केटाकेटीमै फर्केको हो त हजुर ? « janaaasthanews
१४ मंसिर २०७७, आईतवार

केटाकेटीमै फर्केको हो त हजुर ?



अधिवक्ता प्रेमराज सिलवाल

केटाकेटीहरू खेल्छन्, हाँस्छन् र फेरि झगडा गर्छन् । यो मानवीय स्वभाव हो । उखानै छ नि ‘केटाकेटीको झगडा ।’ मानिस दुईपटक केटाकेटी हुन्छन् रे ! बिरालोले मुसा खेलाएजस्तो गरी नेपाली राजनीति चलिरहेको छ । नेपाली राजनीति स्वयं केटाकेटीपनबाट माथि उठ्न नसकेकै हो त ? केटाकेटी भनूँ भने २००७ सालको आन्दोलनमा भूमिका खेलेकाहरू यहीँ छन् । पञ्चायत ढालेका जनता र नेता–कार्यकर्ता पनि यहीँ छन् । राजतन्त्र ढालेका नेता–कार्यकर्ताको त ताँती नै देख्न पाइन्छ । गल्तीगल्लीमा भन्छन् ‘मैले गणतान्त्रिक आन्दोलनमा यति धेरै संघर्ष गरेको थिएँ । सत्तारुढ नेकपामा अहिले दुई पाइलट छन् । प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड । के दुवै केटाकेटी हुन् त ? के दुवैमा परिपक्वता आएकै छैन ? कि हाम्रो राजनीतिक प्रणाली, समाज र विकासक्रम नै पो केटाकेटी हो ?

राजनीति नीतिको पनि मूल नीति हो । मूल नीति बिग्रिएपछि अरू नीतिको हालत के होला ? सामाजिक नीति, विकास नीति, साँस्कृतिक नीति सप्रन सक्ला ? मान्छे हण्डर र ठक्कर खाएपछि सच्चिन्छ । प्रधानमन्त्री १४ वर्ष जेल–नेल भोगेको सम्मानित नेता हुनुहुन्छ । प्रचण्डले त दशवर्षे जनयुद्ध हाँक्नुभएकै हो । सेनासँग आमने–सामने भिडेकै हो । नेपााली इतिहासमा उहाँले जति राजनीतिक जागरण कसैले ल्याएन । यो साँचो कुरा हो ।
पार्टीलाई आफू फलानो दलको हुँ भन्न पाउने ‘पाटी’ बनाइसकियो । पहिले नेकपा नहुँदा यो पदमा थिएँ भन्दै मान्छे मर्न लागिसके, नयाँ भूमिका दिइएको छैन । पार्टीको विचार, मूल्य, मान्यता, संगठन, संरचना, भूमिका के हो ? संगठन र राजनीतिक क्रिया कता छ ? बैठक, कमिटी प्रणाली, नीति र राजनीतिक जिम्मा कता छ ? सचिवालय बैठकका लागि ‘बिन्ती’ हाल्नुपर्ने कस्तो अवस्था हो यो ? यही हो गतिशील पार्टी ? यस्तै थियो लेनिनले भनेको जनवादी केन्द्रीयता ? यसरी नै सञ्चालन हुने हो पार्टी ? हजारौंको बलिदान यसकै लागि हो ? बैठक–बैठक र बैठकको गोलचक्करमा मुलुक फसेकै हो ? कि बृद्ध नेतागणमा केटाकेटीपन फर्किएर आयो ?

‘तपाईं फटाहा हो ।’ ‘तपाईं जाली हो ।’ ‘तपाईं झन् जाली हो ।’ मुुलुकमा गणतन्त्र ल्याएको यस्तै सुन्नलाई हो ?

‘तपाईं फटाहा हो ।’ ‘तपाईं जाली हो ।’ ‘तपाईं झन् जाली हो ।’ ‘तपाईं झन् महाजाली हो ।’ ए हजुर के भन्नुभएको यस्तो ? मुुलुकमा गणतन्त्र ल्याएको यस्तै सुन्नलाई हो ? विकास, सुरक्षा, सुविधा, सम्पन्नता, सहभागिता, समृद्धि, उन्नति, प्रगति भन्ने शब्दको अब कुनै अर्थ छैन ? एकता–एकताको नारामै मलुक अघि बढ्ने तर एकताचाहिँ कहिल्यै नहुने ?

