नागमणिका नाममा ठग्नेहरू च्याप्पै

नागमणि दिने भनेर ठगी गर्नेहरू प्रहरीको फन्दामा परेका छन् । दाङबाट एक करोड ८९ लाख ५० हजार रकम उठाएर फरार रहेका तीन जना बाँके प्रहरीबाट समातिएका हुन् । ठगी अभियोगमा बाँके प्रहरीले दैलेख नौमुले गाउँपालिका–४ का धनबहादुर रोका, सल्यान कुमाख गाउँपालिका–५ का कृष्ण शाह र शारदा नगरपालिका–९ बस्ने डिल्लीबहादुर बोहरालाई नेपालगञ्जमा पक्राउ गरेको हो ।

उनीहरूले घोराही उपमहानगरपालिका–१७ निवासी माधवप्रसाद घिमिरेलाई आफूहरूसँग बहुमूल्य नागमणि भएको उल्लेख गर्दै नागमणि आफूसाथ राख्दा यसको धार्मिक महत्व हुनुका घरमा लक्ष्मीको बास हुने, परिवारका सदस्यको आयु लामो हुने, घर परिवारमा सुख, शान्ति, समृद्धि हुने भन्दै ठगेका थिए ।

मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा २४९ अनुसार ७ वर्षसम्म कैद र ७० हजारसम्म जरिवाना हुने व्यवस्थाबमोजिम उनीहरूलाई मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

टिप्पणीहरू