बालुवाटार, खुमलटार र कोटेश्वरमा तारन्तार

मंगलबार दिनभरि प्रधानमन्त्री तथा नेकपा अध्यक्षको सरकारी निवास बालुवाटार,कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटार र वरिष्ठ नेता माधवकुमार नेपालको निवास कोटेश्वरमा विभिन्न भेटघाट भयो ।

सँधै राजनीतिक भेटघाटले प्रमुखता पाउँदै आएको बालुवाटारमा मंगलबार प्रधानमन्त्रीको एउटा कूटनीतिक र अरु आफूनिकटहरुको भेट मात्र भएको बताइन्छ । कूटनीतिक भेटमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क चोङ सुकबीच झण्डै एक घण्टा भेटवार्ता भएको थियो ।

तर,बालुवाटारको तुलनामा खुमलटार भने मंगलबार राजनीतिक भेटघाटमा निकै व्यस्त देखिन्थ्यो । सबैभन्दा पहिले दाहालसँग परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सबेरै भेटवार्ता गर्नुभएको थियो । त्यसपछि वरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतमसँग दाहालले संयुक्त भेटघाट गर्नुभएको बताइन्छ । साँझ दाहाल,वरिष्ठ नेता नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठबीच पनि खुमलटारमा झण्डै एक घण्टा संयुक्त भेटवार्ता भएको थियो ।

उता नेपाल निवास कोटेश्वरमा मंगलबार दिउँसो परिवार दलका अध्यक्ष एकनाथ ढकालले भेटवार्ता गरेका थिए ।

टिप्पणीहरू