हिरासतमा कोरोना आतंक

हिरासतमा कोरोना आतंक

– अनिल शर्मा बिरही

बिहान ४ बजे ब्युँझिए पनि ४.३० मा उठें । नित्यकर्म सकेर कोरोनाको ‘ओली ओखती’ खाएँ । त्यसपछि ५.३० सम्म समाचार सुनेर बसें । आजको पुस्तालाई खबर सुन्न काँधमा रेडियो भिरेर हिँड्नुपर्दैन । तारविहीन डल्लो गोजीमा खुत्रुक्क राखे भइहाल्यो । साबुनपानीले मिचिमिची हात धोएँ । विडम्बना, हामी हात धुन सिक्दैछौं र कोरोना जीवाणुको महामारीपछि चम्चाले भात खाने बानी बसेको छ ।

अध्ययन गरेर बसिरहेको थिएँ । विश्वास र सिर्जना सानो बच्चा बोकेर आए । यस्तो बेला जरुरी नपरी अस्पताल आएको राम्रो लागेन । अब त्यसो नगर्न भनें, सिर्जनाले मलाई पनि भेट्न मन लाग्यो, के गर्नु त भनिन् । विश्वासको किताबका लागि भूमिका लेखिदिएको थिएँ, त्यो थमाएर पठाएँ ।

आज अनिता बहिनीले खाना बनाएर ज्वाईंसँग पठाएकीले होटलबाट खाना ल्याउनु परेन । खाना खाएर प्रेस काउन्सिलको संहिता जर्नलको लागि लेख तयार गर्ने सोचअनुसार सामग्री जम्मा गरें । मनमा रेखाचित्र तयार गरें । बिहान काठमाडौंबाट मरिचे सरको फोन आयो । ‘राउटेले विज्ञप्ति तयार गरिदिनुप¥यो भनेको छ, सकिन्छ र ?’ उसको भनाइ थियो । राउटेको लागि विज्ञप्ति तयार गरेर भतिजलाई बिजुलीपत्रमा पठाइदिन लगाएँ । ठगी, घरेलु हिंसा, महिला हिंसा र प्रहरीमा भ्रष्टाचारका चारवटा मुद्दा हिरासतमै आए । तिनीहरुलाई प्रचार र सम्पर्क गराइदिएँ ।

दिउँसो चिकित्सक आएका थिए । ढोकामा नर्स र डाक्टर नजिक हुँदा नर्स झस्केर परपर सरिन् । डाक्टरले हाँस्दै ‘मसँग पनि त्यस्तरी डराउनुपर्छ र’ भनेका थिए । अस्पतालका पाँच जना डाक्टरमा कोरोना जीवाणु संक्रमण देखिएको र आकस्मिक सेवाका नर्समा संक्रमण भएका कारण नर्सहरु त्यसरी तर्सेका छन् । को–कसलाई संक्रमण छ भन्ने थाहै छैन । अस्पताल बन्द छ र पहिलेदेखि भर्ना भएकालाई पनि सकेसम्म घर पठाइँदैछ । हिजोदेखि सुनसान भएको अस्पताल ठप्प छ । सफाइ मजदुरले ‘आज त सुनसान छ, भूत आउँछ होला, डर लाग्छ’ भन्दै थिइन् । मलाई पनि हटाउने हुन् कि भनेर कमल पाठक, गोपीलाल देवकोटा र नारायण गिरीलगायत कानुनी सहयोगीलाई फोन गरें । अपराह्नतिर अगाडिको कोठामा दुईजना बिरामी आए । बिरामी थपिँदा खुशी लाग्यो । शल्यक्रिया गरेर राखिएका बिरामी सारेको रहेछ ।

चालु रातो खबर साप्ताहिकमा मेरो लेख भारतका पूर्वप्रधानमन्त्री (निधन) राजीव गान्धीको नाममा प्रकाशित रहेछ । पत्रकारको चेतना र कार्यशैली देखेर आफैंलाई लाज लाग्यो र भीमलाई गुनासो गरेंं । मेरो अवस्थाको विषयमा विद्युतीय अखबारमा समाचार थियो । त्यसको लागि धन्यवाद दिएँ । कमरेड शिलु उमा भुजेलले धरान हिरासतबाट फोन गर्नुभएको थियो । कोरोना जाँच प्रतिवेदन ‘नेगेटिभ’ रहेछ । पत्नी शोभा दुलालसँग अबेर कुरा भयो । जानुकाले बच्चा अस्पताल लगेको डाक्टर नै नभएकाले घरेलु उपचार गर्न भनी नैकाप आएको थाहा भयो । एक सय मात्र मृत्यु हुँदा नै त्यस्तो अवस्था छ । खगेन्द्र संग्रौलाको चित्रणभन्दा फरक छैन देशको अवस्था । कम्युनिष्ट नामक गैरजिम्मेवार सरकारबाट शासित छ देश ।

आज भेटघाटमा कोही आउने सम्भावना थिएन । त्यसैले नेटमा दौडेर सञ्चारसम्बन्धी धेरै नै लेखहरु अध्ययन गरें । भियतनाम युद्धमा अमेरिकी सञ्चारको भूमिका, अल जजिरा र बिबिसीका प्रसंगहरु रोचक थिए । अमेरिकाको तुलनामा युरोप र एसियाको लोकतान्त्रिक मूल्य अब्बल अनुभूति भयो । साँझमा अरुन्धती रोयको जीएन साइबाबालाई लेखेको खुलापत्र अध्ययन गरें ।

अबेर नुवाकोटबाट कुमार पण्डित र रसुवाबाट रामशरण पौडेलको फोन आयो । धेरै वर्षदेखि खुटखबर नभएका उनीहरुसँगको भेट खुशीको विषय थियो । साँझ ८ बजे बेलुकाको खाना खायौं । १० बजेसम्म त्यत्तिकै डाँडाभाटा गनेर बिताएँ । १० बजेपछि त निद्रा नलागे पनि भित्तातिर फर्केर सुत्ने गरेको छु । आज पनि त्यही त हो । ९.३० तिर अनलाइन हेरें । आज दोरम्बा स्मृति दिवसको सम्झनामा लेख आए हुन्थ्यो भन्ने लागेको थियो । आज आउनु नै अर्थपूर्ण हुन्थ्यो तर आएन । आफ्नो हातमा पहलकदमी भएजस्तो हुने कुरा पनि भएन ।

– भरतपुर अस्पताल, चितवन

टिप्पणीहरू