दरबार छाडेर घरबारतिर « Jana Aastha News Online
Logo
१५ मंसिर २०७८, बुधबार
|  Wed Dec 1 2021

दरबार छाडेर घरबारतिर

प्रकाशित मिति :  २३ कार्तिक २०७७, आईतवार ०७:२०


दरबारमाभन्दा घरबारमा सुख सयल हुने निश्कर्ष निकाल्दै गत वर्ष ह्यारी र उनकी श्रीमती मेघन मर्कलले राजकुमार र राजकुमारीको पदवी बेलायतको राजदरबारमा छाड्ने घोषण गरेका थिए । लगत्तै अमेरिका हानिएका पूर्व राजकुमार ह्यारी र मेघनले आफूहरूलाई अन्ततः रंगीन सपनाको संसारको रूपमा परिचित हलिवुडमा प्रवेश गराउने भएका छन् ।

हुनतः मेघन विवाह गरेर बेलायतको बकिंगघम दरबार छिर्नुअघि हलिवडकी चर्चित अभिनेत्री थिइन् । अब भने उनले पूर्व राजकुमारलाई समेत रंगीन दुनियाँमा प्रवेश गराउने भएकी छिन् । समाचारमा जनाइअनुसार उनीहरू दुबैजना हलिवुड निर्माता बन्ने पक्कापक्की भएको छ ।

झण्डै छ महिनाअघि बेलायती राजदरबारको शान सौकात छाडेर उनीहरू क्यालिफोर्नियामा बस्दै आएका छन् । गत बुधबार जीवनको नयाँ करियरको घोषणा गर्दै ह्यारी र मेघनले आफूहरू नेटफ्लिक्सको लागि अडियो भिजुअल सामाग्री बनाउने कम्पनीको निर्माता (प्रड्युसर) बन्न लागेको बताएका थिए । हालसम्म नाम सार्वजनिक नगरिएको उनीहरूको प्रडक्सन कम्पनीले चलचित्र, सिरियल, वृत्तचित्र र बालबालिकालाई उपयोगी हुने टेलिभिजन कार्यक्रमहरू बनाउने बताइएको छ । उनीहरूले नेटफ्लिक्ससँग करार सम्झौता समेत गरिसकेका छन् ।

बेलायतको शाही परिवारको ठाँटिलो औपचरिक सम्बन्धलाई चटक्कै छाडेर अर्कै दुनियाँमा छिरेका उनीहरूले नेटफ्लिक्ससँग रहेको विश्वको १९ करोड ३० लाख ग्राहकसहितको विशाल प्लेटफर्म पाउने बताइएको छ । हुनतः उनीहरू दुबैजना कुनैपनि कार्यक्रम तथा चलचित्रको क्यामरामा देखिने छैनन् । तर, केही वृत्तचित्रमा भने देखापर्नसक्ने बताइएको छ । मेघनले आवश्यकताअनुसार कम्पनीले उत्पादन गर्ने एकाध कार्यक्रममा स्वर दिनसक्ने समाचारमा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस !