भारतीय राजदूतसङ्ग भेटेकै भोलिपल्ट देउवा र ओलीवीच लामो दु:ख सुख

भारतीय राजदूतसङ्ग भेटेकै भोलिपल्ट देउवा र ओलीवीच लामो दु:ख सुख

सत्तारुढ नेकपाभित्रको किचलो पेचिलो बन्दै उत्कर्षमा पुगेको मौकामा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले शनिबार दिउँसो ३ बजेदेखि ६ बजेर १० मिनेटसम्म प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा लामो छलफल र भेटवार्ता गरेका छन् ।

भेटमा काँग्रेसको तर्फबाट देउवा, रमेश लेखक र गोपालमान श्रेष्ठ थिए भने बालुवाटारको तर्फबाट उपप्रधानमन्त्री ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ्ग, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल सामेल भएको बताइएको छ । साँझ प्रधानमन्त्रीसँग नेकपा महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलले समेत भेट्नुभएको थियो ।

देउवासँग हिजो शुक्रबार भारतीय राजदूत विनयमोहन क्वात्राले बूढानीलकण्ठमा भेटेको भोलिपल्ट बालुवाटारमा भएको प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली र नेका सभापति देउवाबीचको भेटलाई अर्थपूर्ण ढंगले हेरिएको छ ।

उता,मनमोहन सिंह भारतीय प्रधानमन्त्री हुँदा सीधै उतै रिपोर्टिङ गर्ने काँग्रेस सांसद अमरेशकुमार सिंहले पनि दौडधुप र भेटघाटलाई तीव्रता दिएका छन् । उनले शनिबार बिहान नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र त्यसपछि वरिष्ठ नेता माधवकुमार नेपालसँग वहाँहरूकै निवासमा भेटी सूचना लिन खोजेका थिए ।

यसबीच राजावादीहरू पनि सल्बलाउन थालेको देखिएको छ । ज्ञानेन्द्र शाही,सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेहरूको सक्रियता निकै बढेको स्रोतको दाबी छ ।

टिप्पणीहरू