नेवारहरुले किन गर्छन् म्ह: पूजा ?

नेवारहरुले किन गर्छन् म्ह: पूजा ?

सुरेश किरण

आज म्हपूजा । उपत्यकाका नेवार समुदायको अत्यन्त मौलिक एवं दार्शनिक चाड । म्हपूजा आज भए पनि केहीले भने हिजै पनि मनाइसके । यसपाली तिथि गणनामा आएको विवादका कारण म्हपूजा मनाउने समय दुई दिन हुन आएको थियो । तर त्यो कुनै विवाद वा रोइलाको विषय भने होइन । नेवाः समुदाय आफैमा एक विविधताले भरिएको समाज हो । नेवाः समुदायमा बौद्ध, हिन्दू, शैव, मुस्लिम धर्म मान्ने मानिसहरू छन् । यही समुदायमा छुन मिल्ने र छुन नमिल्ने जातिहरू छन् (तथापि त्यो अहिले क्रमशः घट्दो क्रममा छ) । ठीक त्यसरी नै तिथि गणना गर्ने विद्यामा पनि विविधता रहेको छ । त्यही विविधताका कारण पर्व मनाउने दिनमा पनि विविधता आएको हो । नेवाः समुदायभित्र विद्यमान यो विविधताको विशेषतालाई नबुझ्नेहरू यसलाई विवादको विषय बनाइरहेका छन् जो अनावश्यक हो ।

पर्व दुई दिन मनाए पनि त्यसभित्र विद्यमान दर्शन, त्यसले दिने सन्देश र त्यसप्रतिको मान्यता भने एउटै हो, दुइटा होइन ।

नेपालभाषामा ‘म्ह’ को अर्थ हुन्छ शरीर । अतः ‘म्हपूजा’ शब्दबाटै थाहा हुन्छ, यो शरीरको पूजा हो । आफ्नो शरीरलाई आफैले पूजा गर्ने संस्कृति नै म्हपूजा हो । कसै कसैले यसलाई आत्माको पूजा पनि भन्ने गरेको पाइन्छ । तर होइन । आत्माको पूजा गर्ने संस्कारहरू भिन्नै छन् । म्हपूजा ‘म्ह’ अर्थात शरीरकै पूजा हो ।

नेवाः समाज एउटा यस्तो समुदाय हो जसले आफूलाई सहयोग गर्ने जोकोहीप्रति पनि कृतज्ञता ज्ञापन गर्दन् चाहे त्यो व्यक्ति होस् वा वस्तु । दशैँमा आफ्नो पेशा÷व्यवसायमा सहयोग गर्ने सबै ज्यावलहरूको पूजा गर्छन् । तिहारमा आफ्ना सहयोगी कुकुर र कागको समेत पूजा गर्छन् । त्यति मात्र होइन आफ्नो घरेलु काममा सहयोग गर्ने कुचो, नांग्लो, घडा, करुवा आदिको समेत पूजा गर्छन् । ठीक त्यसरी नै आफ्ना शरीरको पनि पूजा गर्छन् ।
म्हपूजा गर्दा सबैभन्दा पहिले आफू बस्ने आसनको अगाडि एउटा मन्दः (मण्डल) बनाउने गरिन्छ । उक्त मन्दः भनेको व्यक्तिको प्रतिबिम्ब हो । व्यक्तिलाई गरिने पूजाहरू सबै सोही मन्दःमा गरिन्छ । मन्दः बनाउँदा त्यसमा जीवनका विभिन्न अवस्थाहरूको प्रतीक स्वरुप पानीको चक्का, तेलको चक्का बनाई त्यसमा म्हपूजा गर्दा मानिसको जीवनमा अन्धकार नाश होस् भनी लामो इताः मत बाल्ने गरिन्छ जसलाई खेलुइताः भनिन्छ । त्यस्तै जीवनयात्रा कहीं पनि टुट्न नजाओस् भनी त्यसमा ओखर पनि राख्ने गरिन्छ ।

कार्तिकशुक्ल प्रतिपदाका दिन म्हपूजा गरिसके पछि उक्त व्यक्तिलाई सो वर्षभरि कुनै पनि प्रकारको रोगव्याधीले दुःख नदिने, जीवनमा आइपर्ने कुनै पनि संकटसँग जुध्नसक्ने र जीवनमा प्रगति गर्न सक्ने विश्वास गरिन्छ । अतः म्हपूजा व्यक्तिको जीवनमा सांस्कृतिक रूपमा शुरु नयाँ वर्ष नै हो ।

