अन्नको राश अघिल्तिर भोकको गीत « Jana Aastha News Online
Logo
१५ मंसिर २०७८, बुधबार
|  Wed Dec 1 2021

अन्नको राश अघिल्तिर भोकको गीत

प्रकाशित मिति :  २१ कार्तिक २०७७, शुक्रबार २०:५०


भारतको गुजरातका एक वकिल अदालतमा बहस गरिरहेका थिए । त्यही समय गाउँमा पत्नी सिकिस्त बिरामी रहेको खबर आयो । स्याहारसुसारका लागि गाउँ गए । केही समयपछि उनले लडिरहेको एउटा मुद्दाको बहस गर्ने समय आयो । एकातिर गाउँमा सिकिस्त पत्नी, अर्कोतिर एउटा निर्दोष व्यक्तिलाई बिनाकारण सजायँ हुनबाट जोगाउनु पर्ने । बिचरा वकिल के गर्ने, के नगर्ने कुनै निर्णय लिन सकिरहेका थिएनन् ।

पतिको बेचैनी राम्ररी बुझेकी पत्नीले भनिन्– ‘मेरो चिन्ता नलिनुस् । छिटै शहर गएर बहस थाल्नुस् । कुनै निर्दोष मान्छेलाई बिना कसुर सजाय भयो भने त्यो अपराधको भागी हामी दुवै हुनेछौं ।’

पत्नीको सल्लाह मानेर उनी शहर पुगी बहसमा भाग लिए । अदालतमा बहस चलिरहेको बेला कसैले चिठी दियो । खर्रर्र चिठी पढेर खल्तीमा राखे । अनि फेरि बहस थाले । उनको पक्षमा फैसला भयो । एउटा निर्दोष ब्यक्तिलाई बिना कसुर सजाय हुनबाट जोगाएको खुशीमा अदालतको माहोल अर्कै थियो । सहकर्मी वकिलहरूले बधाई दिए । एउटा सार्थीले बहस गर्दागर्दै पाएको चिठीको विषयमा जिज्ञाशा राखे । उनले खल्तीबाट निकालेर त्यो पत्र पढ्न दिए । चिठी हेरेका साथीको आँखामा उदासी, सहानुभूति र आँशुका थोपा थिए । त्यो चिठी वकिलकी पत्नीको मृत्युको खबर बोकेर आएको थियो ।

साथीहरूले हैरान हुँदै प्रश्न गरे– ‘किन त्यस्तो सिकिस्त बिरामी पत्नी छोडेर बहस गर्न आएको ?’ जवाफमा भने– ‘म उनैको आग्रहमा आएको हुँ । उनलाई थाहा छ– ‘कुनै निर्दोषलाई बचाउनुभन्दा ठूलो कुनै धर्म छैन ।’ तिनी थिए– भारतका सुप्रसिद्ध वकिल सरदार बल्लभभाइ पटेल । यही कर्तव्य र निष्ठाका कारण भारतमा ‘लौह पुरुष’ उपमाले प्रसिद्धि पाएका छन् । भारत सरकारले गुजरातमा विश्वकै विशाल मानवीय संरचनामध्ये एक मानिने शालिक बनाएर पटेलको सम्मान गरेको छ ।

जनताले नेताको शालिक बनाउन र भत्काउन दुवै जानेका हुन्छन् । सद्दाम हुसेनको शालिक इराकीले बनाए, पछि उनैले भत्काए । बेलायतमा निरंकुश राजालाई जनताले फाँसी दिए । कालान्तरमा निर्दोष प्रमाणित भएपछि तिनै राजाको कंकाल राजगद्दीमा राखेर पूजा गरे । अँध्यारो र उज्यालोको पाटो खासै फरक हुँदैन । नीति नियमभन्दा नियत धेरैमाथि हुन्छ । चैतन्य र प्रज्ञाबाट चलेको राजनीतिमा जनताको प्राणवायु लुकेको हुन्छ ।

