पूर्व प्रधानमन्त्री झलनाथले मान्छे चिन्नुहुन्न ? « Jana Aastha News Online
Logo
१२ माघ २०७८, बुधबार
|  Wed Jan 26 2022
Logo
१२ माघ २०७८, बुधबार
|  Wed Jan 26 2022

पूर्व प्रधानमन्त्री झलनाथले मान्छे चिन्नुहुन्न ?

प्रकाशित मिति :  २७ कार्तिक २०७७, बिहीबार ११:४०


अधिवक्ता  प्रेमराज सिलवाल

निर्मल भट्टराई बुधबार साप्ताहिकमा लेख्नुहुन्छ –‘…पूर्व प्रधानमन्त्री झलनाथ खनालले चाहेर पनि नेकपा एमालेमा गुट बनाउन सक्नुभएन । …नेता,कार्यकर्ता चिन्न नसक्ने, उनीहरूसंग न्यानो सम्बन्ध राख्न नसक्ने कारणले पार्टीमा सधैं एक्लै रहने अवस्था बन्यो..(२०७७ कार्तिक २६,पृ.२) ।

तत्कालीन एमालेमा सक्रिय भई पूर्व प्रधानमन्त्री झलनाथ खनालसँग सम्बन्ध राखिसकेका भट्टराईले गर्नुभएको टिप्पणीले नेकपा र नेकपालाई नजिकबाट हेर्नेहरूलाई केही हदसम्म गम्भीर बनाएको छ । के पूर्व प्रधानमन्त्री खनालले मान्छे चिन्नु हुन्न त ? मान्छेलाई चिन्ने तरिका के के हुन् ? नामले बाहेक पनि मान्छे चिन्न सकिन्न ? यस्ता सवाल सतहमा आएको छ ।

मान्छेलाई कसरी चिन्ने ?

मान्छेलाई प्रथमत : उसको नामले चिनिन्छ । फलानो व्यक्ति रामप्रसाद, हरिप्रसाद,विष्णुप्रसाद,कृपाराम, भुवन,सिजन,सिर्जना,फूलमायाँ, दिलमायाँ,निरमायाँ,खिमलाल, दिलमान,हरिराम,किशोर,विश्वमणि आदि–आदि । यो मानिसलाई झ्वाट्ट सम्झने र चिन्ने एउटा सार्वजनिक–सामाजिक र कानूनी तरिका हो । दोस्रो भनेको उसमा भएको स्वरूप,विम्ब र बाहिरी स्वरूप (लवाई–खवाई आदि) । अर्काे महत्वपूर्ण उसको ख्यातिले हो । ख्यातिमा नाम पनि जोडिन्छ ।

मानिसलाई के ले चिनाउँदछ ?

मानिसलाई वैधानिक र सार्वजनिक दृष्टिकोणले हेर्दा उसको नामले चिनाउँदछ । यो साँचो हो । तर त्यो अति नै सामान्य तरिका हो । समाज, मुलुक र राष्ट्रिय–अन्तर्राष्ट्रिय क्षेत्रमा केही पनि सार्वजनिक र चिनाउने कार्य नगरेका लाखौंलाख रामबहादुर, हरिबहादुर,सीताराम,नविना, हरिमाया,दिलमायाँ,फूलमायाँ आदि आदिहरू कति जन्मिए,बढे,हुर्किए, खाए,खेले,उफ्रिए,गर्जिए,दौडिए, भौँतारिए र अन्तमा मरे । को जन्मियो ? को हुर्कियो ? को समाजमा रहेको छ ? को कुन बेला मर्यो ? कसैलाई थाहा भयो ? भएन । भन्न खोजेको कुनैपनि सार्वजनिक जीवन र परिचय नभएका मानिसको पनि सार्वजनिक र वैधानिक नाम त हुन्छ । नामले मात्र चिनिने पनि होइन । नाम हुँदैमा कसैले चिन्नुपर्ने होइन । सबै नाम भएका मानिसलाई चिनेर पनि साध्य हुन्न । यसरी हेर्दा मानिसलाई चिनाउने भनेको उसको कर्म,कार्य, योगदान,भूमिका,क्षमता,दक्षता,ज्ञान सहितको सार्वजनिक भूमिकाले बढी हो भन्न सकिन्छ । यति विश्लेषणको अर्थ र भनाई मानिसलाई उसको सार्वजनिक र वैधानिक नामले चिनिरहनु आवश्यक हुुन्न कामले मात्र चिन्ने हो भन्न खोजेको पनि होइन । यो चाहिँ  भन्न खोजेको हो कि कसैलाई समाजले,मुलुकले र दुनियाँले किन चिन्ने ? त्यो चिन्ने भनेको मूल रूपमा उसले गरेको सार्वजनिक भूमिका र केही भएपनि योगदानले नै हो । सत्य हो–समाजका मानिस सबै गौतम बुद्ध हुँदैनन् । महात्मा गान्धी पनि हुँदैनन् । नेल्शन मण्डेला पनि हुँदैनन् । मदन भण्डारी पनि हुँदैनन् । बिपी कोइराला पनि हुँदैनन् । समाजमा उच्च खालको सार्वजनिक काम, क्षमता, योगदान, दर्शन, भूमिका, विचार, विश्लेषण र विशिष्ट योगदान भयो भने हामी सात पुस्ता भन्दा बढीका मान्छे पनि सम्झन्छौं र चिन्दछौं । हामी आफ्नो हजुरबुबा वा जिजुहजुरबुबालाई फोटोमा कसैले बाटोमा देखाईदियो भने चिन्न सक्दैनौँ वा झुक्किन्छौं । तर कसैले २६ सय बर्षअगाडिका गौतम बुद्धको तस्बीर देखाइदियो भने झ्वाट्ट भनिदिन्छौं–गौतम बुद्ध । कसैले महात्मा गान्धीको तस्बीर देखायो भने भनिहाल्छौं–भारतका नेता महात्मा गान्धी । यस्तो किन हुन्छ त ? अवश्य नै यस्तो हुन्छ । यो स्वभाविकै हो । यो भनेको त्यो व्यक्तिको विचार, दर्शन, क्षमता, समाज र मुलुकमा एवम् विश्वमा भएको ख्यातीले हो । तसर्थ मानिस चिनाउन सहयोग गर्ने उसको सार्वजनिक र सामाजिक योगदान तथा भूमिकाले पनि हो । नकारात्मकतामा पनि चिनिन्छ तर त्यो चर्चा गर्नु आवश्यक छैन् ।

