आठ महिनासम्म आपतै आपत

आठ महिनासम्म आपतै आपत

आठ महिना भयो चलचित्र क्षेत्र ठप्प भएको । बिहान काम गरेर बेलुका हातमुख जोड्नुपर्ने प्राविधिक र कलाकारको हविगत यति विरहलाग्दो छ कि धेरैजसो प्राविधिक रत्नपार्कमा निःशुल्क बाँडिएको खानाको प्याकेट लिन लाइन लाग्ने गरेका थिए । पब्लिक फिगर भएका कलाकार लाजले त्यहाँ देखिएनन् । तर, पर्दापछाडि काम गर्ने सिनेकर्मी निःशुल्क खाना लिन लाम लाग्नुपर्ने अवस्थामा पुगेका हुन् ।

चलचित्रकर्मी र कलाकारको अभिभावक संस्था चलचित्र विकास बोर्डले दसैंको मुखमा केही कलाकार र प्राविधिकको बैंक खातामा ५ हजारको दरले पैसा त हालिदिएको हो तर त्यो रकम हात्तीको मुखमा जिरा बराबर भैदियो । आठ महिनादेखि यो उद्योग ठप्प हुँदा झण्डै ३ लाख जनशक्तिको रोजीरोटी गुमेको आकलन गरिएको छ । र, यी कर्मचारी, चलचित्रकर्मीका लागि मात्र बोर्डले ३५ लाख रकम खर्च गरिसकेको जनाइएको छ ।

चलचित्र निर्माताका अनुसार यो क्षेत्रमा झण्डै ४० हजारले प्रत्यक्ष रोजगारी पाएका थिए । देशैभरका २१९ वटा हल पूर्णतया बन्द छन् । यसको मारलाई कर्मचारीलाईसमेत परेको छ । प्राविधिकझैं समस्यामा छन् निर्माता । रिलिज गर्न ठिक्क परेका २२ वटा चलचित्र दराजमा थन्किएका छन् । छायांकनकै क्रममा रहेका १५ र तयारी चल्दै गरेका २० गरी ५७ वटा चलचित्रका निर्माता कोरोना कहरको प्रत्यक्ष असरमा छन् । यसमा निर्माताहरूको झण्डै अर्ब बढी रकम डुबेको बताइन्छ । औसतमा एउटा चलचित्र निर्माण गर्न ३ करोड लाग्छ । यही हिसाबले १ अर्ब ७१ करोड रूपैयाँ रकम डुबिसकेको छ । पछिल्लो सात महिनामा झण्डै ५ अर्ब गुमाएको हल सञ्चालक पीडा पोख्छन् । हल मालिकका अनुसार दशेभर ७२ हजार सिट छन् । यी हल दैनिक तीन सिफ्ट सञ्चालन हुने गरेको थियो । सिनेमा हलले फिल्म चलाउन नपाउँदा मासिक ७० करोड हाराहारी गुमेको छ ।

यस्तै, बोर्डले निर्माण हुने चलचित्रको बिमा गरिदिने भएको छ । चलचित्रको निर्माण अवधि ६ महिना राखेर बिमा गरिदिने भएको हो ।

टिप्पणीहरू