कात्तिकको दान, देउसुरे !

कात्तिकको दान, देउसुरे !

सबै कुरा भुलेर पन्ध्र दिनसम्म दशैँ मनाउने नेपाली चालालाई के भन्नू खै ? ऊ ऋण बोकेर थला परे पनि फेरि पन्ध्र दिन कुरेर तिहार मनाउन झुम्मिहाल्छ । अँधेरो मन घरभरि बत्ती बालेर उज्यालो बनाउन चाहन्छ । मान्छेपूजा गर्न छाडेर काग, कुकुर, गाई, गोरु पूजा गर्न हौसिन्छ । यमराजसँग डराउने मान्छे यमदूतका प्रतीक भन्दै काग र कुकुरको पूजा गरेर दानी बने जस्तो गर्छ र पूजा गरेकै दिन कुकुरलाई लात हान्छ । हातमा बाँधेको जनैपूर्णेको डोरो पुच्छरमा बाँधेर गाईको टाङमुनि छिरी वैतरणी पार गरेँ भन्ठान्छ । कृष्णले इन्द्रको शेंखी झार्न बादलले घनघोर वर्षा छेकेकाले गोबर चुल्याएर गोवद्र्धन पर्वतको पूजा गर्छ र बहरलाई ढोग्छ ।

संयोग हो कि जैविक स्थिति हो, कात्तिकमै गाउँटोलभर कहाँ कहाँ रङ्गबिरङ्गका कुकुर भेला हुन्छन् र रमाइलो गरिदिन्छन् । परापूर्वकालदेखि नै हो कि क्या हो कात्तिकमा कुकुरको जमघट हुने गरेको । कुकुरसँग मानिसको दोस्ती पनि द्वापर युगका पालादेखि नै देखिन्छ । पाण्डवले पालो मिलाएका थिए द्रौपदीसँग एकान्तबास बस्न, अहिलेको प्याण्डेमिक आइसोलेशन जस्तो । द्रौपदीसँग एक भाइ रहेको देखाउन ढोका बाहिर तिनको जुत्ता राखिएको हुन्थ्यो रे । कुन सड्को एक पटक एउटा कुकुरले ढोका बाहिर राखिएको जुत्ता टोकेर अन्तै लगिदिएछ । जुत्ता नभएपछि अर्काे भाइलाई थाहा भएन, द्रौपदी अर्काे भाइसँग रहेको कुरा । एकपल्ट एक भाइ भित्र पस्दा लाजमर्नु भएर फर्कनुपरेको थियो । त्यसदिनदेखि कुकुरले श्राप पाएछ, भालेपोथीलाई छुट्टिन गाह्रो परोस् । अँ, पाण्डवसँगै स्वर्ग जान पाउने जनावरमा पनि कुकुर नै पो थियो । गुनिलो जात कुकुरको उपमा पनि पाउँछ मानिसले कहिले कहिले (कुकुर जस्तो, तँलाई कुकुर, कुकुरजस्तो बुद्धि । कहिल्यै घुस नखाने भैरवको अवतार कुकुरसँग मानिसलाई तुलना गर्नु सुहाउँदिलो कुरो होइन । सुरक्षा गर्न राखिएको मानिस बरु मालिककै चोेरेर हिँड्छ, वाचडगले आफ्नो भूमिका पूरा गरी छाड्छ । चन्द्रमामा पुगेको छ लाइका । चोरलाई चिनेर प्रहरीलाई सहयोग गरेको छ । पानीमा डुब्दैन पनि । अँ बरु, बार्किङ डग सेल्डम बाइट्स ।

फिरी लाउने जोगीले चैत र कात्तिकमै घर वरिपरि फिरी लगाएर भूतप्रेत मन्छाउने काम गरेका छन् । आकाश बाँधूँ, पातालै बाँधूँ गरेर तपाईँको मन शान्त गराइदिन्छ, मध्यरातमा फिरी लगाएर । मनोज गजुरेलले समेत कानचिरुवा जोगीको भेष धरेर भ्रष्टाचारीलाई बाँध्न फिरी लगाउनुपरेको पोहोर नै जस्तो लाग्छ । यसपालि कोरोनाका कारण त्यो पनि सुन्नुपरेन नेताहरूलाई । कात्तिकको दानले दातालाई भलै गर्छ भन्छन् । देउसीभैलो खेल्नेलाई दान पनि दिन पाइएन यसपालि ।