तत्कालीन समयमा उपत्यकावासी जनताको सामाजिक जीवन कृषिमा आधारित थियो । उनीहरूको पूरा वर्ष नै कृषि सम्बन्धी विभिन्न कार्यहरू गरी सम्पन्न हुने गर्दछ । जेठ–असार महिनामा धानको बाली लगाउने गरिन्छ । कृषिमा धान सबैभन्दा महत्वपूर्ण वाली हो । जीवन यसैमा निर्भर रहेको हुन्छ । धान रोपाइँ चलिरहेको बेला यहाँ कुनै पनि प्रकारको चाडपर्व मनाउने गरिँदैन । धानको रोपाइँ सकेपछि मात्रै अरु विभिन्न पर्वहरू शुरु हुन थाल्दछ । धान रोपाइँ पछि आउने पहिलो पर्व हो गथांमुगः । गथांमुगः पछि नेवार समुदायका विभिन्न चाडपर्वहरू शुरु हुन्छन् । जस्तो गुंला पर्व, गाईजात्रा, इन्द्रजात्रा, मछिन्द्रनाथको जात्रा आदि । यी जात्राहरू सके पछि धान काट्ने काम हुन्छ । धान काटेर नयाँ फसल भित्र्याएको उपलक्ष्यमा ठूलो चाड दशैँ मनाइन्छ ।

दशैँमा भित्र्याएको नयाँ धानलाई तिहार अगाडी नै बाँडफाँड गर्नु छ भने बाँडफाँड गरिन्छ । कसैले धान दिएर आफूलाई चाहिएको अर्को सामान लिन्छ । कसैसँग सापटी लिएको छ भने, तल्सिं भाग तिर्नु छ भने वा राज्यलाई बुझाउनु छ भने त्यही धान बुझाएर हिसाब राफसाफ गरिन्छ । यो एक हिसाबले तत्कालीन समयमा गरिने ‘क्लोजिङ’ पनि हो ।

यसरी सबै हिसाब किताब गरिसके पछि अन्तिममा जो बाँकी रहन्छ त्यसलाई उक्त वर्षको कुल नाफाका रूपमा लिइन्छ । यो वर्ष आफूले गरेको उक्त आम्दानी जम्मै लक्ष्मीपूजाका दिन देवी लक्ष्मीलाई चढाएर पूजा गरिन्छ । आफूले यो कमाएको आम्दानी क्षय नहोस्, यो अझ बढोस् भन्ने कामना गरी धनकी देवी लक्ष्मीलाई धन सम्पत्ति राखेर पूजा गरिन्छ ।

यो वर्ष आफूले कमाएको सम्पूर्ण आय–व्यय समापन गरिसके पछि अब अर्को वर्षमा पनि पुनः त्यसरी नै कमाई हुने गरी काम गर्न सकियोस् र वर्षभरि नै आफ्नो शरीरलाई कुनै पनि प्रकारको रोगव्याधी जस्ता दुःखकष्टले आक्रमण गर्न नसकोस् भनेर आफ्नो शरीरलाई रिचार्ज गर्ने उद्देश्यले गरिने पूजा नै म्हपूजा हो । अतः म्हपूजा सांस्कृतिक रूपले मनाइने नयाँ वर्ष नै हो ।

म्हपूजा गर्ने अत्यन्त पुरानो हो । इतिहासकारहरूले म्हपूजालाई १८०० देखि २००० वर्ष पुरानो संस्कृतिको रूपमा लिएका छन् । आजभन्दा ११४१ वर्ष अघि जब शंखधर साख्वाः नामधारी एक व्यापारी एवं समाजसेवीले आफ्नो सम्पत्तिबाट ऋणमा डुबेका तत्कालीन नेपाली जनतालाई ऋणमुक्त गरे, तब देशमा नयाँ युग शुरु भएको संकेत स्वरुप नयाँ संवत् चलाउने कार्य गरे । त्यो नयाँ संवत्को नयाँ वर्ष म्हपूजाकै दिनदेखि शुरु गर्ने कार्य अघि बढाए । किनभने म्हपूजा उसै पनि सांस्कृतिक, सामाजिक, प्राकृतिक एवं व्यवहारिक रूपले मनाउँदै आइरहेको नयाँ वर्ष नै थियो । तत्कालीन समाजमा म्हपूजा बाहेक अर्को दिनलाई नर्या वर्षका रूपमा मान्ने सम्भव नै थिएन ।
म्हपूजा विशेषतः नेवाः समुदायले मनाउने पर्व भए पनि यसमा अन्तर्निहित दर्शनको आकर्षणले गर्दा अहिले देशका विभिन्न ठाउँमा गैर नेवाः समुदाय र विदेशमा स्थानीय नागरिकहरू समेत म्हपूजामा सरिक हुन लालायित बन्न थालेको पाइन्छ ।

टिप्पणीहरू