सेनाभित्र सौताका सन्तान

नेपाली सेनामा लगभग २ हजार क्लर्कले चपेटामा परेर जागिर खाइरहनुपरेको छ । पीडा अनेक छन् । सेनाले क्लर्कहरुलाई कहिल्यै सैनिकजस्तो व्यवहार गर्दैन । तिनीहरुको वृत्तिविकास र अन्य सेवासुविधाको त कुरै छाडौं । क्लर्कहरुलाई अफिसर दिने भन्ने नियम त बनेको छ तर आसेपासेलाई टीका लगाएर दिने गर्छन् । हामी क्लर्कहरुलाई भर्ना हुँदा तिमीहरु इन्फेन्ट्रीभन्दा केही कम छैनौ भनेर तालिम गराउँछन् तर पछि हवल्दार क्याडेट र जेसिओ क्याडेटमा जाने अवसर छैन ।

बाहिर जेसुकै होस् तर हामी क्लर्कहरुका लागि रुक्मांगद कटवाल चिफ साब भगवान भएर आइदिएकै हो । नत्र अहिलेसम्म शान्ति सेना जान सपनाजस्तै हुने थियो ।

इनसर्भिसहरुलाई पढाइ भए विभिन्न प्राविधिक अफिसरहरुमा जान उमेरको बार थिएन तर ३५ वर्षको बार राखियो किन हो ! एउटा सिपाही अफिसर नहोस् भन्ने सोचाइ हो ? तलको दर्जा काटिँदै अफिसर बनाउँदै गरियो । के सिपाहीभन्दा अफिसर धेरै राख्नुपर्ने हो ? सेना कसरी खुशी हुन्छ ? तालिम र अन्य काममा पेले खुशी हुने सोचाइ हो ? जो जो जर्नेलहरुको आसेपासे हुन्छ, त्यसले मात्र अवसर पाउने हो ? युएनबाट नै नेपाली सेनाको क्लर्क छानेर पठाउनु भनेकोमा गौरवसमशेर चिफ भएको बेला कम्प्युटर महाशाखाको प्राविधिकहरुलाई पनि समावेश गरी छनोट गरियो– जसले सक्छ, त्यही जान्छ भनेर आफ्नै गोजीबाट दिनेजस्तो गरी । जसको कारण अहिले सबैभन्दा धेरै अब्जर्भर तिनै कम्प्युटर महाशाखाका प्राविधिकहरु जान्छन् । दुईपटक शान्ति सेना खान्छन् अनि अब्जर्भर जान्छन् र आएर अफिसर हुन्छन् । तिनलाई अवसर नै अवसर छ र पनि क्लर्कको भाग खोस्न आएकै छन् । किनकि ती प्राविधिकहरु जर्नेलहरुको ल्यापटप बनाउन र अन्य काम गर्न गएर नजिक भएका थिए । पछि त्यो परीक्षामा इन्फेन्ट्रीलाई पनि समावेश गर्न लागियो । शुरुमा जेसिओ क्लर्कले मात्र परीक्षा दिन मिल्ने थियो ।

एकातिर त्यस्तो छ भने अर्कोतिर धेरैजस्तो अफिसर आमाचकारी गाली गर्छन् । यति निच शब्द प्रयोग गरेर बोल्छन् कि तल्लो दर्जा मान्छे नै होइन जस्तो ठान्छन् । कोरोनाले गर्दा लकडाउन शुरु भएपछि अफिसरहरु दैनिक हेडक्वार्टर र घर आउने जाने गर्छन् भने अन्य दर्जाचाहिँ घर आयो भने १५ दिन क्वारेन्टाइनमा बसेर मात्रै अफिस आउन पाउँछन् । कति जनालाई त त्यही क्वारेन्टाइनबाट नै कोरोना लाग्यो । क्वारेन्टाइनमा झन् भद्रगोल र तनाव छ । रक्सी बेसरी खाने र बस्ने ठाउँ हो त्यो । के नेपाली सेनाको अफिसरलाई कोरोना लाग्दैन ? सिपाहीलाई मात्रै हो यो रोग लाग्ने ?

यसैबाट प्रष्ट हुन्छ, नेपाली सेना राम्रो हो तर ८० प्रतिशत यसका अफिसरहरुको तल्लो दर्जालाई मान्छे नै नमान्ने सोचाइले संगठन बलियो छैन । यस्तै व्यवहारले गर्दा तल्लो दर्जा त के, सेनाको अफिसर नै भए पनि कसैले सात पुस्तासम्म आफ्ना सन्ततीलाई जागिर नखुवाउन् भन्ने सोच्न बाध्य बनाएको छ । जिन्दगीभरि अफिसरहरुको छाडा गाली खाने र अन्तिममा परिवार पाल्न खाडी र मलेसिया जाने भए के काम ?

नेपालमै पनि बैंक र अन्य संस्थानमा जागिर खाने भूपू सेनाले सलाम ठोक्दा सेनाको सदस्यको मन रुन्छ कि हाँस्छ ? यसमै हो गर्व गर्ने हामीले ? अर्को कुरा, भर्ना लिँदा ८ कक्षा पास भनेर भर्ना लिने अनि अहिले आएर एसएलसी चाहिन्छ बढुवाका लागि भनेर आफूखुशी नियम बनाउने ? यस्तै यस्तै दुःख लाग्ने कुराहरुले हामीलाई जागिर छोड्न बाध्य बनायो ।

– पीडित कर्मचारीहरू

टिप्पणीहरू