सबैले सँधै सबै मानिस चिन्न सक्दछन् ?

यो कुरा साँचो र वैज्ञानिक हो कि सबैले सँधै सबै मानिसको सार्वजनिक नाम चिन्न सक्दैनन् । वा भुल्न पुग्दछन् । तरपनि उसको आकृति, स्वभाव, आचरण, बोली, लवाई–खवाईले यो फलानो मान्छे हुनुपर्दछ र हो भन्ने आंकलन भने गर्न सक्दछन् । महत्वपूर्ण कुरा भनेको सार्वजनिक व्यक्तिलाई धेरैले वा सबैले चिनेका हुन्छन् वा हुनसक्दछन् । तर सार्वजनिक व्यक्तिले केही सीमित र आवश्यक मानिस मात्र चिनेको हुन सक्दछ । अर्काे सार्वजनिक व्यक्तिले आफ्नो दिमागमा मान्छेको कार्य, विम्व, लवाई, व्यक्तित्व, कद आदिबाट पनि चिनेको हुन सक्दछ । यहाँ जति नै भनेपनि सार्वजनिक व्यक्तिले बढी भन्दा बढी मानिसको नामै कण्ठस्थ भन्न सकेको उत्तम हुन्छ । तर कस्तो पनि हुन्छ भने कुनै नेता वा सार्वजनिक व्यक्ति यस्ता पनि हुन्छन् जसलाई धेरै भन्दा धेरै व्यक्तिको अनुहार र नाम याद हुन्छ तर उसको सार्वजनिक कार्य, छवि, स्वभाव, दक्षता, आचरण, भूमिका, योग्यता, योगदान, बुद्धि, इतिहास, वर्तमान र विगत, कार्यशैली जस्ता पक्षका सम्बन्धमा भने सामन्य र खासै जानकारी नभएको पनि हुन सक्दछ । जस्तो उदाहरणको लागि तालिम दिएको सुगाले तपाईँले पढाएअनुसार धेरै व्यक्तिको नाम पटापटी बोल्न सक्दछ । घरमा पालेको कुकुरले धेरै मानिस चिन्न सक्दछ । आफ्नो र अर्काे सजिलै चिन्दछ । तर न त सुगाले मानिसको स्वभाव जान्न सक्दछ न कुकुरले । यस्तो मानिसमा पनि हुन सक्दछ ।

नेताले कतिलाई चिन्ने ?

नेता विभिन्न स्तरका हुन्छन् । वडाका नेता, क्षेत्रीय नेता, जिल्ला नेता, प्रदेश स्तरका नेता, राष्ट्रिय स्तरका नेता ।  प्रधानमन्त्री र पूर्वप्रधानमन्त्री भएका नेता राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका नेता आदि । तह, हैसियत, भूमिका, क्षेत्र, क्षमता, सीप, ज्ञान आदि अनुसार नेताले मान्छे चिन्ने हुन्छ । कसैको दिमागी ज्ञान र सम्झने क्षमता नै अदभूत हुन्छ । एकपटक भेटेको मान्छे बर्षाै पछि भेटदा पनि प्याट्टै नामै भनिदिन सक्दछ । कोहीको स्वभाव थर मात्र सम्झने पनि हुन्छ । जस्तो भेटमा ज्ञवालीजी, श्रेष्ठजी, पन्तजी, वलीजी, राईजी आदि सम्बोधन गरिदिने । अर्काथरि हुन्छन्–काम, पेशा, व्यवसाय, क्षेत्र, भूमिका आदिको आधारमा चिन्ने । जस्तो, पत्रकारजी, वकिल साप, डाक्टर साप । कतिले पेशालाई ध्यान दिएर सम्झना गर्ने पनि हुन्छ । जस्तो भेटमा–तपाईँको फलफूल व्यवसाय कस्तो छ ? तपाईँको माछा कस्तो हुँदैछ ?