नेपालको राजनीति एकदम सरल छ । सिंहदरबारे सत्ताको राप अनि तापले नभेटेकाहरूलाई संबोधन गर्ने बित्तिक्कै देशका तमाम समस्या समाधान हुन्छन् । जसले जतिसुकै डोरी बाटे पनि आखिर कृषकले समयमा मल बीउ, न्यायमा सर्वसाधारणको पहुँच अनि विधिको शासनबाहेक कसले के नै मागेको छ र ? एउटी नारी भृकुटी चीन पुगिन्, साइनोको सेतू बनिन् । अरनिको पुगे, संस्कृतिको अमिट बाटो कोरे । बीपी गए, संसारको धुरी सगरमाथालाई नेपालको पोल्टोमा पारे । अपठित जंगबहादुर बेलायत पुगेर आएपछि सेनामा सुधार गरे । छापाखाना प्रारम्भ गरे । पूर्वाग्रह हैन, जनताको शासन भनिएको गणतन्त्रको अर्थशास्त्रीय तथ्यांकले भन्छ– मुलुक कसैले चलाएको छैन, आपैंm चलेको छ । यस्तो निष्प्राण ढंगले मुलुक चल्नु र रोबोट एकै हो । एक्काइसौं शताब्दीमा सभ्य भनिएका नेताहरू सोच्दा पनि अशिष्ट र जंगली लाग्ने जातिवादी नारा लिएर चुनावमा जान्छन् । झापड् पाएपछि निहुरमुन्टी न भएर फर्किन्छन् । आफ्नै घरलाई अनुशासनमा राख्न नसकेर छोराछोरी नै चार दिशातर्पm मुख फर्काउने अवस्था झेलिरहेका उनीहरूलाई संघीयता शब्द सुगा शैलीमा कण्ठ छ तर त्यसको दायित्व थाहा छैन् । वित्तीय अनुशासनका कुरा गर्ने मान्छे पागल करार हुने अवस्था छ । झन् लोकतन्त्र त ठूला भनिएका दुई दलले कोरलेको अण्डा जस्तो भएको छ । उनीहरूले जुन रंगको अण्डा कोरलेर दिन्छन् त्यसैलाई शालिग्राम मानेर सबैले पूजा गर्नुपर्ने बाध्यता छ । देश अब नेताले हैन, एजेन्टले चलाउने दिन सघन रूपमा देखिँदै आएको छ ।

घोडाभन्दा अघि बग्गी दौडियो भने के हुन्छ ? हामी अहिले त्यही उल्टो यात्रामा छौं । सिंहदरबार सधैं सिंहदरबार धाउने र त्यहीं वरिपरि छाउनेहरूको बपौतिजस्तै बनेको छ । राजनीतिमा तोड्ने कैंचीहरू धेरै जन्मिए । सानै होस् न जोड्ने सियो कोही भएनन् । हुन खोज्नेहरू एक्लिए । हामीले भनेको परिवर्तन मूलतः टाइपराइटरबाट कम्प्युटरमा प्रवेश गरेको मात्र हो ।

राजालाई समेत आफ्नो पार्टीको सदस्य बनाएको देशकै सवैभन्दा जेठो दल प्रजा परिषद्का युवा कार्यकर्ताहरू यति जोशिला थिए, जो सुरुवालको इजारभित्र साइनाइट बोक्थे । प्रजातन्त्रको खातिर कफन बाँधेका उनीहरू राणाहरूको कब्जामा पर्ने अवस्था आए साइनाइड सुँँघेर सिद्दिने तर पार्टीको सूचना नचुहाउने मानसिक तयारीमा देखिन्थे । बयान, बकपत्र, बिजुलीको झड्काभन्दा उनीहरूका लागि मृत्यु प्यारो थियो । साइनाइड, खाएर वा सुँघेर कसैले आत्महत्या गर्‍यो भने त्यो ब्रम्हहत्या हुन्छ भन्ने डरले राणा शासक युवाहरूको खानतलासी गर्थे । एकपटक त एउटा युवाको इजारमा भेटिएको धुलो खानेकुरा मिसाएर कुकुरलाई दिँदा कुकुर ठाउँका ठाउँ मरेको थियो ।

साइनाइड उपलब्ध गराएको भनेर कम्पाउण्डर चन्द्रमान सैंजूलाई कठघरामा उभ्याइयो । सत्य बकाउन केरकार, पिटपाट, कोर्रा, कटक र बिजुली गरी घोर यातना दिइएको थियो । जुन घटनालाई ‘साइनाइड पर्व’ भनेर पनि केही इतिहासकारले व्याख्या गर्ने गरेका छन् । हो, यस्तो दल प्रजा परिषद् आज कहाँ पुग्यो ? आफूलाई संसारको निर्विकल्प शक्ति दावी गर्नेहरूले यो तथ्यलाई पनि ह्याकुलामा राख्नु जरुरी छ । संसारमा निर्विकल्प र अन्तिम सत्य मानिने मृत्युका विषयमा पनि बैकल्पिक बहस हुन थालेका छन् । नानीमैयाँदेखि करिमा बेगमले जितेको अपवादलाई राजनीतिको व्याकरण फेरिएको रूपमा हेर्नुहुन्न । आखिर तिनीहरू जसरी आए, उसरी नै गए । संसारमा हातखुट्टा नभएका करोडौं छन् तर बजारमा तिनीहरूका लागि भनेर सर्ट, पाइन्ट त सिलाइएको हुन्न नि !
संसारमा साँचो सज्जनका लागि हो । नियम कानुन र संविधानका ठेली जतिसुकै आकर्षक बनाए पनि त्यसको सौन्दर्य पालनामा हुन्छ । लैनो गाईको फाँचोमा पुगेपनि किर्नोले खाने रगत नै हो, दूध हैन । कानुन मान्ने र नमान्नेको भिन्नता पनि यही नै हो । प्रायः मानिसहरू टाकुरा चढ्ने सपना त देख्छन् तर घर अगाडिको तगारो नाघी अघि बढ्ने हिम्मत गर्न सक्दैनन् । हामी गर्वका साथ भन्दैछौं– नयाँ युगमा प्रवेश ग¥यौं । तर यस युगको अन्तिम सीमा अन्तरीक्ष नभएर मानव मस्तिष्क हो भन्ने सत्य हेक्का राख्दैनौं ।

