बेलायतमा नेपाली टाट पल्टिँदै

बेलायतमा नेपाली टाट पल्टिँदै

कोरोना भाइरस नियन्त्रण अन्तर्गत बिहीबारदेखि इंग्ल्याण्ड दोश्रो राष्ट्रिय लकडाउनमा छ । संक्रमण र मृत्युदर निरन्तर बढेपछि २ डिसेम्बरसम्म लागू हुने लकडाउनले नेपाली व्यवसायलाई चौपट् पार्दैछ ।

बेलायतमा नेपालीका झण्डै अढाई सय रेष्टुरेण्ट छन् भनिन्छ । सरकारले इंग्ल्याण्डमा हस्पिटालिटी क्षेत्रअन्तर्गत पब, बार रेष्टुरेन्ट, होटल खोल्न प्रतिबन्ध लगाएको छ ।

लण्डन साउथ ह्यारोको गोल्डेनसीप रेष्टुरेण्ट प्रायः नेपालीलाई थाहा छ । त्यहांँ लकडाउन अघि हप्तैपिच्छे सांगीतिक कार्यक्रम हुन्थ्यो । नेपालबाट आएका कलाकार गाउँथे नाच्थे । तन्नेरीहरूको जमघटदेखि जन्मदिन र अन्य खुशीयालीका पार्टी भइरहने उक्त रेष्टुरेण्ट अहिले सुनसान छ । सञ्चालक देव गुरुङ दोश्रो लकडाउनले धान्नै गाह्रो भएको पीडा पोख्छन् ।

‘पहिलोपटक त सरकारले २५ हजार पाउण्ड ग्रान्ट र ५० हजार पाउण्ड ऋण दिएर टिकेका थियौं’, गुरुङले भने, ‘यो पटक केही पाइएन । व्यवसाय धान्नै सास्ती भयो । हाम्रो हलसमेत भएकाले भाडा धेरै छ । क्रिसमस, न्यूइयर पिक टाइम हो तर यसपटक सुख्खा हुने भो ।’ ६ वर्षदेखि उक्त रेष्टुरेण्ट चलाएका देव कुर्नुको विकल्प देख्दैनन् । रेष्टुरेण्ट बेच्न खोजेपनि यो बेला कोही नआउने उनको दुःखेसो छ ।

लण्डन रइसलिपमा गोर्खाज प्राइड रेष्टुरेण्ट चलाइरहेका जनक रोकाको पीडा पनि समान छ । रेष्टुरेण्ट व्यवसाय अझै दुई वर्षजतिका उनी उँंभो नलाग्ने बताउँछन् ।

‘दक्ष जनशक्ति अभावमा पहिले नै संकटग्रस्त भइरहेका रेष्टुरेण्टहरू अहिले लकडाउनले थप मारमा परेका छन्’, रोका भन्छन्, ‘साना व्यवसायलाई सरकारले एक वर्षको बिजनेश रेट छुट, स्टाफहरू फर्लो, टेकअवे, डेलिभरी अनि ५० हजार लोनले टिकेका छन् । तर ५० सिट माथिका रेष्टुरेण्टमा टेकअवे र डेलिभरी पनि नहुने अनि महँगो भाडाले बढी मारमा छन् ।’

देशको अर्थतन्त्र डामाडोल छ । बेरोजगारी बढेको बढ्यै छ । यस्तो परिस्थितिमा खानामा खर्च गर्ने ग्राहक कमै हुने बताउंदै रोका ठूला रेष्टुरेण्ट र पार्टी हलहरू पूर्ण रुपमा संकटग्रस्त रहेकाले कुनै बेला पनि ताला लाग्न सक्ने बताउंँछन् ।

लण्डनको इलिङ ब्रोडवेस्थित ४० वर्ष पुरानो नेपाली रेष्टुरेण्ट मन्टिज पनि कोभिडको चपेटामा छ । मन्टिजमा २० वर्षदेखि व्यवस्थापन हेरिरहेका सञ्जिव ढकालले सरकारको दोश्रो लकडाउनले व्यवसाय फेरि संकटउन्मुख भएको बताए । ‘टेकअवे र डेलिभरिमात्र गर्न दिने भनिएको छ । हाम्रो हाइ स्ट्रिट स्थित मुख्यगरि इटइन फाइन डाइन रेष्टुरेण्ट भएकाले व्यापारमा करिब ७० प्रतिशत कमी हुन सक्छ’, ढकालले भने, ‘कोभिड शुरु भएपछि यसै पनि हाम्रो व्यवसाय ५० प्रतिशतजति घटेको थियो । अब थप मार पर्ने भएको छ ।’

करिब ४० वर्षको इतिहासमा कुनै बेला साताको २० हजार पाउण्डसम्म व्यापार गर्ने मन्टिजमा अहिले ती दिन एकादेशको कथा भएको ढकाल बताउँछन् ।

संकट होटल व्यवसायमा पनि छ । १५ वर्षदेखि बेलायतको ब्ल्याकपुलमा ‘द गोर्खा’ नामक होटल, रेष्टुरेण्ट तथा पब सञ्चालन गर्दै आएका दिलिप गुरुङ पनि लकडाउनको प्रत्यक्ष मारमा परेका छन् । सरकारको निर्देशन अनुसार उनको होटल, रेष्टुरेण्ट तथा पब बन्द छ । ‘पुरै व्यवसाय बन्द गर्नुपरेपछि त्यसको आर्थिक असर भनि नसक्नु छ’, गुरुङले भने, ‘सरकारी नियम पालना गर्दै लकडाउन छिट्टै बन्द होस् भन्ने कामना गर्नुको विकल्प छैन ।’

अल्डरसटस्थित एम्पायर हलका सञ्चालक पुरन गिरी सरकारको अर्को लकडाउनका कारण व्यवसायले पुनर्जीवन पाउने सम्भावना टरेको गुनासो गर्छन् । पहिलो लकडाउन २३ मार्चदेखि बन्द उनको एम्पायर हल लकडाउन र सरकारी नियमले पूर्ववत अवस्थामा आउन अझै कैयौं समय लाग्न सक्छ । ‘हामी त सरकारको नियम पालना गर्नुबाहेक अरु के नै गर्न सक्छौं र ?’ अहिलेको विषम परिस्थितिबाट आजित गिरीले सुनाए, ‘पब्लिक हल भएकाले हामीले सरकारी ग्रान्ट पनि पाएनौं । कार्यक्रम गर्न प्रतिबन्ध छ । कसरी धान्ने हो !’

पहिलो लकडाउनपछि बन्द एम्पायर हललाई ‘रिफर्विस्’ गरेर हल सिट क्षमता र अन्य सुविधा विस्तार गरी तयारी अवस्थामा राखिएको छ ।

बेलायत कोभिड १९ को दोश्रो लहरले प्रभावित भइसकेको छ । बेलायतमा केही सातायता दैनिक सरदर २० हजार संक्रमित थपिएका छन् भने कोभिड १९ बाट मर्नेको संख्या करिब ५० हजार पुगेको छ । यहां संक्रमित संख्या झण्डै १२ लाख नाघेको छ ।

वैज्ञानिक सल्लाहकारहरूको समूह सेज ग्रुपले बेलायतमा जाडो यामका बेला मात्र करिब ८५ हजार मानिस कोरोना भाइरसका कारण मर्न सक्ने अनुमान भएकाले सबैतिर सन्त्रास छ ।

टिप्पणीहरू