तपाईँको सुपरमार्केट कस्तो चल्दैछ ? जिल्ला पार्टी कसरी चल्दैछ ? आदि आदि । यस्तो पनि हुन्छ । सम्झने सोच्ने भनेको मानिसको दिमागले हो । दिमागमा कम्प्युटरमा जस्तै हार्डडिक्सरूपी सम्झने खाता (फोल्डर) हुन्छ वा हुन्छ भनिन्छ । तापनि सबैको सोच्ने, सम्झने, फाइलमा राख्ने तरिका एउटै हुन्न । अब जहाँसम्म विश्लेषक निर्मल भट्टराईले टिप्पणी गरेको जस्तो अवस्था हो त्यसमा धेरै कुरा लुकेको पनि हुनसक्दछ । कोही नेता चिनेर पनि ‘तपाई को रे ?’ ‘तपाईको नाम के रे ?’ ‘तपाईँ ?’ भन्ने पनि हुन्छ । अर्काे नचिन्नु एउटा मानवीय स्वभाव पनि हो । मानिसले जहिल्यै सबैलाई चिन्दैन पनि । अर्काे नेताको कूटनीति पनि हुन सक्दछ । भुलेँ । चिनिन भनेपछि एउटा टन्टा सकियो । फेरि समाजमा सबैलाई चिनेँ पनि भन्न नहुने स्थिति देखिन्छ । कतिपय फटाहा,लुटेरा,भ्रष्ट र निजी स्वार्थ भएका मानिसहरू नेताकोमा जाने र अरूको अघिल्तिर नेताले नाम लिइदियो भने देखिस् त फलानो नेताले मलाई नामैले चिन्छ म यो गरिदिन्छु, त्यो गरिदिन्छु भन्ने पनि हुनसक्दछ । कोही टेलिफोनमा नेतालाई फोन गरी ‘ह्यान्डफ्रि’  गर्ने अनि सुन्नेलाई धाक–धम्कि देखाएर काम लिने पनि हुनसक्दछ । जे पनि हुन सक्दछ । तापनि निर्मल भट्टराईले उल्लेख गर्नु भएको जस्तो पूर्व प्रधानमन्त्रीले धेरै भन्दा धेरै नेता र कार्यकर्तालाई नामैले चिनेको राम्रो हो । त्यतिमात्र होइन आफ्ना कार्यकर्ताका क्षमता, दक्षता, ज्ञान, विचार, योग्यता, भूमिका, संकटमा गरेको कार्य र इतिहास जस्ता पक्ष समेत जोडेर चिन्न सकेको खण्डमा झन राम्रो । इतिहास, भूमिका, कार्य, क्षमता सबै बिर्सियो भने सुगाले जस्तो पटापटी नाम मात्र कण्ठ गरेर मात्र पनि केही हुन्न ।

सारमा निर्मल भट्टरार्ईले सकारात्मक र सिर्जनात्मक ढंगले टिप्पणी गर्नु भएको बुझ्न सकिन्छ । मानिसलाई आफ्नो नाम प्यारो हुन्छ । बढी भन्दा बढी मानिसको नामसहित उसको योग्यता,क्षमता र इतिहास सँगै सम्झना गर्न सकियो भने उत्तम हुन्छ । अर्काे मानिसले अर्काले चिन्न बाध्य हुने गरी केही न केही सार्वजनिक र सकारात्मक कार्य गर्दै अगाडि बढेको खण्डमा नेता र सार्वजनिक व्यक्तिले पनि चिन्ने अवस्था हुन्छ, हुन्छ । मूल कुरा नेताले सानो र संङ्कीर्ण भएर केवल गुट निर्माण गर्न मात्र मान्छेको नाम चिन्नु पनि राजनीतिक दर्शनको फराकिलो दृष्टिकोणले उचित मान्न सकिन्न । कुकुरले आफ्नो घरका र घरमा आउने पाहुना मात्र चिने जस्तो गरी नेताले मान्छे चिन्ने सङ्कीर्ण र साँघुरो तरिका हो । विचारवान र फराकिलो सोच भएको दार्शनिक नेता यसबाट मुक्त हुनुपर्दछ । पूर्व प्रधानमन्त्री खनालमा त्यो क्षमता देखिन्छ । तापनि बढी मानिसलाई काम एवम् नामैले चिन्न सक्ने कुरा आफैमा सकारात्मक क्षमताको कुरा हो ।


प्रतिक्रिया दिनुहोस !