ऋग्वेद सुक्त ७२÷२ मा भनिएको छ– ‘असत्यमा सत्य स्थापित छ ।’ कहिल्यै ननासिने शास्त्रीय आत्मालाई विज्ञानले इलेक्ट्रोन, प्रोटोन र न्युट्रनको नाम दिएको छ । इलेक्ट्रोन कहिल्यै नाश हुँदैन । आत्माजस्तै इलेक्ट्रोन शाश्वत एवं पुरातन छन् । आत्मा र परमात्माबीच घनिष्ट सम्बन्ध हुनाले इलेक्ट्रोनकै माध्यमबाट वैज्ञानिक जगत पनि परमात्मासम्म पुग्न सक्ने आशा गर्दछ । मानिसको आहार विहार पनि तीन प्रकारको हुन्छ भन्दै गीताले आहारको प्रभाव मानिसको मनमस्तिष्कमा पर्ने विश्वास प्रकट गरेको छ । आहारलाई सात्विक, राजसिक र तामसिक भनेर तीन श्रेणीमा विभाजन गरिएको छ । सात्विक आहारबाट मानिसमा सद्गुणको वृद्धि हुने, तामसिक आहारबाट मानिसमा तमोगुण बढेर दुष्कर्मतिर प्रवृत्त हुने हुनाले मासुलाई तामस आहार भनिएको हो । यस्तो आहारबाट मानिसमा आसुरी गुण उत्पन्न भई यसले मानिसलाई निर्दयी, निष्ठुर र त्रूmर बनाई दुष्कर्मतिर धकेल्छ ।

पत्याउनुहुन्छ ? मानिसको शरीरमा पानीबाहेक २२ सय सलाईको काँटी बनाउन पुग्ने फस्फोरस, सल्फर र २५ मिमि नङ तयार पार्न पुग्ने आइरन र ३० ग्राम अन्य धातु हुन्छ । मानिसको फोक्सोमा तीन क्यापिलरिज (अत्यन्तै साना रक्तनली) हुन्छन् , जसलाई पैmल्याउँदा त्यसको लम्बाई २४ सय किलोमिटर हुन्छ । तर के गर्नु शरीरमा आगो छ भनेर ताप्न त नमिल्ने रहेछ । मुलुक अन्धकार छ भनेर त्यसलाई बिजुलीको तार बनाउन नसकिने रहेछ ।

चाणक्यले मानिसको नैतिक साहसको मूल्य बताउँदै भनेका छन्– ‘ठूला महापुरुष आफ्ना आचार विचारमा सदैव दृढ रहन्छन् । जबकि युगको अन्त्यमा सुमेरु पर्वतले पनि आफ्नो ठाउँ छोड्छ । कल्प समाप्त भएपछि समुद्रमा पानीले आफ्नो सीमा नाघ्दछ र पृथ्वीलाई जलमग्न बनाइदिन्छ । तर सज्जनले आफ्नो सच्चाइ र परोपकारको बाटो कहिल्यै पनि छोड्दैन ।’

आजसम्मका सवै सरकार प्रमुख बद्नामी बोकेर सिंहदरबारबाट निस्किए । राजनीतिक नेतृत्वले ढुक्क भए हुन्छ– समस्या राउटे, चेपाङ, कुसुण्डा बस्तीमा छैन । समस्या त समस्यालाई सधैं समस्या देखेर हात हाल्न हिम्मत नगर्ने सोचमा छ । अब पनि नचेत्ने हो भने अन्नको रासमा पुगेर भोकको गीत गाउने नियति दोहोरिने पक्का छ ।


प्रतिक्रिया दिनुहोस !