हिमालयन बैंक पनि ओरालोतिर

हिमालयन बैंक पनि ओरालोतिर

दशैंपछि बैंक तथा वित्तीय संस्थाहरूले चालु आर्थिक वर्षको पहिलो त्रयमासको वित्तीय विवरण भटाभट सार्वजनिक गर्न थालेका छन् । यसअघि कोरोना,लकडाउन र निषेधाज्ञाको कारण आफ्नो कारोबारमा धक्का लागेको बताएपनि अधिकांश बैंक तथा वित्तीय संस्थाले गत वर्षकोभन्दा बढी वा सोसरह नाफा गरेका छन् । तर,केहीले भने पोहोरको तुलनामा निकै कम नाफा गरेको देखिएको छ । यसरी झण्डै ५० प्रतिशतले नाफा घटेका बैंकहरूको सूचीमा एभरेष्टपछि हिमालयन बैंक देखिन आएको हो ।

प्राप्त विवरणअनुसार बैंकले चालु आवको पहिलो त्रैमासमा ३६ करोड ५९ लाख १४ हजार रूपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा कमाएको नाफा ६९ करोड ४२ लाख रूपैयाँ थियो । गत आवको तुलनामा यो वर्ष ४७ दशमलब २९ प्रतिशतले घटेको नाफा रकम ३२ करोड ८३ लाख हुन आउँछ । उक्त अवधिमा बैंकको कर्जा प्रवाहमा पनि उल्लेख्य कमी आएको छ ।

विगतमा लामो समय सञ्चालक समितिका अध्यक्ष मनोजबहादुर श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक समशेर जंगबहादुर राणाबीच सम्बन्ध सुमधुर थिएन । पछिल्लो दिन हिमालयन बैंक मर्जरको विषय पनि बेवारिस हुँदै गएको छ । कानुनविपरीत कर्मचारी सञ्चय कोषका प्रशासक तुलसीप्रसाद गौतम अहिले पनि हिमालयन बैंकको अध्यक्ष रहेका छन् । बैंकमा पाकिस्तानको हबिब बैंक लिमिटेडको २० प्रतिशत सेयर लगानी रहेको छ ।

टिप्पणीहरू