महामारीको कहर बढेको बढ्यै छ । मानिसहरू उपचार नपाएर मर्दै छन् । नयाँ अस्पताल बनेका छैनन् । स्वास्थ्य मन्त्रालयको ‘कोरोनाको संख्या यति’ भन्नेबाहेक खासै गम्भीर केही भूमिका छैन जस्तो । के हो यो ? ९ जनाको सचिवालय छ बैठक बस्न पनि ९ महिना लाग्ने किन हो ? ‘आफूलाई सबै विषयमा पहिल्यै समर्थन गर्नुस् अनि मात्र बैठक बोलाउने हो ।’ भनेको के हो ? राजनीतिशास्त्रमा योभन्दा केटाकेटीपना अर्काे के होला ? कमिटी भनेकै विभिन्न दक्षता, क्षमता, विचार, मूल्य, भूमिका, हैसियत, ज्ञान, सीप र धारणा आदि भएका मानिसको संरचना होइन र ? सबैले आफूले राखेकै जस्तो धारणा, विचार, मान्यता, सोच राख्नुपर्छ तब मात्र बैठक बोलाइन्छ ? योभन्दा राजनीतिमा केटाकटीपना अर्काे होला र ? पार्टीको अध्यक्ष भनेको सचिवालयमा पनि ९ मध्ये प्रमुख (टप अमोङ्ग नाइन) हो । पार्टी भनेको स्वयं आफैँ (अल इन अल–अल इन वान) हो त ? यसरी बच्चाहरू गौचरणमा गुच्चा खेल्दा ‘तँ झेली’ र ‘तँ महाझेली’ भन्ने आरोप लगाएरझैँ के रमिता देखाउँदै हुनुहुन्छ प्रधानमन्त्री र अध्यक्षज्यू ?

राजनीति नीतिको पनि नीति हो । सिद्धान्ततः यसमा कुनै भ्रम छैन । नीतिको पनि नीतिलाई हाँक्नेहरू स्वयं बच्चा हुनुभएको हो ? राजनीतिको असर समाजमा प्रत्यक्ष (डाइरेक्ट) पर्छ । राजनीतिबाटै हाम्रा सामाजिक, आर्थिक, साँस्कृतिक मूल्य र नीतिमा बढी प्रभाव पर्छ । अब मुलुक सञ्चालनको प्रमुख भूमिका र हैसियतमा भएका आदरणीयहरूहरू नै केटाकेटीझँै झगडामा उत्रने ? बैठक स्वयं बोलाएर सहमति, सहकार्य, एकता, सन्तुलन, विधि, प्रक्रिया, प्रणाली, सहअस्तित्व, राजनीतिक मूल्य, राजनीतिक नैतिकता र मूल रूपमा गणतान्त्रिक प्रणालीको स्थापना गर्ने कि बच्चाले जस्तै ‘यो मान्छस् भने तँसँग खेल्छु नत्र खेल्दिनँ’ भनेजस्तो गर्न मिल्छ ? पार्टीमा बरोबर योगदान र भूमिका भएको पूर्वप्रधानमन्त्री झलनाथ खनाल, माधवकुमार नेपालहरूलाई जहिल्यै उछित्तो मात्रै काढेर मुलुक र पार्टी बन्न सक्ला ? नेताको पनि नेताले सहने–सहमतिको निम्ति व्यापक पहल गर्ने कि उपद्रो गर्ने ? नेताको पनि नेताले सबैलाई मिलाएर लैजाने कि केटाकेटीले झैँ कि तँ छैनस् कि म छैन भन्ने ? जहिल्यै बैठक भन्ने तर ठोस निर्णय केही पनि नगर्ने, खाली आरोप लगाउने ? सबैको कम–बढी भूमिकाले पार्टी बनेको हुन्छ । कुनै कारण, परिस्थिति, भूमिका, अवस्था, बुद्धि सबैको जोडले मात्र कोही नंं. १ नेता बनेको हुन्छ । अब १ नम्बरले जे पनि गर्न हुन्छ त हजुर ? मूल नेता भनेको आलोचना खेप्ने, नेतृत्व दिने, सहमति पनि गर्ने हो नि होइन ? मान्छेले आफ्नो लाभका लागि खोलेको प्राइभेट लिमिटेड कम्पनीमा पनि स्टाफ (नोकर) सँग समेत सल्लाह, सहयोग, सहकार्य र हार्दिकता देखाएरै अघि बढिएको हुन्छ । के एउटा कम्पनी जति पनि हुन नसकेको हो त नेकपा ? ८ लाख सदस्य छन् भन्न सक्नेले तीसदस्य कस्तो भूमिकामा छन् भन्ने हिसाब राख्नु पर्दैन ? जहिल्यै बच्चाको जस्तो पाराले पार्टी कता पुग्ला ? यसको जवाफदेही को हुने, कि कोही पनि नहुने ?


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

प्रताप हराएका प्रतापीहरू
द्वन्द्वकालीन घाइतेको सरकारले निःशुल्क उपचार गर्ने
बैठकवारे वामदेव
शेयर बजारमा एतिहासिक कीर्तिमान