बालुवाटारमा झण्डै बबाल

बालुवाटारमा झण्डै बबाल

हिजो र आज पार्टी केन्द्रीय कार्यालय, धुम्बाराहीमा बसेको अनौपचारिक सचिवालय बैठकको औपचारिक निर्णय पार्टीको लेटर प्याडमा लेखेरै अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज दिउँसो बुझाउन गएका कार्यकारी अध्यक्षसहित वरिष्ठ नेताद्वय, उपाध्यक्ष र प्रवक्तावीच चर्काचर्की परेको छ । बैठक राखेर समग्र बिषयमा छलफल गर्ने र कुनै हालतमा बैठक नबोलाउने विषयमा दुई पक्षबीच राम्रैसँग चर्काचर्की परेको थियो ।

भेटघाटको करिब ४५ मीनेटसम्म बैठक बोलाउनेसम्बन्धमा चर्काचर्की परेको थियो । प्रधानमन्त्रीको चट्टानी अडान थियो ‘बैठक कुनै हालतमा राखिँदैन । बहुमतको निर्णय पनि मानिँदैन । किन मान्ने मैले निर्णय ?’

सरकारको काम कारबाहीबारे नेतृत्वले कुनै प्रतिक्रिया नै जनाउन नपाउने प्रधानमन्त्रीको अडान सुनेपछि सचिवालय सदस्यहरू ‘सरकार चलाउन सहमति नचाहिने,पार्टी चलाउन मात्रै सहमति चाहिने ? प्रधानमन्त्री तथा अध्यक्षको यस्तो दोहोरो मापदण्डबारे गतिलैसँग छलफल हुनुपर्ने’ निश्कर्षमा पुगेको बताइन्छ । पार्टी र सरकार सञ्चालनको सम्बन्धमा केही समयअघि गरिएको सहमतिमा पुष्पकमल दाहाल प्रचण्डलाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिने तर,बैठक बोलाइए या औपचारिक रूपमा कुनै निर्णय लिए पार्टी फुटको सुरुवाती विन्दु त्यहि हुने भनी दिइएको चेतावनीलाई अर्को पक्षले गम्भीरतापूर्वक लिएको देखिन्छ ।

‘तपाईंले पार्टी प्रवक्ताको मान राख्न सक्नुभएन । भारतीय प्रधानमन्त्रीको विशेष दूत बनेर आएका “र” प्रमुखसङ्गको भेटलाई जोडेर मलाई घुमाउरो भाषामा भारतीय दलालसमेत भन्न भ्याउनुभयो । बरु सोधेको भए मैले नै सबै कुरो भनिदिन्थेँ ।’

हुन त: कम्युनिष्ट पार्टीमा एउटा बैठक बस्ने वा नबस्ने झगडाकै कारणले फुट आउन सक्दैन । नेपाली भूराजनीतिमा खारिएका दुईवटा ठूला कम्युनिष्ट पार्टीको एकीकरणपश्चात् निर्मित नेकपाको सांगठनिक हैसियतले त्यो सम्भावना पनि देखाउँदैन ।

बैठक बोलाउने वा नबोलाउने सम्बन्धमा धेरैवटा विषयले प्रवेश पाएपछि आज एउटा प्रसंगमा प्रधानमन्त्रीले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठमाथि खनिँदै भन्नुभयो ‘तपाईंले पार्टी प्रवक्ताको मान राख्न सक्नुभएन । भारतीय प्रधानमन्त्रीको विशेष दूत बनेर आएका “र” प्रमुखसङ्गको भेटलाई जोडेर मलाई घुमाउरो भाषामा भारतीय दलालसमेत भन्न भ्याउनुभयो । बरु सोधेको भए मैले नै सबै कुरो भनिदिन्थेँ ।’

बहुदलीय जनवादको वकालत गर्ने अनि सँधै बहुमतलाई ठाडै अस्वीकार गर्ने ? यहि हो तपाईंको जबज भनेको ?

प्रधानमन्त्रीको पेचिलो भनाई भुईंमा नझर्दै नारायणकाजी कड्किनुभएको स्रोतको दाबी छ । सम्भवतः नेकपा अध्यक्ष तथा प्रधानमन्त्रीसँग हालसम्मकै चर्को स्वर र शब्दमा बोल्दै श्रेष्ठले  भन्नुभयो ‘तपाईंले दास र शत्रुबाहेक अरुलाई केही पनि देख्दै देख्नुहुन्न । तपाईंकोमा दासबाहेक कोही पनि आउन छाडेका छन् । हामी कहिलेकाँही आउँछौं तर,शत्रुको नजरले हेर्नुहुन्छ । तपाईले योभन्दा बढी केही पनि देख्नुहुन्न । आफ्नो स्वमूल्याङ्कन गर्नुपर्दैन ? कम्युनिष्ट पार्टीलाई पद्धति,विधि र विचारबाट चलाउनु पर्दैन ? आक्कल झुक्कल बस्ने मिटिङको अवस्थालाई पनि लोकतान्त्रिक पद्धति मान्नुपर्ने ? उल्टै तपार्ईं जबजको सबैभन्दा बढी बखान गर्ने ? बहुदलीय जनवादको वकालत गर्ने अनि सँधै बहुमतलाई ठाडै अस्वीकार गर्ने ? यहि हो तपाईंको जबज भनेको ?’

नारायणकाजीसँगको झोँकाझोँकी सकिएकै थिएन उता,आफू अगाडिको टेबुल सार्दै उपाध्यक्ष वामदेव गौतम पड्किनुभयो ‘मैलै पनि तपाईंलाई त्यसै छाडेको होइन कमरेड ! आफू बाहेक अरु कसैलाई पनि सद्दे देख्न छाडेपछि अहिलेको अवस्था आएको हो ।’ उहाँले थप्नुभयो ‘तपाईंका धेरै गल्ति कमजोरी छन् । तपाईंकोमा प्रायः हनुमानहरू मात्र आउँछन् । हनुमानगिरी नगर्नेलाई तपाईले मान्छे नै गन्नुहुन्न । त्यसरी अब पार्टी चल्दैन । विधि र प्रक्रियाको अभावमा कम्युनिष्ट पार्टी चल्दैन । आफूबाहेक अरु केही पनि होइनन् भन्ने एकखालको तानाशाही प्रवृत्ति छ तपाईंमा’ भन्दै गर्दा गौतम अगाडिको टेबुल सारेर जुरुक्क उठ्न खोज्नुभएको थियो ।

स्रोतका अनुसार सचिवालयका बहुमत सदस्यहरूको आजको प्रयास पार्टी एकतालाई जोगाउन र हालको समस्या समाधानका लागि गरिएको अधिकतम प्रयत्न थियो । अबको केही दिनसम्म प्रधानमन्त्रीको क्रिया र प्रतिक्रियालाई पर्ख र हेरको रुपमा बस्ने मुडमा बहुमत नेताहरू देखिन्छन् । तर,बालुवाटार सकेसम्म उक्त निर्णयलाई बेवास्ता गर्ने,नसके बैठक आयोजनाबाट तर्किने रणनीतिमा रहेको बताइन्छ ।

बहुमत सदस्यहरू पार्टी फुटको दोष आफूहरूमा नआओस् भनेर नै बैठक बैठक भन्दै अधिकतम आग्रहमा लागेपनि  उक्त प्रयासलाई प्रधानमन्त्री र बालुवाटार निकटस्थहरूले भने अझैपनि आफूहरूको सामुन्ने उनीहरूको कमजोरी,लम्पसारवाद र द्यौसी भैलोको रूपमा लिएको बताइन्छ ।

टिप्पणीहरू