यसपालि न मालाको चिन्ता, न मिठाइ वा सेल बनाउने झन्झट । भारतबाट करोडौँ आयात हुने फूल यसपालि नहुँदा व्यापारघाटामा अलिकति भए पनि कमी आउने नै भयो । रातभरि देउसीभैलोका नाममा झ्याङझ्याङ र झुङझुङ, डाङडाङ र डुङडुङ सुन्नुपरेन । निद्रा राम्ररी नै पर्ने भो । बरु कुकुरले चाहिँ के गर्ने हो ?

नेताहरूको कात्तिकमै फेरि बल्झेको झगडा देख्नुसुन्नुपरेकाले कुकुरले जस्तै नेपालीले रुनुपर्ने त हैन ?

दाजु यमराजलाई यमुनाले पाँच दिन मानमनितो गरेर घरमा राख्ने भएकीले यसपालि कोरोना वा अरु रोगले पनि कसैलाई मर्नुपर्दैन ।
यसपालि पनि गुञ्जिएला नि नेपाल संवत् राष्ट्रिय संवत् खः । गिरिजाप्रसाद कोइरालाले हो क्यारे सरकारी लेटरप्याडमा नेपाल संवत् पनि उल्लेख गर्ने भनेको, लागू भए जस्तो लाग्दैन । बरु सरकारका धेरैजसो नारा इस्वी संवत्ले खाइदिइसके । राष्ट्रिय योजना आयोगका दस्तावेज हेर्नुभो भने देख्नु हुनेछ सन् यतिसम्म पूर्णसाक्षरता, यति गरीबी निवारण, यतिलाई खानेपानी । भिजिट नेपाल २०२० नेपाली संवत् हो त ? न १९९८ भो न २०११ ? अब कहिलेदेखि जान्छ विसं पनि इसंसँगै, हेर्नु छ । न नेपाल संवत्, न विक्रम संवत् । लखुतीर्थमा बालुवाबाट सुन बनेको र शङ्खधर साख्वाले गरीब जनतालाई सुन दिएर करमुक्त गरेको कुरा मल्ल के सुन्दरलाई पनि चित्त बुझेन क्यार, ‘शङ्खधर’ उपन्यास नै लेखिदिए र भने, ‘विष्णुमतीमा बालुवा चालेर सुन जम्मा गरिएको हो । तनहुँतिरका बोटेहरूले दशैँपछि खर्च जुटाउन मादीतिर सुन खोज्ने समाचार वर्षेनी पढेकै हो । भिन्तुना दु भिन्तुना, झि नेपामी ओइच्वना । भाषा म्वाःसा जाति म्वाइ, यी शुभकामना र नारा पनि यसपालि सुन्न पाइने हो कि होइन तर नेपाल संवत् मूल समारोह समितिचाहिँ गठन भइसकेको छ ।

कात्तिककै छेको पारेर आएका ‘र’ प्रमुख सामन्तकुमार गोयल र अब आउने भारतीय सेनाध्यक्ष मनोजमुकुन्द नरवणेले कात्तिकको दानस्वरूप नेपाली भूमि फिर्ता दिने कुरा गरे होलान्, गर्लान् त ? बल्ल चुच्चे नक्शा पाएको नेपालीले कालापानीमा परेड खेल्न पाउलान् त ? छिमेकी र नेताहरूले यत्ति गरिदिए भने कोरोनाकालमै नेपालीको विशाल जुलुसले पृथ्वीकै फेरो मार्न बेर लाउँदैन । नेताहरूको कात्तिकमै फेरि बल्झेको झगडा देख्नुसुन्नुपरेकाले कुकुरले जस्तै नेपालीले रुनुपर्ने त हैन ? भिन्तुना दु भिन्तुना, न्हूँ दँया भिन्तुना !

shyam_rimal@yahoo

टिप्पणीहरू