यसरी पो चोर्दा रहेछन् तेल

यसरी पो चोर्दा रहेछन् तेल

भारतको बरौनी र बाराको अमलेखगञ्जदेखि थानकोटस्थित नेपाल आयल निगमको डिपोसम्म ट्याङ्करबाट डिजेल,पेट्रोल,मट्टितेल र हवाई इन्धन ओसार्ने क्रममा विशेषगरी पेट्रोल चोर्ने र मिसावटको घटना सामान्य नै हुन थालेको छ । तर,यसपटक पेट्रोल बोकेर ल्याएका दुई वटा ट्याङ्करमा हवाई यात्राको क्रममा विदेशबाट अवैध सुन,लागू पदार्थ तथा अन्य अवैध सामान ल्याउँदा सुटकेशमा बनाइएको जस्तै फल्स बटम बनाइएको पाइएको छ ।

आयल निगमका अनुसार त्यसो गर्दा तोकिएको परिमाणको पेट्रोलियम पदार्थ प्राप्त हुन सक्दैन । हिजो भारतीय आयल कर्पोरेशनको बरौनीबाट २० हजार लिटर पेट्रोल बोकेर आएका दुई वटा ट्याङ्करमा थानकोट डिपोका कर्मचारीले त्यस्तो अवैध फल्स चेम्बर जडान गरेको रहस्य पत्ता लगाएका हुन् ।

प्रज्वलराज भट्ट, दिपेन्द्रबहादुर बम र सदेन व्यञ्जनकारको नाममा रहेको वीर वेताल आशिर्वाद कम्पनी प्रा. लिमिटेडअन्तर्गतका ना७ख ३६९६ र ना७ख २९९५ ट्याङ्करमा फल्स चेम्बर राखेको पाइएको थियो । निगमका प्राविधिकहरूले ट्याङ्करको भित्र र बाहिरबाट समेत कुनै अनुमान गर्न नसकिने गरी वेल्डिङ्ग गरेर राखिएको सुराकीको आधारमा फेला पारिएको हो ।

निगमले तोकेको मापदण्डविपरित थप अर्को फल्स चेम्बर बनाई जडान गरेको पाइएकाले ती दुईवटै ट्याङ्करलाई प्रचलित कानुनबमोजिम कारबाहीका साथै करिब पन्ध्र लाख रूपैयाँ बराबरको हर्जाना तिराउने प्रक्रिया अघि बढाइएको बताइएको छ । साथै,नेपालको अन्य प्रचलित कानुनबमोजिम थप कारबाहीको लागि नेपाल गुणस्तर तथा नापतौत विभागलगायतका निकायलाई समेत निगमले पत्राचार गरेको बताइएको छ ।

टिप्पणीहरू