मारवाडीसँग सानिमा मख्ख « janaaasthanews
१८ मंसिर २०७७, बिहीबार

मारवाडीसँग सानिमा मख्ख



पूर्व अर्थमन्त्री, प्रधानमन्त्रीका पूर्व आर्थिक सल्लाहकार तथा अमेरिकाको लागि प्रस्तावित राजदूत डा.युवराज खतिवडासँग निकट विशाल ग्रुपसँगको कनेक्सनमा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल मज्जैले तानिएका छन् । विदेश बस्ने (गैरआवासीय) नेपालीहरूद्वारा प्रवर्धित र वित्तीय अवस्था राम्रो भनिएको उक्त बैंकको भित्री पाटो लथालिङ्ग हुँदै गएको देखिएको छ । स्वयं दाहालले खतिवडासँगको सामिप्यताका आडमा आफ्नो फाइदाका निम्ति नियमनकारी निकायलाई समेत पछिल्लो अढाइ वर्षमा टेरपुच्छर नलगाएको प्रमाणसहितको समाचार जनआस्थाले केही समयअघि प्रकाशित गरेको थियो ।

विशाल ग्रुपका अग्रवालहरूको लगानी सबैभन्दा धेरै एनआईसी एशिया बैंकमा छ । गु्रपले धेरैवटा आयात–निर्यात व्यापारमा समेत हात हालेको छ । चकलेट तथा विद्युतीय सवारी साधनको आयातमा चालु आर्थिक वर्षको बजेट घोषणाअगावै करको दर हेरफेरसम्बन्धी सूचना प्राप्त गरेर राजश्व आम्दानीमा करोडौंको चलखेल भएको समाचार बाहिरिएपछि संसदको गत अधिवेशनमा चर्को आवाज उठेको थियो । अहिले त्यहि समूहको एउटा कम्पनीलाई सानिमा बैंकले विभिन्न स्वार्थमा वित्तीय विवरणको अध्ययन नै नगरी करोडौं ऋण प्रदान गरेको र कोभिड–१९ को अवस्थालाई देखाउँदै कर्जा र ब्याज भुक्तानीमा अनुचित सुविधा दिएको रहस्य बाहिर आएको हो ।

सानिमा बैंकको उच्च स्रोतका अनुसार, कतिपय अवस्था र निर्णयमा सञ्चालक समिति र कम्पनी सचिवलाई समेत पन्छाउँदै दाहालले नै सोझै डिल गर्ने गरेको सन्दर्भमा उक्त विषयलाई शंकाको दृष्टिकोणले हेरिएको छ । स्रोतको दाबी छ ‘विशाल ग्रुपका निकुञ्ज, अमित र सुमित अग्रवालको नाममा रहेको मोबाइल कारोबार गर्ने प्राइभेट कम्पनीलाई २० करोड रूपैयाँ ऋण प्रदान गर्नुअघि उक्त कम्पनीको अघिल्लो आर्थिक वर्षको वित्तीय विवरणको विस्तृत अध्ययन नै गरिएन ।

कर्जा विभागले आवश्यक प्रक्रिया पुर्‍याउने तयारी गरिरहँदा सीईओले तत्काल कर्जा उपलब्ध गराउन निर्देशन दिएपछि कर्मचारीहरू बाध्य भएका थिए । मोबाइल कम्पनीले आर्थिक वर्ष २०७५÷७६ को आफ्नो वार्षिक वित्तीय विवरणमा पाउनुपर्ने हिसाबतर्फ अत्यधिक रकम देखाए पनि बैंकले जानाजान आँखा चिम्लियो ।

मोबाइल फोनको कारोबार गर्ने त्यहि कम्पनीलाई अहिले सानिमाले कोभिड–१९ को कारण व्यवसायमा सङ्कुचन आएको भन्ने निवेदनका आधारमा अनुचित सुविधा दिएपछि बैंकका कर्मचारीहरूमा चरम असन्तुष्टि चुलिएको बताइन्छ । विश्वव्यापी महामारीको रूपमा देखिएको कोभिड–१९ ले अन्य व्यापार तथा व्यवसायको नाफामा असर गरेपनि मोबाइल र ल्यापटप व्यापारमा भने बढोत्तरी आएको छ । तर, लामो समयदेखि कर्जाको साँवा र ब्याज किस्ता नियमित भुक्तानी नगरेको उक्त कम्पनीलाई दाहालको निर्देशनमा दिइएको पचासौं लाख रूपैयाँको छुटले सबैलाई झस्काइदिएको हो ।

त्यसैगरी, काठमाडौं, महाराजगञ्जको एउटा अटोमोबाइल्स कम्पनीलाई पनि स्टक हिसाबको परीक्षण नै नगरी अत्यधिक कर्जा प्रदान गर्न दाहालले नै अग्रसरता लिएका थिए । बैंकले प्रवाह गर्ने कर्पोरेट कर्जामा सबैभन्दा ठूलो कमजोरी नै स्टक हिसाबको तथ्यपूर्ण परीक्षण नगरी कर्जा स्वीकृत गर्नु हो । अटोमोबाइल्सले लिएको पाँच करोड रूपैयाँ कर्जा बेलैमा साँवा र ब्याज भुक्तानी नगरेको कारण खराब कर्जामा परिणत भइसकेको छ । तरपनि बैंकले उक्त कर्जालाई नियमानुसार खराब कर्जामा वर्गीकरण गरेको छैन ।

सानिमा बैंकको एकपछि अर्को बदमासीको अगाडि केन्द्रीय बैंक पनि निरीह बन्दै आएको छ । खतिवडासँगको सामिप्यतालाई शो गर्दै उनले राष्ट्र बैंकलाई केही वर्षदेखि टेर्नै छाडेका थिए । तर, गत भदौमा खतिवडा अर्थमन्त्रीबाट हटेपछि र असोजमा राजदूत नियुक्तिको सिफारिशमा परेपछि भने दाहाल केन्द्रीय बैंकको नेतृत्वसँग ट्युनिङ्ग मिलाउने नयाँ रणनीतिको खोजीमा लागेको स्रोतको दाबी छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

दलित बीचमै दलन
कम्युनिष्टको झगडा र कांग्रेसको रणनीति
नेकपा लिग अफ नेशन्सको बाटोमा पुग्न लागेकै हो ?
ओली आउने भनेर गएका, राजावादीले समेत जोरी खोजेका