सचिव बढुवाको काम कहिले सकिने ?

लाखौं कर्मचारीको अभिभावक मुख्यसचिव शंकरदास बैरागी संवेदनशील नभइदिँदा सिनियर सहसचिवहरू अन्यायमा परेका छन् ।

उनी कोरोना कहरका कारण होम आइसोलेसनमा छन् । त्यही कारण सचिव बढुवा सिफारिस समितिको बैठक बस्न सकिरहेको छैनन् ।

नेपाल सरकारमा ५ सचिव पद रिक्त छ ।

लोकसेवाको परामर्श र निर्देशनमा सचिव बढुवा समितिको बैठक बेलामा नबसिदिने तर, कोही प्यारा सहकर्मीलाई चाहिँ बाह्र घण्टाभित्रै बैठक बसेर बढुवा अनि पदस्थापन गरिदिने । तर, प्रशासन र प्राविधिक सेवातर्फ यस्ता कर्मचारी पनि छन् जसको नाम क्याबिनेटमा पाँचौं पटकसम्म पुगेर काटिएको छ । तत्कालीन मुख्यसचिव लोकदर्शन रेग्मीझैं शंकरदास बैरागी पनि प्राविधिक कर्मचारीप्रति सकारात्मक नभइदिँदा १४ महिनादेखि रोइरहेका सहसचिव हुन् सुरेश आचार्यहरू ।

यसअघि लोकदर्शन रेग्मी सचिव हुँदा राजश्व सेवाकालाई टिप्दै सचिवमा उकाल्दै आएका थिए । पहिलो पटक गत वर्षको भदौमा सचिव बढुवाका लागि सिफारिस भएका थिए । १४ महिना देखि उनको नाम अड्किएको अड्कियै छ । यसअघि आचार्यको सिफारिस हुँदा रामकृष्ण सापकोटालाई सचिवमा बढुवा गरिएको थियो । उनी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा जागिर खाइरहेका छन् । उनी मंसिर १५ मा निवृत्त हुँदै छन् । त्यसपछि वरिष्ठताको आधारमा शहरी विकासका महानिर्देशक मणिराम गेलाल (प्रधानमन्त्री निकट) एक्ला दाबेदार हुन् । उनी सचिवमा बढुवा हुँदा हाल शहरी विकासमा रहेका रमेश सिंहलाई चुनौती हुनेछ ।

यस्तै भुक्तमान गरिरहेका सहसचिव हुन् योगेन्द्रकुमार कार्की र गोकर्णमणि दुवाडी । कृषि सेवाका सचिव राजेन्द्र भारीले अवकाश पाएसँगै कृषिमा एक सचिवको दरबन्दी रिक्त छ । तर, यसअघि नै सचिव बढुवाको पहिलो नम्बरमा नाम सिफारिस भएर पनि कोपभाजनमा परेका योगेन्द्र कार्की बढुवा हुने लाइनमा छन् । उनी तत्कालीन मुख्यसचिव लीलामणि पौडेलको कोपभाजनमा परेका हुन् । थाहा छैन, मुख्यसचिव कोरोना संक्रमणका कारण कति दिन थलिने हुन् ? बढुवा समितका अन्य सदस्यहरूलाई पनि भोलि कोरोना संक्रमण देखिन सक्छ । यसैगरी बैठक नबस्ने हो भने उम्मेदवारहरू मारमा पर्दै जाने अवस्थालाई ख्याल गर्ने हो भने सिनियर सचिवलाई निमित्त दिएर काम गर्न दिनुपर्ने थियो ।

यसअघि रेग्मीको पालामा ४ पटकसम्म सचिव बढुवाका लागि सिफारिस भएका गोकर्णमणि दुवाडीको नाम काटेर हाल कर्णाली प्रदेशमा खटाइएका चन्द्रमान श्रेष्ठलाई बढुवा दिइएको थियो । अख्तियारले मालपोत, श्रम, यातायातलगायत शुरुदेखि हाकिम हुँदै महानिर्देशक हँुदा अकुत सम्पत्ति कमाएका चन्द्रमानको मुद्दा अदालतमा परे पनि सुनपानी छर्केर चोख्याइएको थियो । उनी भदौ १७ गते ठूलाबडालाई रिझाएर सचिवमा बढुवा भएका थिए । यसैगरी काण्डै काण्डका धनी हाल २ नम्बर प्रदेशका भौतिक योजना मन्त्रालयमा रामआधार साह अबको डेढ वर्षभित्र सचिव हुने लाइनमा छन् । त्यहाँ जितेन्द्र सोनलसँग सेटिङ मिलाउँदै छन् ।

– राजकुमार राय

टिप्पणीहरू