प्रधानमन्त्रीलाई भेटेर भोकै फर्किए नेकपा नेताहरु

प्रधानमन्त्रीलाई भेटेर भोकै फर्किए नेकपा नेताहरु

हिजो नेकपाका कार्यकारी अध्यक्षलगायत सचिवालयका बहुमत सदस्यले पार्टी बैठक सञ्चालनको लागि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष औपचारिक पत्रमार्फत् अनुरोध गरेपनि उहाँको अडानमा परिवर्तन नआएको बताइएको छ । हिजोको आग्रह  कार्यान्यवनको लागि ४८ घण्टाको अल्टिमेटम दिएर टोली फर्केपछि आज बालुवाटारबाट वरिष्ठ नेता माधवकुमार नेपाललगायतका नेताहरूलाई छलफलको लागि बोलावट भएको थियो ।

अपरान्ह बालुवाटार पुगेको नेपालसहित चार जनाको टोलीसँग प्रधानमन्त्रीले शुरुमा आफ्नो पुरानै अडान दोहोर्याउनु भएको बताइन्छ । एक छिनपछि ‘पार्टी गम्भीर संकटमा आइपुगेको छ,सबै भएर जोगाऔं’ भनिएको र असहज तथा  उकुसमुकुसको वातावरण २० को १९ मा झरेको वार्तामा सहभागी एकजना नेताले बताए । प्रत्युत्तरमा नेपाल टोलीले ‘पार्टीलाई हामी सबै मिलेर जोगाउनुपर्छ । प्रधानमन्त्री र अध्यक्ष तपाईं नै हुनुहुन्छ । यसरी संकटमा आइपुगेको पार्टीलाई जोगाउने जिम्मेवारी र समस्या हल गर्ने दायित्व पनि अरुको भन्दा तपाईंकै बढी हुने भएकाले त्यसतर्फ मनन् गर्नुहोस् र सोहीबमोजिमको भूमिकासमेत निर्वाह गर्नुहोस्’ भनेको थियो ।

हिजो बहुमत सचिवालय सदस्यहरूसँग निकै चर्केर प्रस्तुत हुनुभएका प्रधानमन्त्री ओली आज नेपाल टोलीसँग तुलनात्मक रुपमा शान्त देखिनुभएको थियो । टोलीको सुझाव र धारणा सुनेपछि ‘हो सबै मिलेर समस्या समाधान गर्नुपर्छ’ भनेपनि प्रधानमन्त्रीले आफ्ना अडान र तर्कलाई आज पनि दोहोर्याउनु भएको थियो ।

तपाईंले जहिले पनि व्यक्तिगत ढंग र एक्लौटी पाराले पार्टी सञ्चालन गर्न थालेपछि अहिलेको समस्या आएको हो । त्यसैले एकपटक आफैँलाई फर्केर हेर्नुहोस्,कमि कमजोरी देख्नुहुनेछ ।’

प्रधानमन्त्रीको अडान र अन्यको तर्क सुनेपछि वरिष्ठ नेता नेपालले ‘तपाईं आफ्ना गल्ति र कमजोरी कहिल्यै देख्नुहुन्न । पार्टीलाई अहिलेको अवस्थामा ल्याइपुर्याउन शुरुका दिनदेखि खटिनेमध्येको म पनि हुँ । यो पार्टी मैले मात्र वा तपाईंले मात्र बनाएर यहाँसम्म आइपुगेको होइन । हामीजस्ता थुप्रै नेता तथा कार्यकर्ताको बलिदान र योगदानले अहिले यो अवस्थामा आइपुगेको हो’ भन्दै नेपालले थप्नुभयो ‘हाम्रो पार्टी सँधै सामुहिकतामा हुर्किएको र नेतृत्व प्रणाली पनि जहिल्यै सामुहिक निर्णयमा हुँदै आएको छ । तर, तपाईंले जहिले पनि व्यक्तिगत ढंग र एक्लौटी पाराले पार्टी सञ्चालन गर्न थालेपछि अहिलेको समस्या आएको हो । त्यसैले एकपटक आफैँलाई फर्केर हेर्नुहोस्,कमि कमजोरी देख्नुहुनेछ ।’

 ल ठीक छ,बैठक त राखौं,तर के निर्णय गर्ने भन्ने छिनोफानो र समझदारी भने पहिल्यै गरिनुपर्छ ।’

आफ्नो धारणालाई निकै गम्भीर भएर सुन्नुभएका प्रधानमन्त्रीलाई सुझाव दिँदै नेता नेपालले भन्नुभयो ‘पार्टीको बैठक बोलाऔं अनि त्यहिँ सबै समस्याको समाधान खोजौं ।’ बैठकको प्रसङ्ग आउनेबित्तिक्कै प्रधानमन्त्रीले मुख खोल्नुभएको बताउँदै स्रोत भन्छ ‘त्यो बैठकमा गएर कुनै समस्या समाधान निस्किँदैन । ल ठीक छ,बैठक त राखौं,तर के निर्णय गर्ने भन्ने छिनोफानो र समझदारी भने पहिल्यै गरिनुपर्छ ।’

बैठकभन्दा पहिल्यै समझदारी र निर्णय गर्नुपर्ने प्रधानमन्त्रीको धारणा सुनेर अचम्भित बनेको टोलीले थप्यो ‘कम्युनिष्ट पार्टीमा पहिले निर्णय गरेर बैठक बस्नुको कुनै औचित्य हुँदैन । बैठकको एजेण्डा र छलफलको प्रक्रियाबारे एउटा सहमति र समझदारी कायम गरेपनि आवश्यक निर्णय भने सचिवालय, स्थायी वा केन्द्रीय समितिको बैठकले नै गर्नुपर्छ।’

प्रधानमन्त्रीको कुरा सुन्दासुन्दै साँढे तीन बजेपछि बालुवाटारबाट भोकै बाहिरिएका नेपाल,भीम रावल,सुरेन्द्र पाण्डे र रघुजी पन्तको टोली पौने चार बजे बालुवाटार र चिनियाँ दूतावासको बीचमा रहेको नेपाल हाउसमा छिरेको थियो । हाउसको दायाँतर्फ रातो भवनको सिरानको तल्लामा हलुका नास्ता गरेपछि लगत्तै रावल बाहिरिएका थिए भने सवा पाँच बजेतिर नेता नेपाल कोटेश्वर फर्कनुभएको बताइन्छ । पाण्डे र पन्त भने त्यसपछि पनि केहीबेर त्यहिँ गफिनुभएको थियो ।

प्रधानमन्त्रीले अन्त्यमा भन्नुभयो ‘खै के भएको हो कुन्नी दोस्रोपटक अपरेशन गरेपछि पहिलेभन्दा निकै नै बलियो महसुस हुँदै गएको छ । यसबीचमा त रोगहरू पनि मेरो छेउछाउ आउने आँट गर्दैनन् । खै किन हो कुक्सन्नि निकै स्फूर्ति बढ्दै गएको छ । कतिसम्म भने मलाई हाच्छिउँ नआएको धेरै समय भयो ।’ प्रधानमन्त्रीको स्वास्थ्य अवस्थामा निकै सुधार आएको सुनेपछि दङ्ग परेको टोलीतर्फ हौसिँदै उहाँले थप्नुभयो ‘पहिले जुँगा पनि सबै सेतै फुलेका मात्र उम्रन्थे,अचेल त आधाजसो जुँगा कालो भएर पलाएको छ ।’

टिप्पणीहरू